Comments Add Comment

विदुर नीति : पण्डित को हुन् ?

‘पण्डित’ त्यस्तो विशेषण होइन, जसले जात वा पेशालाई जनाउँछ । पण्डित त्यही हो, जो ज्ञान, विवेक, शीप, कला, सहनशिलता, धैर्ययता, प्रेम एवं सद्गुणले युक्त हुन्छन् । कुनैपनि जात, वंश, समुदाय, वर्ग, लिंगका व्यक्ति पनि पण्डित हुनसक्छन् ।

विदुर नीतिमा कस्ता व्यक्तिलाई पण्डित वा बुद्धिमान् भन्ने भनी चर्चा गरिएको छ ।

आफ्नो वास्तविक स्वरुपको ज्ञान, उद्यम, दुःख सहने शक्ति र धर्ममा स्थिरता – यी गुणले मानिसलाई कुनै पनि पुरुषार्थ गर्नबाट रोक्न सक्दैन । तिनीहरु नै बुद्धिमान् भनेर चिनिन्छन् ।

राम्रो कामलाई अपनाउनु र खराब कामबाट टाढा रहने तथा श्रद्धालु हुने- यस्ता सद्गुण बुद्धिमान् तथा पण्डित हुनुको लक्षण हो ।

क्रोध, हर्ष, गर्व, लज्जा, उद्दण्डता तथा स्वयं को पूज्य मान्नु – यी भावनाले जुन व्यक्तिलाई पुरुषार्थ र सत्मार्गबाट भड्काउँदैन, त्यही व्यक्ति बुद्धिमान् वा पण्डित भनेर चिनिन्छन् ।

जुन व्यक्तिको कर्तव्य सल्लाह र पहिले नै गरिसकेको निर्णय काम सम्पन्न भएपछि मात्र दोस्रो व्यत्तिलाई थाहा हुन्छ, त्यस्ता मानिस नै पण्डित हुन् ।

जुन व्यक्तिको काममा गर्मी, जाडो, भय, अनुराग, सम्पत्ति र दरिद्रता यी कसैले पनि अवरोध सृजना गर्न सक्दैन भने त्यस्ता व्यक्ति पण्डित हुन् ।

जुन व्यक्तिको निर्णय र बेद्धि धर्मको अनुशरण गर्छ गर्छ र जसले भोगविलास त्यागेर पुरुषार्थको बाटो छान्छन् तिनीहरु नै पण्डित हुन् ।

ज्ञानी र बुद्धिमान् मानिस शक्ति अनुसार काम गर्ने इच्छा राख्छन् तथा कुनै पनि वस्तुलाई तुच्छ मानेर त्यसलाई अपमान गर्दैनन् ।

जो व्यक्ति कुनै विषय छिटै बुझ्छन्, त्यसबारे धैर्यपूर्वक सुन्छन् र आफ्नो काम प्रार्थनाबाट नभई बुद्धिमानी तरिकाले सम्पन्न गर्छन्, तथा कोहीसँग पनि नसोधीकन कुनै कुरा गर्दैनन् । उनीहरु नै पण्डित भनेर चिनिन्छन् ।

बुद्धिमान तथा ज्ञानी मानिस दुर्लभ वस्तुको कामना राख्दैनन्, न त गुमाएको वस्तुको विषयमा शोक गरेर बस्छन् । उनीहरु विपत्तिको समयमा पनि आत्तिदैनन् ।

बुद्धिमान् मानिसहरु पहिला नै निश्चय गरेर रुपरेखा बनाएर काम शुरु गर्छन् र कामको बीचमा कहिले पनि पछि हट्दैनन् । साथै कुनै समय पनि गुमाउँदैनन् । आफ्नो मनलाई नियन्त्रणमा राख्छन् र अघि बढ्छन् ।

ज्ञानी पुरुष सधैं श्रेष्ठ काममा रुचि राख्छन्  र उन्नतिको कार्यको लागि प्रयासरत हुन्छन् । भलाइको काम गर्ने मानिसको अवगुण पनि निकाल्दैनन् ।

जो मानिस आफ्नो आदर÷सम्मान हुँदा पनि धेरै खुसी हुँदैन र अपमान हुँदा धेरै दुखी र विचलित हुँदैन तथा जसको मनमा कुनै प्रकारको दुःख हुँदैन, त्यस्ता मानिस नै पण्डित हुन् ।

जो व्यक्ति प्रकृतिका सबै पदार्थको वास्तविक ज्ञान राख्छन्, सबै काम गर्ने उचित तरिका थाहा पाउँछन् र मनुष्यमा सबैभन्दा राम्रो उपायको जानकार छन्, ती मानिस नै पण्डित हुन् ।

जो मानिस नडराईकन कुरा गर्छन्, धेरै विषयमा राम्रोसँग कुरा गर्न सक्छन्, तर्क–वितर्कमा कुशल छन्, प्रतिभाशाली छन् र शास्त्रमा लेखिएका कुरा राम्रोसँग बुझ्न सक्छन् उनीहरु नै पण्डित हुन् ।

जुन मानिसको विद्या वा ज्ञान उसको बुद्धिको अनुशरण गर्छन् र बुद्धि उसको ज्ञान तथा भद्र पुरुषको मर्यादाको उलंघन गर्दैन, त्यस्ता व्यक्ति पण्डित शब्दको लागि योग्य हुन्छन् ।

मूर्ख को हुन् ?

विना कुनै ज्ञान घमण्ड गर्ने, दरिद्र भएर पनि ठूला ठूला  कल्पना गर्ने, विना कुनै परिश्रम धनी बन्ने इच्छा व्यक्त गर्ने मानिसलाई बुद्धिमान् मानिसहरु मूर्ख भन्छन् ।

आफ्नो काम छाडेर दोस्रो मानिसको कर्तव्य पूरा गर्न तत्पर रहने तथा साथीको गलत काममा संलग्न हुने मानिसहरु मूर्ख भनेर चिनिन्छन् ।

नचाहिने कुराको इच्छा व्यक्त गर्ने, चाहिने कुरामा मुख फर्काउने र आफूभन्दा शक्तिशाली मानिससँग दुश्मनी गर्छन् उनीहरु मूर्ख हुन् ।

शत्रुलाई साथी बनाउने र मित्रको ईष्र्या गर्ने, झगडा गरेर उनीहरुको मनमा चोट पु¥याउने तथा सधैं नराम्रो काममा अग्रसर रहन्छन् । उनीहरु मूर्ख विचार भएका मानिस हुन् ।

आफ्नो कामको रहस्य खोल्ने, प्रत्येक कुरामा आशंका गर्ने र जुन काममा निकै कम समय लगाउनुपर्ने हो त्यो काममा धेरै समय लगाउने मानिस नै मूर्ख हुन् ।

आफ्ना बाबुबाजेको श्राद्ध नगर्ने र देवताको पूजा–अर्चना नगर्ने, सज्जन मानिससँग मित्रता नगर्ने किसिमका मानिस पनि मूर्ख विचार भएका मनिस हुन् ।

नबोलाइएको सभा र स्थानमा पुग्ने, नसोधेको अवस्थामा पनि बेलिरहने तथा अविश्वसनीय मानिसलाई पनि विश्वास गर्छन्, उनीहरु मूर्ख हुन् ।

जो मानिस आफैं गल्ती गरेर आरोप दोस्रो व्यक्तिमा लगाउँछन् र असमर्थ भएर पनि क्रोधित हुन्छन्, उनीहरु मूर्ख हुन् ।

जुन मानिस आफ्नो शक्ति र क्षमतालाई नजान्दा पनि धर्म र लाभको विपरीत गएर पाउन नसक्ने कुराको कामना गर्छन्, त्यस्ता व्यक्ति यो संसारमा मूर्ख भनेर चिनिन्छन् ।

कसैलाई विना कुनै गल्ती सजाय दिने, अज्ञानी मानिसमा श्रद्धा देखाउने र कन्जुस र कृपण मानिसलाई आश्रय दिन्छन्, त्यस्ता मानिसलाई मूर्ख बुद्धि भएको भनेर चिनिन्छ ।

दुईको महत्व

पृथ्वीले के दुई कुरा खान्छिन् ?

द्वाविमौ ग्रसते भूमिः सर्पो बिलशयानिव ।

राजानं चाविरोद्धारं ब्राह्मणं चाप्रवासिनम् ।।

जसरी दुलोमा रहने मुसालगायत जन्तुलाई सर्पले खान्छ, त्यसरी नै पृथ्वीले पनि शत्रुसँग डटेर सामना नगर्ने राजा र परदेश नजाने ब्राह्मण यी दुवैलाई खान्छिन् ।

कुन काम गर्ने मानिसले विशेष शोभा पाउँछ ?

द्वे कर्मणी नरः कुर्वन्नस्मिँल्लोके विरोचते ।

अब्रुवन्परुषं किं चिदसतो नार्थयंस्तथा ।।

यी दुई काम गर्ने मानिस यो संसारमा विशेष शोभा पाउँछन् – कहिले पनि कडा नबोल्ने र दुष्ट मानिसको आदर नगर्ने ।

कुन दुई प्रकारका मानिस अर्को मानिसमा भर पर्छन् ?

द्वाविमौ पुरुषव्याघ्र परप्रत्यय कारिणौ ।

स्त्रियः कामित कामिन्यो लोकः पूजित पूजकः ।।

यी दुई प्रकारका मानिस अरुमा विश्वास गरेर अघि बढ्छन्, यिनीहरुको आफ्नो कुनै इच्छाशाक्ति हुँदैन–

१. अर्को महिलाले चाहेको पुरुषको कामना गर्ने महिला

२. अरुले सम्मान गरेको मानिसलाई सम्मान गर्ने व्यक्ति

दुई तीखा काँडा

द्वाविमौ कण्टकौ तीक्ष्णौ शरीरपरिशोषणौ ।

यश्चाधनः कामयते यश्च कुप्यत्यनीश्वरः ।।

यी दुई कुराले तीखा काँडा मानिसलाई शरीरलाई घोचे जसरी घोच्छन् –

१. निर्धन भएर पनि बहुमूल्य वस्तुको कामना राख्नु

२. असमर्थ भएर पनि क्रोधित हुनु

कस्ता मानिसले शोभा पाउन सक्दैनन् ?

द्वावेव न विराजेते विपरीतेन कर्मणा ।

गृहस्थश्च निरारम्भः कार्यवांश्चैव भिक्षुकः ।।

यी दुई किसिमका मानिस आफ्नो कामको कारण शोभा पाउन सक्दैनन् –

१. आलसी वा अकर्मण्य गृहस्थ

२. प्रपञ्च गर्ने सन्यासी

कसले स्वर्गभन्दा पनि ठूलो स्थान पाउँछन् ?

द्वाविमौ पुरुषौ राजन्स्वर्गस्य परि तिष्ठतः ।

प्रभुश्च क्षमया युक्तो दरिद्रश्च प्रदानवान् ।।

यो संसारमा स्वर्गभन्दा पनि माथिल्लो पद पाउने यी दुई प्रकारका मानिस हुन्छन् –

१. शाक्तिशाली भएर पनि क्षमा गर्ने

२. निर्धन र गरीब भएर पनि दान गर्ने

धनको दुई दुरुपयोग

न्यायागतस्य द्रव्यस्य बोद्धव्यौ द्वावतिक्रमौ ।

अपात्रे प्रतिपत्तिश्च पात्रे चाप्रतिपादनम् ।।

न्यायपूर्वक कमाइएको धनको दुई किसिमको दुरुपयोग हुन सक्छ–

१. कुपात्रलाई दिनु

२. सत्पात्रलाई नदिनु

कस्ता मानिसलाई उच्च गति प्राप्त हुन्छ ?

द्वाविमौ पुरुषव्याघ्र सुर्यमण्डलभेदिनौ ।

परिव्राड्योगयुक्तश्च रणे चाभिमुखो हतः ।।

यी दुई प्रकारका पुरुष सूर्यमण्डललाई पनि तोडेर सर्वोच्च गति प्राप्त गर्छन् –

१. योगयुक्त सन्यासी र

२. युद्धमा बहादुरीसँग लडेर वीरगति पाउने योद्धा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment