Comments Add Comment

आगो लाग्ला, बेलैमा दमकल चाहियो !

४ फागुन, काठमाडौं । यसैसाता मोरङको बेलबारी नगरपालिकामा एउटा बारुण यन्त्र (दमकल) भित्रियो । स्थानीय जनप्रतिनिधिले यसलाई महत्वपूर्ण उपलब्धीका रुपमा व्याख्या गरे । उपमेयर तारा पराजुलीले फेसबुकमा दमकलको फोटो पोस्ट गर्दै लेखिन्, ‘बेलबारी नगरबासीको अर्को सम्पत्ति दमकल । अबको केही दिनमै नगरपालिकाद्वारा शव वाहन ल्याइँदै ।’

दमकल आएपछि उपमेयर खुशी हुनु स्वाभाविकै हो । किनभने, हरेक स्थानीय तहमा दमकल, एम्बुलेन्स र शव वाहन आम मानिसका लागि चाहिने सामाग्री हुन् ।

अहिले जाडो याम सकिएर सुख्खा याम आउन लागेको छ । चैत/बैशाखतिर वनमा डढेलो अनि गाउँबस्तीमा आगलागीका घटना बढ्ने गर्छन् । यस्तो बेलामा हरेक शहर एवं पालिकाहरुले बेलैमा दमकलको व्यवस्थापन गर्न सके जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

हाम्रो देशमा अहिले दमकलको स्थिति पर्याप्त छैन । देशभरि कति दमकल छन् र तिनीहरुको अवस्था कस्तो छ त ? विज्ञहरु भन्छन्, अहिलेकै दमकलले शहरलाई धान्न सक्दैनन् ।

महानगर–उपमहानगरमा बिग्रिएका दमकल

७५३ वटा स्थानीय तह अन्तरगत ६ वटा महानगरपालिकामा भने दमकल सेवा पुगेका छन् । काठमाडौं महानगरपालिकामा ४ वटा दमकल छन् । तर, ३ वटा मात्रै सञ्चालनमा छन् ।

यसैगरी ललितपुर महानगरपालिकामा पनि ३ वटा दमकल छन् । तीमध्ये २ वटाले मात्रै सेवा दिइरहेका छन् । महानगरपालिकामा दमकल पर्याप्त नभएको भन्दै अधिकांश महानगरले थप दमकल खरिदका लागि तयारी गरिरहेका छन् ।

पोखरा महागरपालिकाका ३ वटा दमकलमध्ये एउटा बिग्रिएको छ । भरतपुर महानगरपालिकामा २ वटा दमकल सञ्चालनमा छन् । एउटा बिग्रेर मर्मतको क्रममा छ । वीरगञ्ज महानगरपालिकामा पनि ३ वटामध्ये २ वटा मात्रै सञ्चालनमा छन् । बिराटनगर महानगरका ४ वटा दमकल मध्ये २ वटा बिग्रेर थन्किएका छन् ।

११ वटा उपमहानगरपालिकामा दमकल सेवा छन् । सबै उपमहानगरमा कम्तिमा २ वटा दमकल छन । तर, प्रत्येक उपमहानगरमा रहेका अधिकांश दमकलहरु बिग्रेका छन् ।

जनकपुर उपमहानगरपालिका रहेका २ वटा दमकल अति पुरानो भए पनि हालसम्म चालु रहेको जनकपुर उपमहानगरपालिकाले जनाएको छ । धरान उपमहानगरपालिकामा ४ वटा दमकल रहे पनि हाल ३ वटा मात्रै सञ्चालनमा छन् ।

४६० वटै गाउँपालिका दमकलविहीन

स्थानीय सरकार गठन भएको दुई बर्ष पुगिसके पनि हालसम्म पनि कुनै पनि गाउँपालिकामा दमकल पुगेको छैन । अहिलेसम्म ४६० वटै गाउँपालिका दमकलविहीन छन् ।

देशभरिका २७६ वटा नगरपालिकामध्ये अझै २०३ वटा नगरपलिकामा दमकल पुगेको छैन । हाल ७३ वटा नगरपालिकामा मात्रै दमकल छन् ।

कुल ७५३ वटा स्थानीय तहमध्ये हालसम्म झण्डै डेढ सय स्थानीय तहमा मात्रै दमकल सेवा पुगेको सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

सात प्रदेशमा ९३ दमकल आवश्यक

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार तत्कालका लागि ७ वटै प्रदेशमा गरी ९६ वटा दमकल आवश्यक छन् । आवश्यक दमकल उपलब्ध गराउन मन्त्रालयले नेपाल सरकारलाई पत्र काटिसकेको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म प्रदेश १ को नगरपालिकामा २० वटा दमकल छन् भने २६ वटा दमकल थप आवश्यक छन् ।

प्रदेश २ का नगरपालिकामा ९ वटा दमकल छन् । त्यहाँ २२ वटा थप दमकल आवश्यक छन् ।

बाग्मती प्रदेशमा मात्रै हाल ११ वटा दमकल छन् । त्यहाँ १३ वटा आवश्यक छन् ।

यस्तै गण्डकी प्रदेशमा अहिले ९ वटा दमकल छन् । त्यहाँ अझै ८ वटा दमकलको अपुग छ ।

यसैगरी प्रदेश ५ मा रहेका नगरपालिकामा १० वटा दमकलले सेवा दिइरहेका छन् । त्यहाँ १२ वटा दमकल तत्काल आवश्यक छन् ।

कर्णाली प्रदेशमा सबैभन्दा कम दमकल सञ्चालनमा छन् । त्यहाँ हाल ५ वटा मात्रै दमकल सञ्चालनमा रहेको यो प्रदेशमा ८ वटा दमकल आवश्यक छन् ।

सुदुर पश्चिम प्रदेशमा हालसम्म ९ वटा दमकले सेवा दिइरहेका छन् । यहाँ अझै ८ वटा दमकलको आवश्यकता छ ।

‘ हाल भइरहेको दमकलले शहरलाई धान्दैन’

ठूलो जनसख्या भएका गाउँपालिका, नगरपालिका, महानगरपालिका र उपमहानगरपालिकामा हाल उपलब्ध दमकलले ठूलो क्षत्रेसम्म सेवा दिन नसकिने विज्ञहरु बताउँछन् ।

विपत व्यवस्थापन विद डा. सुवोध ढकाल भन्छन्, ‘प्रत्येक वडामा एउटा दमकल आवश्यक छ, अहिले भइरहेको दमकलले शहरलाई धान्दैन ।’

‘पहाडी जिल्लाहरु विकट हुने भएकाले गाउँपािलकामा नै भए पनि समयमा दमकल पुग्न सक्दैन, त्यसकारण कम्तिमा एउटा वडामा एउटा पूर्वाधार भए जोखिम न्यूनीकरण गर्न सकिन्छ, उनले भने ’

ढकालका अनुसार जति धेरै जनसंख्या, त्यति नै जोखिम बढी हुन्छ । शहरको जनसख्या बढेपछि अत्यावश्यक सेवा पनि बढाउनुपर्छ । हाल सञ्चालनमा रहेका दमकलले सबैतिर सेवा दिन पुगिरहेको छैन ।’

नगरपालिकाको दमकल गाउँपालिकाले प्रयोग गर्न सक्छ : मन्त्रालय

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारी भने नगरपालिकामा दमकल पुर्‍याउन सके गाउँपालिकाले पनि आवश्यक परेका बेला सेवा लिन पाउने बताउँछन् ।

मन्त्रालयका वातावरण तथा विपत व्यवस्थापन शाखाका उपसचिव ऋषिराज आर्चायले एउटा नगरपालिकामा कम्तिमा एउटा दमकल पुगे गाउँपालिकाले पनि प्रयोग गर्न सक्ने भएकाले पहिलो प्राथमिकतामा नगरपालिका परेको बताए ।

‘गाउँपालिकामा दमकल आवश्यक छैन भनेर नपुगेको होइन, गाउँपालिकामा पनि नगरपालिकामा जत्तिकै दमकल आवश्यक छ, आचार्यले भने,‘हामीले कम्तिमा प्रत्येक नगरपालिकामा एउटा मात्र भए पनि दमकल पुगे केही राहत हुन्छ भनेर त्यसका लागि नेपाल सरकारसँग पहल गरिरहेका छौं ।’

आचार्यका अनुसार नगरपालिकामा दमकल पुग्यो भने नगरपालिकाले गाउँपालिकामा पनि टेस्ट सेवा दिन्छ । चरणवद्ध रुपमा गाउँपालिकामा पनि पुग्छ । अहिले स्थानीय तहमा पनि खर्चको पनि व्यवस्थापन हुन्छ ।

सरकारले स्थानीय तहका लागि खरिद गरेका अधिकांश दमकल बिग्रेर थन्किएका छन् । हाल महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा सञ्चालनमा आइरहेका कतिपय दमकल अन्र्तराष्ट्रिय सहयोगमार्फत पनि प्राप्त भएका छन् ।

दमकल अपुग भएका केही स्थानीय तहले आफ्नै बजेटबाट दमकल खरिद गर्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment