Comments Add Comment

बुटवलका सडकमा छरियो चार लाख ६८ हजार लिटर किटनाशक

२३ चैत, बुटवल । कोरोना भाइरस (कोभिड-१९)को रोकथामका लागि बुटवलका सडकहरुमा ‘क्लोरिन’ र ‘ब्लिचिङ पाउडर’सहितको किटनाशक छर्किएको छ ।

उपमहानगरपालिकाले नगरभित्रका बाइपास सडकमा क्लोरिन झोल र ब्लिचिङ पाउडर मिश्रति औषधि छरिएको हो । ब्लिचिङ पाउडर र क्लोरिन झोलयुक्त विषादीलाई मानव स्वास्थ्यमा असर नपर्ने भन्दै विज्ञहरूले सिफारिस गरेका थिए ।

नगरवासीलाई लकडाउनको पालना गर्न सार्वजनिक अपिल जारी गर्नुका साथै उपमहानगरपालिकाले नगरभित्र रहेका ३० फुटे सबै सडकमा ‘डिसइन्फेक्सन’ बनाउन लागेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

तीन दिनमा उपमहानगरपालिका भित्रका सबै सडकमा उक्त क्लोरिन छरेर सकिने र राहत वितरणसँगै सार्वजनिक अपिल पनि गरिने प्रमुख सुवेदीले बताए ।

सडक किनारमा टाँसिएर रहेका भाइरस मर्ने, किटाणु नाश हुने र सरसफाइमा समेत चासो बढ्ने विश्वास गरिएको छ ।

उपमहानगरले दमकल प्रयोग गरेर एकपटकमा ४५ सय लिटर औषधि छर्किरहेको छ । दमकलमा राखेर सडक र पेटीमा छर्किने र सँगसँगै सार्वजनिक सन्देश पनि प्रवाह गरिएको उपमहानगरका प्रेस सल्लाहकार अमृत गिरीले बताए ।

उपमहानगरपालिकाले विशेषज्ञको सिफारिसमा डिसइन्फेक्सनको झोल छर्किएको र सबै वडामा पुर्‍याइने बताएको छ । पहिलो चरणमा चार लाख ६८ हजार लिटर क्लोरिन छर्कने र अपुग भएको अवस्थामा थप क्लोरिन ल्याएर सडकमा छरिसरहेको जनाइएको छ ।

चिडिया चौकीदेखि योगिकुटी सिमानासम्म, मिलनचोकदेखि बाणिज्य क्याम्पस बेलबास पुलदेखि १४ नंं वडा कार्यालय, भुड्की चोकबाट बेसक्याम्प, कृषि उपज केन्द्रबाट योगिकुटी कालिकापथसम्म चरणबद्ध औषधि छर्किने काम भैरहेको छ ।

दोस्रोचरणमा नपुगेका अरु वडाहरुमा टोली परिचालन गरेर काम हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment