Comments Add Comment

महोत्सवमा हात्तीलाई यातना दिएको पेटाको आरोप

३ असार, चितवन । सौराहामा हुने हात्ती महोत्सवमा हात्तीलाई यातना दिएको आरोप अमेरिकी संस्था पेटाले लगाएको छ । जनावरको अधिकारीको क्षेत्रमा काम गर्दै आएको संस्था पिपुल फर दी इथिकल ट्रिटमेन्ट फर एनिमल (पेटा) ले महोत्सवका क्रममा हात्तीलाई यातना दिने गरिएको भिडियोसहितको सामाग्री तयार गरेको छ । उसले भनेको छ, ‘नेपालको सौराहामा हुने हात्ती महोत्सवमा माहुतेहरूले केही हात्तीलाई तीखो र धारिलो हतियार हिर्काएर यातना दिने गरिएको छ ।’

पेटाले तयार गरेको १.२० मिनेट लामो भिडियोमा केही माहुँतेहरुले हात्तीलाई कुटेको र घाँउ बनाएको देखाइएको छ । पेटाले आफ्नो वेबसाइटमा हात्तीलाई दिइएको यातानाको भिडियोसहित फोटोहरु राखेको छ । पेटाकी आयोजना संयोजक निराली शाहले अनलाइनखबरसँग कुरा गर्दै हात्तीलाई जबरजस्ती कुटपिट गरी खेलाउने गरिएको बताइन् ।

उनले भिडियोहरु हात्ती महोत्सवको तयारी र महोत्सवका क्रममा लिइएको बताइन् ।  उनले भनिन्, ‘हामीले आयोजकहरुलाई पनि भिडियो देखाएका छौं, प्रयोजकहरुलाई पनि यस्ता कार्यक्रम प्रायोजक नगर्न भनेका छौं ।’

सौराहामा हरेक वर्ष हात्ती महोत्सव हुन्छ । पछिल्ला बर्षहरूमा विदेशी भन्दा बढि स्वदेशी पर्यटकहरु महोत्सवमा आउने गरेका छन् । सौराहाका व्यवसायी र हात्ती प्रजनन् केन्द्रका हात्तीहरुको सहभागितामा गत बर्षको दोस्रो साता वाघमारा चौरमा महोत्तव भउको थियो ।

महोत्सवमा हात्तीहरुको वनभोज कार्यक्रम, हात्ती फास्ट वाक प्रतियोगिता, छावाहरुको रोचक फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती पेन्टिङ प्रतियोगिता हुँदै आएको छ ।

२०६० सालबाट शुरु गरिएको हात्ती दौड प्रतियोगितालाई २०७० सालमा आएर हात्ती महोत्सवका रुपमा अघि बढाइएको थियो । हात्ती दौड प्रतियोगिताको नेपालकै संरक्षणकर्मीहरुले समेत विरोध गरेपछि हात्ती वाक नामाकरण गरिएको हो । हात्ती महोत्सव नामाकरणपछि हात्तीको बनभोज, हात्ती सुन्दरी प्रतियोगिता थप गरिएको हो । यस्ता प्रतियोगिता हात्ती मैत्री रहेको र हातीलाई दुःख दिने कुनै पनि काम हुन नदिने संघले प्रतिवद्धता जनाउँदै आएको छ ।

एनिमल राइर्टस क्लब टाँडीका प्रमुख संस्थापक एवम् अभियन्ता सुराजन श्रेष्ठले पछिल्ला बर्षहरुमा हातीलाई दुःख दिने काममा कमी आएको बताए । तर, हात्तीपोलो जस्तो क्रुर खेल थप गरेर आयोजकले फेरि दुःख दिने गरेको उनको तर्क छ ।

आयोजक भन्छः याताना दिनुपर्ने कारण छैन

महोत्सव आयोजक क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले हात्तीलाई याताना दिनुपर्ने कुनै कारण नभएको बताए । सौराहाको पर्यटन प्रवद्धनका क्रममा भारतमा रहेका घिमिरेले भने ‘पेटाले हात्तीलाई यातना दिएको भनेर सार्वजनिक गरेको भिडियो महोत्सवको हैन, यो महोत्सवभन्दा बाहिर कतैको भिडियो हो, यसमा सत्यता छैन ।’

पशु अधिकारका नाममा यहाँका व्यवसायीलाई फसाउने र व्यवसाय चौपट बनाउने खेल भएको अध्यक्ष घिमिरेले आशंका गरे । पशु अधिकारकर्मीप्रति उल्टै प्रश्न गर्दै घिमिरले भने, ‘कतै पशुअधिकारकर्मीले पैसाका लागि आफैंले हात्तीलाई चुट्न लगाएर भिडियो खिचेका त हैनन ?’

हात्ती सञ्चालक सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषि तिवारीले सौराहाको बदनाम गराउने खेल भएको बताए ।

हात्तीबारे सचेत छौंः निकुञ्ज

हात्ती महोत्सवमा सौराहाका निजी व्यवसायी र चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत हात्ती प्रजनन केन्द्रका हात्ती सहभागी हुन्छन् ।

गत बर्ष महोत्सवमा पनि निकुञ्जका ५ हात्ती सहभागी थिए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले महोत्सवमा हात्तीलाई यातना दिएको विषय उठेको तर त्यसमा कति सत्यता छ भन्ने आधिकारिक जानकारीमा नआएको बताए ।

यसबारे हेल्लो सरकारले समेत चासो राखिएको प्रमुख संरक्षण अधिकृत ढकालले बताए । ‘सरकारी हात्तीलाई कसैले यातना दिने कुरा भएन, निजी व्यवसायी पनि सचेत हुनुहुन्छ’ प्रमुख संरक्षण अधिकृत ढकालले भने, ‘यसमा स्वार्थ समुहहरुले काम गरिरहेका छन् ।’

सौराहामा ५७ वटा नीजि हात्ती छन्, जसमध्ये ७० प्रतिशत हात्ती महोत्सवमा सहभागी हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment