Comments Add Comment

जगदम्बाश्री र मदन पुरस्कार प्रदान

३ असोज, काठमाडौं । मदन पुरस्कार गुठीले यसवर्षको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार वितरण गरेको छ । ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा रणहार पुस्तकका लागि योगेश राजलाई ‘मदन पुरस्कार–२०७५’ र साहित्यकार वैरागी काँइलालाई ‘जगदम्बाश्री पुरस्कार–२०७५’ प्रदान गरिएको हो ।

दुबै पुरस्कारको राशी चार–चार लाख रुपैयाँ रहेको छ । २०१३ सालदेखि प्रदान गर्न थालिएको गुठीले यसवर्षदेखि पुरस्कार राशी दोब्बर बनाएको हो ।

गुठीका अध्यक्ष  कुन्द दीक्षितले तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्ता मध्येका एक वैरागी काइँलालाई लिम्बु भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्मयको समृद्धिमा उल्लेखनीय योगदान गरेकाले पुरस्कृत गरिएको बताए ।

मदन पुरस्कार विजेता रणहार ले हाम्रा पुर्खा र हामीले टेकेको धर्ती, देखेको र महशुस गरेको कला, संस्कृति, वास्तुकला तथा समग्रमा मध्यकालीन समाज र भूगोल बुझ्न सघाएको दीक्षितले उल्लेख गरे ।

गुठीले सानु शर्माको कथा संग्रह ‘एकादेशमा’, विन्दु शर्माको कविता सङ्ग्रह ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको लघुउपन्यास ‘ज्ञ’, छुदेन काविमोको उपन्यास ‘फातसुङ’, महेश थापाको कथा संग्रह ‘मरिचिका’, योगेशराजको उपन्यास ‘रणहार’ र ध्रुव सापकोटाको कथा संग्रह ‘विचारको लास’ उत्कृष्ट सात पुस्तकमा सूचिकृत भएका थिए ।

पुरस्कार वितरण समारोहमा डा. रिता थापाले ‘शून्य तहदेखि सहस्राब्दीतिरको यात्रा’ शीर्षकमा विद्धत प्रवचन राखेकी थिइन् । उनले छ दशकअघिको स्वास्थ्य सूचकहरूलाई आजकोसँग दाँज्दा नेपालको स्वास्थ्य स्थितिमा आश्चर्यचकित परिवर्तन आएको बताइन् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment