Comments Add Comment

पुतली म्युजियममा ‘पुतली बाजे’

विकास रोकामगर

७ बैशाख, पोखरा । सेतो छाला । सेतै फुलेका कपाल र दाह्री । सेतै पाइन्ट तर कहींकतै च्यातिएको र टालिएको, मैलो जमेको । खैरो कुना भएको पारदर्शी चस्मा । शीरमा ढाका टोपी र हातमा लौरोका सहायतामा एक विदेशी वृद्ध शुक्रबार विहान करिब ११ बजेतिरको आसपासमा गण्डकी प्रदेश सभा भवन अघिल्तिर भेटिए ।

नेपाली ढाका टोपी लगाएर ती विदेशी वृद्धलाई एक्लै देखेपछि केही युवाले नेपालीबाटै सदभाव टक्राए, ‘नमस्ते बाजे !’

एकसुरमा नदीपुरबा बगरतर्फबाटो तताइरहेका उनलाई अकस्मात कसैले सम्वोधन गरेपछि तर्सिए झैं गरेर प्रत्युत्तर फर्काए, ‘नमस्थे । नमस्थे ।’

अंग्रेजी लवजमा प्रष्ट नेपाली बोल्ने ती वृद्धलाई भेटेपछि ती युवाले सेल्फी खिचे, फोटो खिचे । ती विदेशी वृद्ध अरु बोलेनन् । हतारमा देखिन्थे । लागे बगरतिर सोझिएको बाटो ।

अकस्मात बाटोमा भेटिएका ती विदेशी नागरिक कोलिन स्मिथ (८३) हुन् । उनी नेपालमा पुतली बाजेको नामले परिचित छन् । नेपालमा पाइने थुप्रै पुतलीबारे खोज तथा अनुसन्धान गरेवापत उनले त्यो उपनाम पाएका हुन् । जुन अहिले उनको ‘जान्ने नाम’ भएको छ । पछिमात्र खुल्यो, उनी बैशाखको प्रचण्ड घाम छिचोलेर पृथ्वी नारायण क्याम्पस जाँदै रहेछन् । जहाँ उनलाई पुतली संरक्षणमा लामो समय व्यतित गरेको भन्दै सम्मान गरिने वाला थियो ।

****

पृथ्वी नारायण क्याम्पस परिसर छिरेर केही मिनेट हिँडेपछि पूर्वतर्फ एउटा संग्रहालय छ – अन्नपूर्ण नेचुरल हिस्टोरी म्यूजियम । सन् १९६५ मा खुलेको उक्त संग्रहालयमा विविध जीवजन्तु, पशुपंक्षी संग्रहित छन् । त्यहाँ धेरैथरि जीवजन्तुका अवशेष छ । त्यसमध्ये सबैभन्दा बढी संख्या छ- पुतलीको ।

संग्रहालयमा स्थपना भएको ३० वर्षसम्म पहिले पुतलीको त्यतिधेरै ‘कलेक्सन’ थिएन । तर पछि बेलायती नागरिक कोलिन स्मिथ नेपाल आए । नेपालमा पाइने करिब ६ सय ४० प्रजातिका पुतलीको खोज अनुसन्धान गरे र त्यही संग्रहालयमा सजाउन ल्याए । अहिले उक्त संग्रहालय अन्नपूर्ण म्युजियमभन्दा पनि ‘पुतली संग्रहालय’को नामले बढी चिनिन्छ ।

‘यहाँ पुतलीकै संख्या बढी छ । कोलिन सरले नेपालका अधिकांश क्षेत्रमा पाइने पुतलीको संग्रह नै तयार गरिदिनुभयो,’ संग्रहालयकी सहायक पद्ममाया गुरुङ भन्छिन्, ‘अहिले त पुतली म्युजियम नै बढी चिनिन्छ ।’ उनले संग्रहालयमा अत्यन्तै दुर्लभदेखि लोप भइसकेका पुतलीसमेत रहेको जानकारी दिइन् ।

शुक्रबार सम्मान थाप्न जानुअघि संग्रहालयमा भेटिए पुतली बाजे । आफैंले संकलन गरेका पुतली एकएक गर्दै नियालिरहेका थिए । हातमा आफैंले लेखेको किताब र पुतलीका पोस्टर समाएर संग्रहालय ‘भिजिट’ गर्न आएकाहरुलाई किताब र पोस्टर देखाउँदै किन्न आग्रह गरिरहेका थिए । ‘अरु कमाइ छैन । यही बेचेर जीवन चलाइराखेको छु,’ भन्दै थिए, ‘किताबको १ सय ५० रुपैयाँ । पोस्टरको १० रुपैयाँ । लिनुस् न हजुर …’

****

करिब ५४ वर्षअगाडि पोखरा लामाचौरस्थित नेपाली आदर्श विद्यालयमा पढाउन बेलायतबाट नेपाल आएका उनी त्यसपछि पोखरा र गोरखाका धेरै स्कुलमा पढाए । बीचमा आफ्नै देेश फर्किए पनि तर लागेछ नेपालकै बढी माया । फर्किए यतै । उनी नेपाली प्रष्ट बुझ्छन् र बोल्छन् पनि । उनी अंग्रेजी मै सोधेको प्रश्नका उत्तर समेत नेपाली मै दिन्छन् ।

पुतलीबाजे उर्फ स्मिथले नेपालको सबैभन्दा ठूलो क्याम्पसका रुपमा चिनिएको पृथ्वीनारायण क्याम्पसमा पनि पढाए । पोखरा पछि उनी गोरखा पनि पुगे शिक्षककै रुपमा । त्यहाँ उनले तत्कालीन माओवादी पार्टी तथा हालका नयाँ शक्ति पार्टीका नेता बाबुराम भट्टराई र चिकित्सक उपेन्द्र देवकोटालाई समेत पढाए ।

लामो समय शिक्षण पेशामा लागेपछि स्मिथ अर्कै बाटोमा मोडिए अर्थात उनी पढाउन छोडेर पुतलीका पखेटासँग खेल्न थाले । ५४ वर्ष नेपाल बसाइका क्रममा ४० भन्दा बढी जिल्ला घुमे । उनी फोटोका पनि शौखिन हुन्, विशेषत उही पुतलीकै । ‘पुतलीको खोज र अनुसन्धानमै लागेपछि मैले पढाउनै छाडें र लगाएर पुतली खोज्नतिर लागें,’ उनी भन्छन् ।

४० जिल्लामा घुमेर २५ हजारभन्दा बढी पुतली संकलन गरे । जसको प्रमाण पिएन क्याम्पस, प्राकृतिक विज्ञान संग्रहालय स्वयम्भू, काठमाडौं विश्वविद्यालयमा रहेको पुतली संग्रहालयमा देख्न सकिन्छ ।

‘पुतलीप्रति मेरो औधि रुचि छ, मैले पुतलीकै जातिप्रजाति बारे किताब पनि लेखेको छु,’ स्मिथ सुनाउँछन् । उनको पुतलीबारे लेखेको बाजेको  ३० भन्दा बढी वटा किताब प्रकाशित छन् । ती पुस्तक पुतली र झ्याउँकिरीका विषयमा अध्ययन र अनुसन्धान गरेर लेखिएका हुन् । उनले पहिलो पटक निकालेको किताब बटरफ्लाइज अफ नेपाल इन सेन्टरल हिमालय हो । सो किताब उनले सन् १९८९मा लेखेका थिए ।

नेपाली भएर मर्ने रहर

आधाभन्दा बढी जीवन नेपालकै माटोमा बिताएका स्मिथलाई अब एउटै रहर छ – ‘मर्न अघि नेपाली हुने ।’ नेपाली नागरिक हुन नागरिकता चाहिन्छ । उनी त्यही नागरिकता पाउन दौडधुप गरिहेका छन् ।

नागरिकता पाउन पटकपटक जिल्ला प्रशासन कार्यालयको ढोका पटकपटक नटेकेका होइनन् । तर सधैं पाइरहे आश्वासनमात्रै । सन् १९९० देखि नागरिकताका लागि प्रशासनमा आवेदन दिन थालेको अहिले २०१९ पुगिसकेको छ । तर नागरिकता पाएका छैनन् ।

‘एक पटक त नागरिकताका लागि निवेदन दिँदा मसँग १ लाख घुस मागेका थिए,’ स्मिथ पुरानो किस्सा सम्झँदै भन्छन्, ‘नागरिकता लेऊ भन्दा पनि पैसा माग्ने कस्ता मान्छे ?’

नेपाल सरकारले तोकेको सबै प्रमाण र कागजपत्र पुर्‍याएर पनि आफूले नागरिकता नपाएको उनको दाबी छ ।

अहिले उनी पोखरा १८ मा सानो झुपडी बनाएर एक्लै बस्छन् । बुढो ज्यान एक्लै बस्न गाह्रो हुने, रातको समयमा चर्पी जान समेत गाह्रो हुने उनको गुनासो छ । ‘बुढो ज्यान साह्रै दु:ख पाइयो । अब यतै मर्ने धोको छ,’ उनी हरेक भेटमा भावुक हुँदै भन्छन्, ‘म क्रिश्चियन हुँ । मरेपछि मेरो लास सेतीमा जलाइदिनू ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment