Comments Add Comment

सडक ढलानले हेटौंडामा भूमिगत पानी घटेको दावी

मेयरले भने : अब सडक ढलान कम गर्छौं

२७ भदौ, हेटौंडा । सडकको टिकाउका लागि कंक्रिट सडकमा जोड दिएको हेटौंडा उपमहानगरले पानीको रिचार्ज प्रक्रियामा समस्या आएपछि कंक्रिट सडकको निर्माण घटाउने भएको छ ।

गत आर्थिक बर्षमा उपमहानगर क्षेत्रमा ढलान सडक मात्र निर्माणमा जोड दिएको उपमहानगरले चालु आर्थिक बर्षबाट ढलान (कंक्रिट) सडक निर्माण कम गर्ने जनाएको छ ।

हेटौंडामा खानेपानीको व्यवस्थापन गर्दै आएको हेटौंडा खानेपानी बोर्डले कंक्रिट सडक निर्माण र बढ्दो शहरीकरणले भूमिगत पानीको रिचार्ज प्रक्रियामा असर पुर्‍याउँदा उत्पादन घटेको बताएपछि मेयर हरिबहादुर महतले कंक्रिट सडक निर्माणको क्रम घटाइने बताएका हुन् ।

कालोपत्रे सडक टिकाउ कम हुने भएकाले कंक्रिट सडक निर्माणमा जोड दिइएकामा अब संबेदनशीलतको आधारमा कम गर्दै लैजाने उनले बताए ।

शहरीकरणसँग कंक्रिट प्रयोगको मात्रा अधिक भएर जमिनमा परेको पानी भित्र नजाँदा पानीको उत्पादनमा कमी आएको बोर्डका कार्यकारी निर्देशक सुदर्शन ढकालले बताए । बोर्डले सहज खानेपानी आपुर्तिका लागि हेटौंडाका बिभिन्न ठाउँमा गरेको डिपबोरिङबाट पानी निकालेको छ ।

डिपबोरिङ खन्नुपूर्व गरिएको अनुमानजति पानी नआएको उनले बताए । बोर्डले हेटौंडामा दैनिक १७ हजार १ सय ६१ धाराबाट १ करोड ३५ लाख ९२ हजार लिटर पानी वितरण गरिरहेको छ भने २ हजार १ सय १० नयाँ धारा जडानको लागि निवेदन आएको जनाएको छ ।

बोर्डको बार्षिक आम्दानी १३ करोड

हेटौंडा खानेपानी बोर्डले गत आर्थिक बर्षमा १३ करोड ४४ लाख ६३ हजार रुपियाँ आम्दानी गरेको छ । बोर्डले १० करोड ३३ लाख ९१ हजार रुपियाँ खर्च गरेको जनाएको छ ।

बोर्डले आन्तरिक आयतर्फ खानेपानी महशुल वापत ७ करोड ८७ लाख ६६ हजार, जरिवाना, नयाँधारा र मिटर जडानबाट १ करोड १६ लाख ७ हजार आम्दानी गरेको छ । बाह्यतर्फ उपमहानगरबाट सेवा विस्तारका लागि ९७ लाख ६८ हजार रुपियाँ आम्दानी गरेको छ ।

चालु खर्चमा बोर्डले कर्मचारी तलब भत्तामा २ करोड ६७ लाख ७८ हजार, सेवा सञ्चालन, बिद्युत महशुल, मर्मतमा ३ करोड ८१ लाख ७२ हजार खर्च गरेको छ भने पुँजीगतमा डिपट्युवेल सञ्चालन निर्माण, कार्यालय सामग्री खरीदमा ३ करोड ८४ लाख ४० हजार खर्च गरेको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment