Comments Add Comment

आजका पत्रपत्रिका : सगरमाथामा शक्तिराष्ट्रको हानथाप

१५ वैशाख, काठमाडौं । नेपाल र चीनबीच सीमापार रेलसहित बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल विस्तारको ढोका खुलेकोदेखि हुम्लामा अज्ञात रोगले नौजनाको मृत्यु भएकोसम्मका विषयलाई आजका पत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । त्यस्तै, खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहरा भत्काइएकोलाई पनि सबैजसो पत्रिकाहरुले आज समेटेका छन् ।

नागरिकले अज्ञात रोगले हुम्लामा तीन सातामा नौजनाको मृत्यु भएको लेखेको छ । अज्ञात रोगको प्रकोप जिल्लाको ताँजाकोट गाउँपालिकामा फैलिएको हो । अज्ञात रोगबाट झण्डै २२ दर्जन बढी बिरामी छन् ।

अन्नपूर्णले भने हुम्लामा ९ जनाको ज्यान लिने रोग मौसमी फ्लु भएको दाबी गरेको छ । अन्नपूर्ण लेख्छ– सुरुमा रुघाखोकी मात्र देखिए पनि गाउँभरि संक्रमण फैलिँदै गएको छ ।’

बीआरआईमा रेल समेटिएको विषय पनि आजका पत्रपत्रिकाहरुको उच्च प्राथमिकतामा परेको छ । अन्नपूर्णले नेपाल र चीनबीच सीमापार रेलसहित बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल विस्तारको ढोका खुलेको लेखेकाे छ । बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव स्वीकारेको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

नेपाल–चीन सीमापार रेलमार्गसहितका परियोजना औपचारिक रुपमा नै विश्व नजरमा परेको ठहर नयाँ पत्रिकाको छ ।

ललितानिवास जग्गा खरीद प्रकरणबारे उठेका प्रश्नमा नेकपा मौन देखिनुको रहस्य आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले खोजेको छ । त्यस्तै सगरमाथामा शक्ति राष्ट्रले राख्दै आइरहेको चासोबारेको एक रिपोर्ट पनि नेपालमा छापिएको छ । नेपालका अनुसार, सर्वोच्च शिखरको उचाइदेखि स्वामित्वसम्मका विषयमा  शक्ति राष्ट्रबीच हानथाप छ ।

नेपाल लेख्छ– प्रधानमन्त्री बीपी कोइरालाको पहिलो चीन भ्रमणमा उठेको सगरमाथाको चुचुरो नेपाल कि चीनमा पर्छ भन्ने बहसदेखि बेलायत, फ्रान्समध्ये कसले पहिला आरोहण गर्ने भन्ने रस्काकस्सीभित्र अनेक राजनीतिक स्वार्थ लुकेको छ ।’

नेपाल अगाडि लेख्छ– सन् २००५ मा चीनले दोस्रोपटक सगरमाथाको उचाइ नाप्दाको परिघटनाले हिमालमाथिको राजनीतिक कतिसम्म हुन्न भन्ने छर्लंग हुन्छ । त्यतिबेला चीनले सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ मिटर मात्र रहेको भनेर अन्तर्राष्ट्रिय चर्चा मात्र चलाएन, विश्व पर्वतारोहण महासंघमा त्यही उचाइ कायम गराउन निवदेन दियो । त्यसपछि चीनको भूमिबाट सगरमाथा आरोहण गर्नेलाई त्यही उचाइका आधारमा प्रमाणपत्र दिन थाल्यो ।’

नेपालका अनुसार, चीनले त्यतिबेला सगरमाथाको उचाइ नाप्नु र त्यसरी आएको उचाइ कायम गर्न महासंघसम्म पुग्नुको भित्री रहस्यचाहिँ अमेरिकी प्रस्ताव फेल गराउनुसँग जोडिएको थियो ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment