Comments Add Comment

तपाईको बच्चामा गेमिङ डिसअर्डरको समस्या त छैन ?

‘तपाईंको बच्चाको के समस्या छ ?’

खानपान मिलेको छैन । उमेर अनुसार तौल र उचाई छैन  खानामा रुची राख्दैनन् । फलफूल खाँदैनन् । जंकफूडका लोभी छन् । ओछ्यानमा पिसाब गर्ने बानी छ । होमवर्क गर्दैनन् । साथीसँग घुलमिल हुँदैन ।

संभवत यस्तै-यस्तै समस्या देखाउनुहुनेछ । तर, सबै बच्चामा यस्तो समस्या नहुन सक्छ । कसैको बच्चा अल्छे होलान्, कसैका अलि बढी चकचके । कसैको बच्चालाई सागपात ख्वाउन गाह्रो होला, कसैको बच्चालाई राती सुताउन ।

तर, यसबाहेक अर्को समस्याबाट पनि गुजि्ररहेका छन् अभिभावकहरु । उनीहरुलाई दोस्रो पटक प्रश्न गर्नुहोस् त, ‘बच्चाको कस्तो बानीबाट तपाईं आजित हुनुहुन्छ ?’

सबैजसो अभिभावकले एउटै जवाफ दिनेछन्, ‘मोवाइल खेलाउने ।’ अर्थात मोवाइलमा भिडियो हेर्ने वा गेम खेल्ने । अधिकांश अभिभावकको साझा समस्या हो यो ।

अभिभावकको गल्ती

छोराछोरी घुक्र्याउँछन् । रिसाउँछन् । तब तपाईं कसरी फकाउनुहुन्छ ?

‘ल, मोवाइल खेल ।’

छोराछोरीलाई कुनै काम लगाउनुछ । छोराछोरी मान्दैनन् । तपाईं के भनेर मनाउनुहुन्छ ?

‘त्यो काम गर्‍यौ भने मोवाइल खेल्न दिन्छु ।’

छोराछोरीले खाना खान मन गर्दैनन् । तपाईं कसरी लोभ्याउनुहुन्छ ?

‘अहिले खाना खायौ भने मोवाइल खेल्न दिन्छु ।’

छोराछोरी आपसमा झगडा गर्छन् । तपाईं कसरी झगडा साम्य बनाउनुहुन्छ ?

‘झगडा नगर है, नभए मोबाइल खेल्न दिन्न नि ।’

अहिले धेरैजसो अभिभावकलाई सजिलो भएको छ, छोराछोरी फकाउनलाई । अरु केही गर्नै पर्दैन, ‘मोवाइल दिन्छु’ भनेपछि सबै समस्याको हल हुन्छ । छोराछोरीलाई फकाउन परेमा, लोभ्याउन परेमा, इख्याउन परेमा अभिभावले देखाउने त्यही मोवाइल नै हो ।

मोवाइल भनेपछि छोराछोरी हुरुक्कै । उनीहरुका लागि सबैभन्दा ठूलो उपहार भएको छ, यो । त्यही कारण त उनीहरु मोवाइल खेल्न पाउने लोभमा आमाबुवाको सर्त खुरुखुरु मान्न तयार हुन्छन् ।

ख्याल-ख्यालैमा लत

जब मोवाइल हातमा पर्छ, तब बच्चाहरु गेम खेल्न थाल्छन् । भिडियो हेर्न थाल्छन् । टिकटक बनाउन थाल्छन् ।

यसरी मोवाइलमा झुम्मिएपछि उनीहरु आफैलाई भुल्छन् । एकै ठाउँ घण्टौ-घण्टौ बसेको पनि उनीहरुले पत्तो पाउँदैनन् । भोक लागेको पनि भेउ पाउँदैनन् । तिर्खा लागेको पनि अन्दाज पाउँदैनन् । दिसा-पिसाब लागेको अनुभूत नै गर्दैनन् ।

आफ्नो अघिल्तिर को आयो, को गयो, के भइरहेको छ ? केहीपनि थाहा पाउँदैनन् । किनभने उनीहरुको आँखा मोवाइलको स्क्रिनभित्र हुन्छ । उनीहरुको ध्यान मोवाइलको गेम वा भिडियोमा हुन्छ । दायाँवायाँ केही सोच्न, देख्न, बुझ्नै सक्दैनन् ।

मोवाइलमा गेम जति खेल्यो, उति खेल्न मन लाग्छ । भिडियो जति हेर्‍यो, उति हेर्न मन लाग्छ । यही कारण मोवाइल मोह पलाउँछ । यसले मोवाइलप्रतिको आशक्ति बढाउँछ । मोवाइलको लत लगाउँछ । मोवाइलको तृष्णा जगाइदिन्छ ।

अनि के हुन्छ ?

बच्चाहरु हरक्षण मोवाइलकै बारेमा सोच्न थाल्छन् । उनीहरु फुर्सद पाउनसाथ मोवाइलमा झुम्मिन्छन् । मोवाइल पाउने लोभ राख्छन् । आमाबुवालाई छलेर हुन्छ कि, ढाँटेर हुन्छ कि, घुक्र्याएर हुन्छ कि, जसरी हुन्छ मोवाइल हातमा पाउने दाउ हुन्छ ।

र, विस्तारै-विस्तारै बच्चाहरु मोवाइलप्रति यति धेरै लिप्त हुन्छन् कि, त्यसबाट छुटकारा पाउन सक्दैनन् । यसले उनीहरुको पढाई, सोचाई र दिनचर्या नै प्रभावित हुन्छ । वास्तवमा कुनैपनि कुराको कुलत राम्रो हुँदैन । मोवाइलको कुलतले पनि बच्चालाई नराम्ररी बिगार्छ ।

गेमिङ डिसअर्डरको कुरा

अहिले धेरैजसो बालबच्चा गेमिङ डिसअर्डरको सिकार हुँदै गएको मनोविज्ञहरुले बताएका छन् । जति जति यस्तो गेममा बच्चाहरु लिप्त हुँदै जान्छन्, उनीहरु त्यहाँबाट बाहिर आउँनै चाहँदैनन् । यही कारण गेमिङ डिसअर्डरलाई अहिले विश्व स्वास्थ्य संगठनले मानसिक रोगको श्रेणीमा राखेको छ ।

जब बच्चाहरुमा यस्तो समस्या आउन थाल्छ, उनीहरु निदाउन छाड्छन् । शारीरिक गतिविधिमा सक्रिय हुँदैनन् । खानपान अनियमित हुन थाल्छ । उनीहरु पारिवारिक र सामाजिक जीवनबाट भाग्न खोज्छन् ।

यसले बच्चाहरुलाई हिंस्रक, आक्रमक बनाउँछ । बच्चाहरु एकान्तमा मात्र बस्न रुचाउने, सधै उदास रहने हुन्छ । त्यसैले यी समस्याप्रति अभिभावकले नजरअन्दाज गर्न मिल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment