Comments Add Comment

बैंकर र उद्योगीको पाखुरा सुर्कासुर्की पटक्कै मन परेन : अर्थमन्त्री

२२ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय बैंकर र उद्योगीबीचको पाखुरा सुर्कासुर्की आफूलाई मन नपरेको बताएका छन् ।

बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले ब्याजदरको विषयमा बैंकर र उद्योगीबीच पाखुरा सुर्कासुर्की चलिरहेको भन्दै यो विषय आफूलाई मन नपरेको बताएका हुन् । निजी क्षेत्रहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले यस विषयमा चासो दिनु पर्ने उनले बताए ।

‘बैंक पनि निजी क्षेत्रकै, उद्योग–व्यवसाय पनि निजी क्षेत्रकै हो, तपाईंहरुबीच भएको पाखुरा सुर्कासुर्की मलाई पटक्कै ठिक लागेको छैन’ अर्थमन्त्री खतिवडाले भने, ‘निजी क्षेत्रको हकमा उद्योग वाणिज्य महासंघ छ तपाईंहरु बसेर छलफल गर्नुहोस् न ।’

मन्त्री खतिवडाले उद्योगी व्यवसायीले छलफल गरेर कहाँ हस्तक्षेप चाहिएको हो भन्ने कुरा खुलेर बताउनसमेत आग्रह गरे । कहाँ कसरी समाधान गर्ने भन्ने विषयमा महासंघले भन्नुपर्ने भन्दै सरकार ‘सुँड’ पसारेर भने अघि बढ्न नसक्ने उनले बताए । उनले भने, ‘सुँड पसारेर तपाईहरुकहाँ सरकार जान सक्दैन, झगडा नै गर्नुभयो भने हाम्रो मिलाउने काम हो ।’

संस्थागत निक्षेपकर्ताहरुलाई पनि ब्याजदर धेरै नखोज्न उनको आग्रह छ । निक्षेपको ब्याजदर धेरै हुँदा कर्जाको पनि बढ्दै गएको भन्दै उनले यस्तो आग्रह गरेका हुन् ।

विरालोको रंग भन्दा पनि कामको कुरा हुने भन्दै उनले काम तर्फ आफूले ध्यान दिएको बताए । उनले भने, ‘विरालो कालो होस् कि सेतो, मुसा मार्नुपर्‍यो मुसा भनेको चाहिँ ब्याजदरको समस्या हो ।’

उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर महंगो भएको भन्दै आवश्यक सरकारी हस्तक्षेपको माग गर्दै आएका छन् । ब्याजदरका कारण उद्योग–व्यवसाय सञ्चालन गर्न नै मुश्किल परेको भन्दै विराटनगरका व्यवसायीहरुको पहलमा केहि साता पहिले महासंघको टोलिले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत ध्यानाकर्षण गराएको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट केहि विषय सम्वोधन भएको भन्दै उद्योगीहरु अहिले चुपचाप बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment