Comments Add Comment

तीजका महत्वपूर्ण सौन्दर्य प्रशाधनहरु

यसपटकको तीजले हामीलाई छपक्कै छोपिसकेको छ । शहर-बजारमा दर खान हिँडेका दिदी-बहिनीहरु प्रसस्त भेटिन थालेका छन् । यही सोमबार मनाइने हरितालिका तीजले हिन्दू महिलाहरुमा एक प्रकारको उत्साह र उमंग छाएको छ ।

यतिबेला गाउँदेखि शहरसम्म तीजकै चर्चा छ । रेडियो, टेलिभिजनदेखि यूट्यूबसम्म तीजका गीतहरु घन्किरहेका छन् । भदौ लागेपछि दर खाने कार्यक्रम पनि बाक्लिन थालेका छन् । विशेषगरी रातो रंगका पहिरनले बजार राताम्य भएको छ ।

हुन त हिन्दुहरुको विभिन्न चाडहरु धैरै वटा छन्, तर तीजले महिलाहरुको लागि बेग्लै विषेशता बोकेको हुन्छ । हुन पनि विवाहिता महिलालाई माइत जाने, मीठो खाने, साथीसंगीसँग रमाइलो गर्ने अवसर दिने भएकोले यो चाडको भिन्दै महत्व छ ।

त्यसो त तीज भन्नाले विवाहिता महिलाले आफ्नो श्रीमानको लामो आयुको लागि ब्रत लिई मनाइने चाड हो, तर आज-भोलि महिलाहरुले साथीभाई भेला भएर रमाइलो गर्दै मिठो खाने बाहना पनि बनेको छ तीज ।

आज-भोलि विवाहितासँगै अविवाहिता युवती तथा किशोरीहरु पनि तीजको व्रत बस्ने भएकाले अविवाहितका लागि पनि यो पर्व थप महत्वपूर्ण भएको छ । यो पर्वमा भगवान शिवजीको पूजा-अर्चना गरिन्छ । यो दिन विवाहिताले आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै र अविवाहिताले सुयोग्य वर मिलोस् भन्ने कामना गर्दै निर्जला व्रत बस्छन् । राति शिव र पार्वतीको पूजा गरेर रात भरिको लागि बत्ती बाल्छन् ।

पूजा गर्नु अगाडि महिलाहरु अनेक श्रृंगार गरेर राता पहिरनमा सजिने गर्छन् । हरितालिका तीजको दिन हरेक रंगहरुको विशेष महत्व हुन्छ । जसमा उनीहरुको पहिरनदेखि गरगहनासम्म कस्तो छ भनेर हेर्ने गरिन्छ । एक किसिमले भन्ने हो भने तीजमा महिलाहरुमा राम्री बन्ने प्रतिस्पर्धा नै हुन्छ । यदि तपाईं पनि ब्रत बस्दै हुनुहुन्छ र तीजमा कसरी सुन्दर देखिने सोच्दै हुनुहुन्छ भने यहाँ केही जानकारीहरु छन्, जसले तपाईंलाई सुन्दर देखिन सहयोग पुर्‍याउने छ ।

मेहन्दी

मेहन्दी महिलाहरुको श्रृंगारको अभिन्न अंग बन्दै गएको छ । आज नेपालमा पनि मेहन्दी हरेक अवसरमा लगाइन थालिएको छ । त्यसैले तीजमा मेहन्दी लगाएर आफ्नो सौन्दर्यमा सुनमा सुगन्ध भर्न सकिन्छ । हिजो-आज मेहन्दी धेरै डिजाइन र गुणस्तरमा उपलब्ध छन् । जसलाई तपाईं आफ्नो रुचि र सहज हुने किसिमले छनोट गर्न सक्नु हुनेछ ।

मेकअप

तीजमा मेकअप गर्दा मौसमलाई पनि ध्यान दिन आवश्यक छ । यदि धेरै गर्मी छ भने पसिनाले मेकअप नबगाओस् भन्नाका लागि वाटरप्रुफ प्रोडक्टहरुको प्रयोग गर्नु पर्छ । तपाईंलाई कस्तो किसिमको मेकअप राम्रो लाग्छ, त्यही अनुरुप आफूलाई सिंगार्न सक्नु हुन्छ । यदि तपाईंलाई हल्का किसिमको मेकअप मन पर्छ भने आँखा र ओठको मात्र मेकअप गर्न सक्नुहुन्छ ।

बिन्दी

परम्परागत पहिरनको साथमा बिन्दीको प्रयोगले तपाइर्ंको सुन्दरतालाई अझ बढाउँछ । बिन्दी साडी, कुर्ता-सुरुवात र लेहेंगा जस्तो पहिरनमा पनि सुहाउँछ । यदि तपाईंको पहिरनसँग मेल खाने बिन्दी छैन भने रातो रंगको बिन्दी लगाउनुहोस्, जुन हरेक पहिरनको लागि उत्कुष्ट हुन्छ । बिन्दी छनोट गर्दा आफ्नो अनुहारको आकार प्रकारलाई पनि ध्यान दिनु आवश्यक हुन्छ । आफ्नो अनुहारको शेप अनुसारको बिन्दीले तपाईंलाई अझ बढी सुन्दर देखिन्छ ।

पोते

पोतेलाई विवाहिता महिलाहरुको मुख्य श्रृंगारको रुपमा लिने गरिन्छ । विवाहको दिन श्रीमानले पहिराइदिने भएकाले पोते विवाहिता महिलाको पहिचानको रुपमा लिइन्छ । त्यसैले पोतेविना विवाहिता महिलाको श्रंृगार अपुरो हुन्छ । यस्तो महत्वका कारण आज-भोलि बजारमा विभिन्न रंग र डिजाइनका पोतेहरु उपलब्ध छन् । आफ्नो अनुहारको रंगसँग मेल खाने पोते छनौट गरेर तपाई सुन्दर देखिन सक्नु हुन्छ ।

सिन्दुर

सिन्दुर श्रीमानले श्रीमतीलाई विवाहको दिन लगाइदिएको महत्वपूर्ण श्रंृगार हो । त्यसकारण सिन्दुर विवाहिता महिलाको पहिचान पनि हो । त्यसैले यसको महत्व विवाहिता महिलाको लागि धेरै हुन्छ । बजारमा सिन्दुरहरु आकर्षक तरिकाले सजाएर राखिएको हुन्छ । जसको खरिद गर्दा गुणस्तरलाई ध्यान दिनु अति नै आवश्यक हुन्छ । जहाँ पायो त्यहीँको सिन्दुर किन्दा छालामा एलर्जी हुने डर हुन्छ । त्यसैले सिन्दुर राम्रो गुणस्तरको किन्नु पर्छ ।

चुरा

चुरा तीजको विशेष गहनाको रुपमा लिने गरिन्छ । रंगीविरंगी चुराहरुले महिलाहरुको नाडीको शोभा नै बढाउँछ । यो पनि विवाहिता महिलाको पहिचान हो, तर आज-भोलि अविवाहित किशोरी तथा युवतीहरुले पनि यसको प्रयोग गर्छन् । बजारमा विभिन्न डिजाइन, रंगहरु र मेटलहरुका चुराहरु उपलब्ध छन्, जसलाई तपाईं आफ्नो रुचिअनुसार रोज्न सक्नु हुन्छ । विवाहिता महिलाले काँचको चुरा बढी मन पराउँछन् भने अविवाहिताहरुले सिल्वर र गोल्डेन चुराहरु बढी रुचाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment