Comments Add Comment

अफ्रिकाकी सिंहिनी आमा, जसले छोरीलाई तीन बलात्कारीबाट बचाइन्

१७ चैत, काठमाडौं । त्यो रात नोकुबान्गा क्याम्पी फोनको आवाजले ब्युँझिइन् । फोनमा एक युवती थिइन्, जो करिव ५०० मिटर दुरीमा थिइन् । उनले यो पनि भनिन् कि म्याडम तपाईंको छोरी सिइफोकोजीलाई तीनजनाले बलात्कार गरिरहेका छन् ।

नोकुबान्गाले सबैभन्दा पहिले पुलिसलाई फोन गरिन् तर, कुनै जवाफ पाइनन् । त्यो समय उनले मात्र छोरीलाई बचाउन सक्थिन् ।

नोकुबान्गा भन्छिन्, ‘म डराएको थिएँ तर, म आफैं जानुपर्ने भयो किनकी उनी मेरी छोरी थिइन् । मलाई लागेको थियो, म त्यहाँ पुग्दा उनी मरिसकेकी हुनेछिन् …।’

उनका अनुसार सिइफोकोजी र बलात्कारीहरु एकले अर्कालाई चिन्थे । घटनाबारे प्रहरीमा रिपोर्ट नगरुन् भनेर उनीहरुले छोरीलाई मार्ने हो कि भन्ने डर लागेको उनले सुनाइन् ।

साइफोकोजी त्यो गाउँमा साथी भेट्न गएकी थिइन् । उनका चार जना साथी थिए । तर, उनीहरु रातको १ः३० बजे बाहिर गए र उनी एक्लै सुतिरहिन् । त्यही मौकामा साइफोकोजीमाथि गाउँका तीन जनाले आक्रमण गरेका थिए ।

प्रहरीको फोन नलागेपछि नोकुबान्गा किचनमा गइन् र चक्कु लिइन् । उनी भन्छिन्, ‘मैले आफ्नो सुरक्षाका लागि चक्कु लिएको थिएँ । किनकी त्यहाँसम्म पुग्न सुरक्षित थिएन र बाहिर अँध्यारो थियो । म आफ्नो फोनको लाइट बालेर त्यहाँ पुगेँ ।’

जब उनी त्यो घर नजिक पुगिन्, छोरीको चिच्याहट सुनिन् । फोनको उज्यालोकै भरमा छोरीको बलात्कार भइरहेको देखिन् । भन्छिन्, ‘म धेरै नै डराएको थिएँ … ढोकामा उभिरहेँ र सोधे कि के गरिरहेका छौ ? जब उनीहरुलाई देखे म भएतिर नै आए । मलाई लाग्यो कि मैले आफूलाई बचाउनुपर्छ र यो सबै भयो ।’

नोकुबान्गाले घटनाबारे विस्तारमा बताउन इन्कार गरिन् ।

जब आमाले बलात्कारीलाई मारिन्

त्यसपछि यति थाहा छ कि उनले तीन बलात्कारीमध्ये एकलाई मारिदिइन् र दुई जना घाइते भए । यद्यपि उनीहरु भाग्न सफल भए ।

यो प्रष्ट छ कि साइफोकोजीलाई बलात्कार गरिरहेका जब तीन जना नोकुबान्गामाथि आक्रमण गर्न आए, उनले चक्कुले प्रतिकार गरिन् । चक्कु प्रहारबाट एकको ज्यान गयो भने दुई जना गम्भीर घाइते भए ।

त्यसपछि नोकुबान्गा एक क्षण पनि रोकिइनन् र छोरीलाई त्यहाँबाट उठाएर साथीको घर लगिन् ।

हत्याको खबर फैलिएपछि प्रहरीले नोकुबान्गालाई पक्राउ गर्‍यो । स्थानीय पुलिस स्टेशन लगेर थुनियो ।

हत्याको मुद्दा चल्यो तर, त्यसको पुरै अफ्रिकाभर विरोध भएपछि नोकुबान्गाको सजाय रोकियो । नोकुबान्गाले देखेको त्यो क्षण, जब एक जनाले छोरीलाई बलात्कार गरिरहेका थिए र दुई जना पालो कुरिरहेका थिए, त्यो सम्झेर आफू निकै भावुक भएको अदालतका न्यायाधीशले बताए । उनले भने, ‘ म बुझ्छु कि उनी निक्कै रिसमा थिइन् । उनलाई आफ्नो र छोरीको मृत्युको डरले सताएको थियो ।’

एकअर्काको चिन्तामा डुबे आमाछोरी

साइफोकोजी अस्पतालमा जीवन र मृत्युको दोसाँधमा थिइन् भने आमा प्रहरी हिरासतमा छोरीको चिन्तामा डुबिरहेकी थिइन् । साइफोकोजीलाई लागेको थियो कि आमालाई बर्षौं जेल हुनेछ । भन्छन्, ‘मलाई लाग्थ्यो कि आमाको सट्टा मलाई जेल सजाय हुनपर्ने हो ।’

उनलाई अहिले पनि घटना हुँदाका धेरै कुरा याद छैन । तर, यत्ति थाहा छ कि दुई दिनपछि अस्पतालमा आफने आमाको आवाज सुनिन्, जब उनी धरौटीमा रिहा भएर आइन् ।

त्यो दिनदेखि आमाछोरी एकअर्काको साहारा बने । साइफोकोजी भन्छिन्, मैले कुनै मनोवैज्ञानिकबाट परामर्श पाइन तर, आमाले मलाई सहयोग गरिरहनु भयो म सम्हालिँदैछु ।’

नोकुबान्गा पनि जीवनलाई पहिलेको जस्तो बनाउने प्रयासमा छिन् ।

यो घटना भएको १८ महिना भयो र अहिलेसम्म धेरै परिर्वतन भएको छ ।

अनि मिल्यो ‘लायन मम्मा’को नाम

नोकुबान्गाका वकिल सम्झन्छन् कि आमाछोरीसँग पहिलो भेट घटना भएको एक सातापछि भएको थियो र यस्तो लागेको थियो कि दुुबैले हिम्मत हार्न थालेका छन् ।’

उनी भन्छन्, ‘जब तपाई गरीब मानिसहरुलाई भेट्नुहुन्छ, यस्तो लाग्छ कि न्याय व्यवस्था पैसा हुनेहरुका लागि हो । जब म नोकुबान्गासँग कुरा गरिरहेकी थिएँ, त्यसबेला साइफोकाजी चुपचाप हामीलाई हेरिरहन्थिन् । यस्तो लाग्थ्यो, उनले बोल्न नै बिर्सिसकिन् ।’

तर, आत्मरक्षाका लागि नोकुबान्गाले आक्रमण गरेको हो र यसलाई अदालतमा जाडेदारसँग राख्न सकिन्छ भन्नेमा विश्वस्त थिइन् । तर, उनीहरु नै हिम्मत हार्ने त होइन भन्ने डर थियो ।

तर, जब यो घटना जसरी बाहिर आयो, सञ्चार माध्यममार्फत पाएको सहयोग अभूतपूर्व थियो । नोकुबान्गालाई ‘लायन मम्मा’ अर्थात ‘सिंहिनी आमा’ नामले चिनाउन थालियो ।

उसो त दक्षिण अफ्रिकामा बलात्कारसम्बन्धी खबरहरुले त्यति धेरै प्राथमिकता पाउँदैन । तर, नोकुबान्गा र सइफोकोजीको खबर सबैतिर छायो । दैनिक उनीहरुको खबर आउँथ्यो । तर, नोकुबान्गाको निजतालाई ध्यानमा राखेर उनको असली नाम छापिएन ।

एक पत्रिकाले उनलाई ‘लायन मम्मा’ नाम दिए र उनको तस्वीरको ठाउँमा सिंहिनीको तस्वीर छाप्यो ।

नोकुबान्गाको सजायको अफ्रिकाभर विरोध

यो नाम मानिसहरुको मन मष्तिस्कमा बस्यो ।

नोकुबान्गा भनिछन्, सुरुमा मलाई यो नाम मन परेको थिए किनकी यसको अर्थ बुझेकी थिइन् । तर, पछि मिडियाले हिरोका रुपमा प्रस्तुत गरेको बुझेँ । उनीहरु मलाई यस्तो सिंहिनी जस्ता भनिरहेका थिए, जसले आफनो बच्चाको सुरक्षा गर्छ ।’

नोकुबान्गामाथि हत्याको मुद्दा चल्यो तर, पुरै अफ्रिकामा विरोध भयो । पैसा उठाएर कानुनी सहयोग दिए । भन्छिन्, ‘मलाई अदालत जान डर लाग्थ्यो । मैले त्यो दिन धेरै प्रार्थना गरेको थिएँ । तर, जब हामी अदालत पुग्यौं, मानिसहरु हाम्रो पक्षमा उभिए । दक्षिण अफ्रिकाको अलग अलग ठाउँका मानिसहरुले हामीलाई साथ दिए ।’

अदालतले उनीमाथि चलेको मुद्दा फिर्ता लियो । त्यसबेला आफूलाई न्याय व्यवस्थाले सही र गलतको बीचमा फरक छुट्याउने महसुस भएको नोकुबान्गा बताउँछिन् ।

सइफोकाजीले आफ्नो नाम लुकाइनन्

नोकुबान्गाकी वकिलका अनुसार जब अदालतको फैसला आयो, आमाले छोरी सइफोकाजीलाई फोन गरिन् । ‘त्यो पहिलो पटक थियो, जब मैले उनलाई हाँस्दै गरेको देखेँ’ वकिल भन्छन्, ‘उनले भनिन् कि बलात्कारीहरुलाई जेलमा हेर्न चाहन्छु ।’

एक वर्षभित्र दुबै अपराधीलाई सजाय सुनाइयो । दुबै अहिले ३० वर्ष जेल सजाय काटिरहेका छन् । साइफोकाजी भन्छिन्, ‘म खुसी छु, थोरै सुरक्षित पनि महसुस गरिरहेको छु तर, मलाई लाग्छ कि उनीहरुलाई आजीवन कैद सजाय हुनुपर्ने थियो ।’

अदालतको फैसलापछि उनले आफ्नो नाम सार्वजनिक गर्ने सोच बनाइन् ता कि बलात्कारबाट पीडितहरुलाई हिम्मत मिलोस् । उनी भन्छिन्, ‘म सबैलाई भन्न चाहन्छु कि बलात्कारपछि पनि जीवन हुन्छ । समाजको हिस्सा बन्न र आफ्नो सपना पूरा गर्न सकिन्छ ।’

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment