Comments Add Comment

जाँच्नुहोस्, कतै तपाईंको आनीबानी कुरुप त छैन ?

हामी कस्तो छौ ? हाम्रो रंग कस्तो छ ? हाम्रो अनुहारको बान्की मिलेको छ/छैन ? हामीले लगाएको लुगा सुहाएको छ कि छैन ?

यी कुराहरुमा त हामीलाई चासो हुन्छ । हेक्का पनि हुन्छ । आफ्नो अनुहार, आफ्नो ठाँट, आफ्नो पहिरन हामीलाई थाहा हुन्छ । यसमा कुनै द्विविधा भए ऐना अगाडि ठिंग उभिन्छौ । आफुलाई हरेक कोणबाट नियाल्छौ ।

लुगा कस्तो देखियो ? अनुहारमा मेकअप मिल्यो कि मिलेन ? कपाल ठिक छ ? अगाडि-पछाडि फर्किएर हामी हेर्छौ । जब हामीलाई लाग्छ कि, सबै ठिकठाक वा राम्रो छ । तब ढुक्क हुन्छौ ।

तर, के हामीले कहिल्यै यसरी आफ्नो मन, आफ्नो अझ भनौं आफ्नो आनीबानी कस्तो छ भनेर मूल्यांकन गर्छौं ? आफ्नो प्रवृत्तिलाई हरेक पाटोबाट विश्लेषण गर्छौं ?

आफैबाट लुकाउने चेष्टा

हामी आफ्नो आनीबानी कस्तो छ ? आफ्नो आनीबानीको कारण अरुलाई कुनै असहज भएको छ कि, अप्ठ्यारो परेको छ कि ? भनेर संभवत कहिल्यै मूल्यांकन गर्दैनौ ।

हरेकको आ-आफ्नै आनीबानी हुन्छ । हामी गुणैगुणले मात्र युक्त भएका हुँदैनौ । हामीभित्र पनि कमजोरी हुन्छ । हाम्रो आनीबानी पनि खराब हुनसक्छ । तर, हामी आफ्नो खराब आनीबानी सहज रुपमा स्विकार्न तयार हुँदैनौ । बरु, आफ्नो खराब आनीबानीलाई लुकाउने, ढाकछोप गर्ने प्रयास गर्ने ।

हुन त कतिपयले आफ्नो आनीबानी कस्तो छ भन्ने भेउ नपाउन सक्छन् । उनीहरुले जे सोच्छन्, जे गर्छन् ति गलत होइन भन्ने लाग्छ ।

आफुलाई जाँच्नुहोस्

तपाईं राम्रो लुगाफाटो लगाएर तयार भएपछि जसरी ऐना अगाडि उभिएर आफुलाई नियाल्नुहुन्छ, त्यसैगरी आफ्नो आनीबानी नियाल्न सक्नुहुनेछ ।

तपाईंको अति स-सना बानी-व्यवहार र सोंचबाट नै यसबारे थाहा पाउन सकिन्छ । सार्वजनिक स्थानमा तपाईले गर्ने व्यवहार वा अन्य व्यक्तिप्रति तपाईंले राख्ने धारणाले पनि तपाईं आफ्नो आनीबानी केलाउन सक्नुहुनेछ ।

जस्तो, तपाईं कुनै सार्वजनिक स्थानमा हुनुहुन्छ । चुरोटको तलतल लाग्यो । बेपर्वाह चुरोट तान्न थाल्नुभयो । तपाईंले आफ्नो तलतल मेट्न जसरी चुरोटको खोजी गर्नुभयो, ठिक त्यसैगरी आफुले सेवन गर्ने चुरोटको धुँवाले अरुलाई असर गर्छ भन्ने सोच्नुभयो ?

तपाईंलाई थाहा नभएको होइन कि, तपाईंले यसरी बेपर्वाह चुरोट तानिरहँदा त्यसले अरुलाई असर गरेको छ । तर, तपाईं अरुको स्वास्थ्यप्रति कतिपनि संवेदनशिल हुनुहुन्छ, जो तपाईंको कारण खराब हुनेवाला छ ।

तपाईं मतलबी वा स्वार्थी हो भन्ने कुरा यसले प्रष्ट पार्छ । आफ्नो मर्जीलाई सर्वोपरी ठान्ने तर अरुको स्वास्थ्यप्रति पटक्कै संवेदनशिल नहुनु भनेको तपाईंको आनीबानी खराब छ भन्ने हो ।

कुनै सार्वजनिक यातायातमा चढ्नुभएको छ । भिडभाडमा अरुलाई धकेल्नुहुन्छ । उछिन्नुहुन्छ । असजिलो ढंगले बस्नुहुन्छ । वा कुनै सिटमा बस्नुभएको छ । तपाईंभन्दा कमजोर वा अशक्त मान्छे अघिल्तिर छन् । उनीहरुको लागि तपाईं सिट छाड्नुहुन्न । त्यसो हो भने तपाईंको आनीबानीमा सन्देह गर्नुपर्छ ।

कुनै युवती अघिल्तिर हिँड्दैछन् । उनलाई असहज हुनेगरी तपाईं घुरेर हेर्नुहुन्छ । त्यसो हो भने तपाईंको आनीबानी सफा छैन ।

हाम्रो आनीबानी हामीले गर्ने व्यवहार, हामीले सोच्ने ढंगबाट निर्धारित हुन्छन् । अतः खराब प्रवृत्तिले हामीलाई भित्रभित्रै विषाक्त बनाउँछ । किनभने यो एक विकार हो, जसले हामीलाई रोगी र जिर्ण बनाउँछ ।

जसरी हामीले आफुलाई ऐनामा नियालेपछि राम्रो/नराम्रो खुट्याउन सक्छौ । ठिक यसैगरी हामीले आफ्नै बानी व्यवहारलाई नियालेपछि आफ्नो आनीबानी खराब वा असल भन्ने छुट्याउन सक्छौ ।

अतः नराम्रो देखिएमा सरसफाई गर्छौं । मेकअप गर्छौं । पहिरनमा ध्यान दिन्छौं । यसैगरी आनीबानी खराब छ भने त्यसलाई सुधार गर्ने प्रयास गर्न सकिन्छ । खराब प्रवृत्तिले हामीलाई भित्रैदेखि कुरुप देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment