Comments Add Comment

सामाजिक सञ्जालमा विज्ञापन गर्दैमा मुद्दा लाग्दैन : राष्ट्र बैंक

२० माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक वमबहादुर मिश्रले सामाजिक सञ्जालमा विज्ञापन गर्न नरोकिएको बताएका छन् । केही दिनअघि सार्वजनिक गरिएको सूचनाका आधारमा अब सामाजिक सञ्जालमा विज्ञापन नै गर्न नपाइने भएको भनेर भ्रम परेको भन्दै उनले नियमन गर्न मात्रै खोजिएको बताए ।

अहिले विज्ञापन गर्ने गरिएको तर त्यसबापतको भुक्तानी दिँदा वैधानिक च्यानल प्रयोग नभएको गुनासाहरू आएकाले त्यसतर्फ सचेत रहन आग्रह गरिएको कार्यकारी निर्देशक मिश्रले बताए । ‘कसैले विज्ञापन गर्न खोज्छ भने पाउँछ, यदि नपाउने कुनै ऐनमा छ भने नपाउला,’ उनले भने, ‘तर विज्ञापन गरेबापत विदेशी मुद्राको भुक्तानी दायित्व खडा हुन्छ भने यो सूचना आकर्षित हुन्छ ।’

विदेशी मुद्राको कारोबार गरी गैरकानूनी हिसाबले भुक्तानी भने दिन नपाइने उनले बताए । भुक्तानी दिँदा वा लिँदा वैधानिक च्यानल प्रयोग गर्नुपर्ने भन्दै उनले विदेशी मुद्राको कारोबार भए अनिवार्य रूपमा राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्ने मिश्रले बताए ।

सामाजिक सञ्जालमा भइरहेको विज्ञापनलाई नियमन गर्न राष्ट्र बैंकले आवश्यक गृहकार्यसमेत गरिरहेको उनले बताए । नियमनका लागि कार्यविधिको तयारीमा राष्ट्र बैंक जुटेको उनले बताए । यसका लागि सरोकारवालाहरुसँग छलफलसमेत सुरु गरिएको कार्यकारी निर्देशक मिश्रले जानकारी दिए ।

उनका अनुसार सोमबारमात्रै नेपाल विज्ञापन संघका पदाधिकारीहरुसँग राष्ट्र बैंकले छलफल गर्नेछ ।

‘हामीले भुक्तानी प्रणालीको नियन गर्न खोजेका हौं, यसरी भुक्तानी हुने रकम अनौपचारिक माध्यमबाट भयो भनेर यसलाई औपचारिक बनाऔं भनेर यस्तो निर्णय गरिएको हो,’ उनले भने, ‘हाम्रो देशबाट अनौपचारिक माध्यमबाट रकम जाने तथा आउने भइरहेको छ, यसलाई वैधानिक बनाउन खोजेका हौं ।’

सरोकारवालाहरुसँग छलफल गरी कार्यविधि तयार पारेर कार्यान्वयनमा लगिने उनले बताए । सामाजिक सञ्जालमा हुने विज्ञापनको अवैधानिक च्यानलबाट भुक्तानी हुने गरेको मात्रै राष्ट्र बैंकले कडाइ गर्ने आइतबार सूचना जारी गरेको थियो ।

जसमा भनिएको छ, ‘सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानी अवैधानिक च्यानलबाट भए विदेशी मुद्रा अपलचलनको मुद्दा लाग्नेछ ।’ राष्ट्र बैंकको यो सूचनापछि सामाजिक सञ्जालमा हुने विज्ञापनबारे बहस सिर्जना गरेको छ ।

सबैले यो राम्रै कुरा भनेका छन् । तर नियमन कसरी हुन्छ भन्ने विषयमा भने समस्या हुने देखिएको छ ।

कसरी हुन्छ सामाजिक सञ्जालमा विज्ञापन ?

कुनै उत्पादन वा प्रचार सामग्रीको बारेमा विज्ञापन गर्नु पर्यो भने कुनै सामाजिक सञ्जालमा त्यो उत्पादनको बारेमा सम्पूर्ण जानकारी समेटिएको फोटो वा भिडियो पोष्ट गरेर बुस्ट गरी विज्ञापन गर्न सकिन्छ । बुस्ट गरेपछि फेसवुकले लक्षित वर्गसम्म पुर्याउने काम गर्छ । यसबापत फेसवुकलाई रकम भुक्तानी गर्नुपर्छ ।

निर्वाचनताका नेताका फेसबुक अकाउन्टहरू‘बुस्ट’ गरिएका हुन्छन् । गत संसदीय निर्वाचनमा पनि धेरै नेताका फेसवुक अकाउन्टहरू बुस्ट गरिएका थिए । त्यसबापत फेसवुकलाई रकम भुक्तानी राम्रै भयो । युट्युब, टुइटरलगायत सामाजिक सञ्जालहरुमा यसरी विज्ञापन गर्न सकिन्छ ।

सामाजिक सञ्जालमध्ये पनि सबैभन्दा धेरै विज्ञापन हुने भनेको फेसबुकमा हो । फेसबुक अकाउन्ट वा फेसबुक पेजबाट पैसा तिरेर विज्ञापन गर्न सकिन्छ ।

फेसवुक आफैंले विभिन्न प्रयोगकर्ताहरुको टाइमलाइनमा लगेर यसलाई प्रदर्शन गरिदिन्छ । यसवापत फेसवुकलाई शुल्क तिर्नु पर्ने हुन्छ । कुन विज्ञापन हो वा होइन भनेर चिन्ने आधार भनेको त्यो पोष्टको माथि लेखिएको शब्दबाट हो । पैसा तिरेर गरिएको विज्ञापनको माथि ‘स्पोन्सर्डड’ भनेर अंग्रेजीमा लेखिएको हुन्छ ।

स्पोन्सस्र्ड गरेबापत फेसबुकलाई तोकिएको रकम डलरमा भुक्तानी गर्नुपर्ने हुन्छ । यसरी गरिने भुक्तानी धेरैले विदेशमा रहेका आफन्त वा एजेन्टबाट गराउँछन् भने नेपालबाटै गर्नका लागि डलर कार्ड भएका डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment