+
+

गण्डकीको संसद १० मिनेट बसेर स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ६ गते १९:२६

६ असोज, पोखरा । संसदमा बिजनेस अभाव भएपछि भदौ १९ गतेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठक नै स्थगित भयो । सोमबारका लागि बोलाइएको संसद बैठक पनि नेपाली कांग्रेसको जागरण अभियानका कारण प्रभावित भएको छ ।

भदौ २४ गतेदेखि चलाइरहेको जागरण अभियानमा सांसदहरु व्यस्त हुने भएपछि सोमबारको बैठक नराख्न प्रतिपक्षी दल कांग्रेसका नेताले आग्रह गरेका थिए । संसद चल्नुभन्दा अघिल्लो दिन आइतबार बसेको कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस सांसदले बैठक नराख्न वा राख्नै परे छोटो गर्न आग्रह गरेका थिए । त्यसैअनुरुप २ वटा विधेयक टेबल गरेर बैठक स्थगित भएको छ । सोमबारको बैठक जम्मा १० मिनेटमात्रै चल्यो । अब ८ गते बुधबार ११ बजेसम्मको लागि बैठक स्थगित भएको छ ।

‘जागरण अभियानमा व्यस्त हुनुपर्ने भएकाले कांग्रेस संसदीय दलका नेता र सांसदले कानुनमन्त्री हरिबहादुर चुमानलाई नै आग्रह गर्नुभएको थियो,’ संसद सचिवालयका एक कर्मचारीले भने, ‘त्यसैअनुसार बैठक स्थगित गर्नुभन्दा ११ बजे नै बैठक बोलाउने तर २ विधेयकमात्रै प्रस्तुत गर्ने गरी कार्यसूची तयार भएको हो ।’

नवलपुरमा हुने जागरण अभियानमा सहभागी हुन पुग्नै पर्ने भएकाले कांग्रेस प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले विशेष आग्रह गरेकै कारण कार्यसूची छोट्याइएको संसद सचिवालयका उपसचिव तथा सूचना अधिकारी राजेन्द्र न्यौपानेले जानकारी दिए । दशैं नजिकिएकाले बैठक रोक्नुभन्दा छोटो गर्न सकिने आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले बताएका थिए ।

बैठकमा प्रदेश विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन सम्बन्धी विधेयक विधायन समिति सभापति मोहन रेग्मीले प्रतिवेदनसहित पेश गरेका छन् । हालैमात्र संसद सचिवालयमा दर्ता भएको प्रदेशमा सुशासनको प्रत्याभूति गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले टेबल गरेका छन् ।

३ विधेयक संसदमा दर्ता भएर छलफलका क्रममा थिए । प्रदेश सभा सचिवालय सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा अड्किएको लामो समय भइसक्यो ।

विधायन समितिमा छलफलकै क्रममा सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक टुंगो लागिसकेको थिए । भदौ १९ गते बोलाइएको बैठकमा बिजनेस नै नभएपछि स्थगित भएपछि असोज ६ गते सोमबारका लागि बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?