Comments Add Comment

देशैंभरि डेंगुको प्रकोप, कृषि मन्त्री र २ चिकित्सकसहित १३ स्वास्थ्यकर्मी नै संक्रमित

भीआईपी क्षेत्रका भवनमा कडाइ

२० भदौ, काठमाडौं । डेंगुको बढ्दो प्रकोप, गौरवका आयोजनाको प्रगति, भीआईपी क्षेत्रको भवन निर्माण मापदण्डलगायत विषय आजका दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बनेको छ ।

सरकारले गठन गरेको महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षासम्बन्धी सुझाव तथा सिफारिस समितिले अति विशिष्ट (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) का कार्यालय तथा निवास क्षेत्र आसापास व्यापार व्यवसाय प्रयोजनका अग्ला भवन निर्माणमा अंकुश लगाउन सिफारिस गरेकोलाई कान्तिपुरले आज प्राथमिकताका साथ ‘कभरेज’ गरेको छ । भीभीआईपी र भीआईपी क्षेत्रमा बनेका कतिपय भवनलाई लिएर विवाद भइरहेका बेला यस्तो प्रस्ताव आएको हो ।

आतंककारी समूहबाट हुन सक्ने अवाञ्छित गतिविधिको जोखिम औंल्याउँदै समितिले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अतिविशिष्ट व्यक्तिका कार्यालय तथा निवास आसपास क्षेत्रमा भवन निर्माण गर्दा जिल्ला सुरक्षा समितिको स्वीकृति लिनुपर्ने प्रावधान राख्न पनि सिफारिस गरेको समाचारमा उल्लेख छ ।

कान्तिपुरका अनुसार गृह मन्त्रालयद्वारा गठित उक्त समितिको प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आतंककारी तथा संगठित आपराधिक समूहबाट हुनसक्ने आक्रमणको उच्च जोखिममा रहेको औंल्याइएको छ ।

काबुल रहेका नेपालीले सरकारसमक्ष गरको याचनालाई पनि कान्तिपुरले आज प्राथमिकताका साथ पहिलो पृष्ठमा समेटेको छ । समाचार अनुसार दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिनेगरी भएको तालीवानी आक्रमणपछि बढ्दो असुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरेका छन् ।

डेंगु प्रकोपबारेको समाचारलाई कान्तिपुरले दोस्रो पृष्ठमा छापेको छ । देशैभरि फैलिएको डेंगुबाट कृषिमन्त्री र दुई चिकित्सकसहित १३ स्वास्थ्यकर्मी संक्रमित भएको समाचारमा लेखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित ११ जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका २ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक स्वास्थ्यकर्मीलाई डेंगु संक्रमण भएको हो । डेंगुको संक्रमण भएपछि कृषिमन्त्री खनाललाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

राजधानीले पनि डेंगु प्रकोपकै विषयलाई मुख्य समाचार बनाएकाे छ । समाचार अनुसार, डेंगु देखापरेको ५० दिनमा २९०८ संक्रिमत बनिसकेका छन् ।काठमाडौं नै उच्च जोखिममा रहेको उल्लेख गर्दै उसले नियन्त्रण प्रभावकारी नभए भयावह रुप लिने खतरा औंल्याएको छ ।

अन्नपूर्णले प्रदेश १ मा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका प्रगतिबारे नजर लगाएको छ । अन्नपूर्णका अनुसार प्रदेश १ मा सञ्चालित हुलाकी राजमार्गदेखि मध्यपहाडी लोकमार्गसम्मले गति लिन सकेका छैनन् ।

त्यस्तै विपन्न मुसहरको कथा र डेंगु संक्रमित कृषि मन्त्री चक्रपाणि खनालको समाचार पनि अन्नपूर्णको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

म्यानपावरको लाइसेन्स खारेजी, सार्वजनिक जग्गा दुरुपयोगलगायत विषय नागरिकले पहिलो पृष्ठमा उठाएको छ । सरकारी मुखपत्र गोरखापत्रमा ई–बैंकिङ सेवाले थपेको चुनौतीदेखि डेंगु संक्रमणले राजधानीका अस्पतालमा भीड लागेकोसम्मका खबर छापेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment