Comments Add Comment

भात छाड्ने तक्मे, योग गर्ने गजुरेलः यस्तो छ सेलिब्रेटीको हेल्थ फर्मुला

नेपाली सेलिब्रेटीको दैनिकी धपेडीमा बित्छ । कहिले सुटिङमा, कहिले स्टेज शोमा । कहिले अन्र्तवार्तामा, कहिले भेटघाटमा । उनीहरुलाई बेफुर्सदिला हुन्छन् ।

न थाकेको भन्न पाइयो, न अल्छी लागेको भन्न पाइयो । कार्यक्रमको तालिका अनुसार आफुलाई डोहोर्‍याउनुपर्छ । खाने, बस्ने, सुत्ने, उठ्ने कुनै निश्चित तालिका हुँदैन । कहिले राती अबेरसम्म बस्नुपर्छ, कहिले बिहान सबेरै उठ्नुपर्छ । यस्तो धपेडीबीच पनि उनीहरु कसरी सुकिलामुकिला देखिन्छन् ? कसरी फिट एन्ड फाइन रहन्छन् ?

पक्कैपनि, यी सेलिब्रेटी आफ्नो स्वास्थ्य र तन्दुरुस्तीका लागि खानपानदेखि व्यायामसम्म विशेष ध्यान दिन्छन् । जस्तो कुरा गरौं, मनोज गजुरेलका ।

योग साधनामा गजुरेल

स्ट्यान्ड-अप कमेडियन स्टेजमा ‘ननभेज’ देखिन्छन् । उनको तडकभडक बेग्लै हुन्छ । यद्यपी गजुरेलको खाना सादा हुन्छ । अर्थात पूर्णत शाकाहारी । उनी मासु खादैनन्, मदिरापान गर्दैनन् । त्यतीले मात्र पनि उनलाई तगडा राखेको छैन । गजुरेल हरेक बिहान मस्त व्यायाम एवं योग गर्छन् ।

योग-साधनामा अभ्यस्त छन् उनी । उनको बिहानी नै योगबाट हुन्छ । गजुरेल योगका निकै कठिन मानिने आसन समेत सहज रुपमा गर्छन् । अनुलोम-बिलोम, कपलभाँती जस्ता प्राणायाम पनि गर्छन् ।

पैदल हिँड्ने दीलिप रायमाझी

त्यसो त नायक दीलिप रायमाझी अहिले उति लाइमलाइटमा छैनन् । यद्यपी आफ्नो जमनाका सुपरहिट नायक हुन् उनी, जसले दर्पणछायाँ, जिन्दगानी जस्ता दर्जनौ हिट फिल्म दिए ।

हेर्दा रसिलो-पोटिलो यी अभिनेता पनि पूर्ण भेज हुन् । उनले जन्मजात मासुमंस खाएका छैनन् । शाकाहारी भएपनि उनलाई मासु खानेसँग घृणा छैन । न त घिन नै । उनी फिट एन्ड फाइन रहनुको अर्को कारण छ, नृत्य ।

यसै त उनी नृत्यमा पोख्त छन् । हरेक साँझ-बिहान उनी नाचेर पसिना बगाएकै हुन्छन् । त्यसबाहेक दीलिप पैदल हिँड्छन् । माक्सले मुख ढाक्छन्, क्यापले टाउको छोप्छन्, चस्मा लगाउँछन्, ब्याग भिर्छन् र बेपर्वाह पैदल हिँड्छन् । उनी सकेसम्म गाडी चढ्दैनन् ।

भात छाडेका विल्सन विक्रम राई

विल्सन विक्रम राईलाई नजिकबाट चिन्नेहरु भन्थे, ‘भाते ।’ भाते भूँडी लागेका उनी भातका अम्मली नै थिए । बिहान भात खान्थे, दिउँसो भात खान्थे, अपराहन्न भात खान्थे, साँझ भात खान्थे र मौका मिले राती पनि भात खान्थे ।

तर, भाते भुँडी बढ्दै गएपछि उनले आफ्नो स्वास्थ्य ‘डेन्जर जोन’मा पर्ने खतरा देखे । अन्ततः चटक्कै भात छाडे ।

भातमा रस भिजेका, भात भनेपछि हुरुक्कै हुने र जति भात खाएपनि मन नअघाउने यी तक्के बुढा अहिले भात खाँदैनन् । बेलाबखत खाएपनि एक कचौरा मात्र । त्यतीमात्र होइन, सेतो खानेकुरा उनले सबै छाडे, जस्तो मैदा, अजिनामोटो, नुन, चीनी, चामल ।

विल्सनले खानपानमा मात्र ध्यान दिएका छैनन् । उनी वर्कआउटमा पनि निकै लगाव राख्न थालेका छन् । अहिले उनी पैदल हिँड्छन् । न मोटरसाइकल चढ्छन्, न कार । सार्वजनिक यातायात पनि चढ्दैनन् । बरु कस्सिएर हिँड्छन्, पैदल ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी रंगीन जीवनशैलीका लागि चिनिन्छन् । अक्सर लफडाबाजीमा पर्ने, सुरा र सुन्दरीसँग जोडिने, चमकदमकमा विश्वास गर्ने उनी ननभेज हुन् ।

तर, भुवन पुत्र अनमोल केसी ठिक विपरित छन् । अनमोल खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा पिउँछन्, न चुरोट । न मासु खान्छन्, न अस्तव्यस्त हुन्छन् ।

अनमोल निश्चित समयमा सुत्छन्, निश्चित समयमा उठ्छन् । उठ्नसाथ मन्त्रोच्चारण गर्छन्, भगवान कृष्णको नाममा । त्यसपछि उनी सरसफाईमा, व्यायाममा खटिन्छन् । व्यायामपछि ब्रेकफास्ट लिन्छन् । अनमोलको दैनिकी सन्तुलित हुनेगर्छ । उठ्ने, सुत्ने, खाने, पिउने तालिका एकनासे । हरेक रात कम्तीमा सात घण्टा सुत्छन् । हेल्दी खानेकुरा खान्छन् । सकेसम्म उसिनेको । भेज ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment