Comments Add Comment

बैङ्गलोरका नेपाली भन्छन्– खानै नपाएर मरिन्छ कि क्या हो

२४ चैत, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका– १, जनकपुरका राजु भट्ट सपरिवार भारतको कर्नाटक राज्यस्थित बैङ्गलोरमा छन् । दैनिक काम गरेर गुजारा गर्ने उनी कोरोना भाइरसको महामारीका कारण दुई सातादेखि कोठा बाहिर निस्किन पाएका छैनन् ।

उनले बैङ्गलोर शहरमै कोरोना संक्रमणबाट मानिसको ज्यान गएको सुनेपछि त्रसित बनेर कोठाभित्रै गुम्सिएर बसेको बताए । भारत सरकारले २१ दिनसम्म लकडाउन गरेपछि नेपालीहरु ठूलो समस्यामा परेको भट्टले बताए ।

‘लकडाउनको दुई सातामा धेरैको कोठामा खानेकुरा समेत सकिएको छ’, उनले अनलाइनखबरलाई टेलिफोनमा भने, ‘लकडाउनको समय थपियो भने के गर्ने केही थाहा छैन ।’

भट्टका अनुसार, बैङ्गलोरमा अधिकांश नेपाली स्थानीयको घर तथा होटलमा काम गर्छन् । उनीहरु सबै अहिले कामविहीन छन् । सबैलाई कोठा बाहिर ननिस्कन भनिएको छ ।

कैलालीकै गौरीगंगा नगरपालिका– ११ का हेमराज सापकोटाले गत महिनाको तलबले कोठामा जोहो गरेको खानेकुरा सकिन लागेको बताए । बैङ्गलोरमा एकपछि अर्काे संक्रमित भेटिएकाले अवस्था डरलाग्दो बनेको उनले बताए । ‘बिरामी हुँदा उपचार गर्न बाहिर जान सकिने अवस्था छैन’, उनले भने, ‘सामान्य रुघाखोकी लाग्दा पनि कोरोनाको डर हुन्छ । सबै बन्धक जस्तो बनेर बसिरहेका छौं ।’

दैलेख दुल्लु नगरपालिका धामी गाउँका माधवप्रसाद पाण्डेयले आफू काम गर्ने होटल बन्द भएपछि अब के खाएर बस्ने भन्ने समस्या उब्जिएको बताए । ‘यहाँ तीन महिना लकडाउन हुने हल्ला छ’, उनले टेलिफोनमा भनेका छन्, ‘त्यस्तो भयो भने त कोरोनाले होइन, भोकैले मर्ने अवस्था आउँछ होला ।’

कञ्चनपुरको बेलौरी नगरपालिका–४, शान्तिपुरका हरिप्रसाद अधिकारीका अनुसार, बैङ्गलोरको महादेवपुरा, कागदासपुरा, इन्द्रानगर र मार्थली क्षेत्रमा बढी नेपाली छन् । पूर्व सूचनाबिना एकाएक लकडाउन हुँदा घर फर्कन नपाई सबै कोठा–कोठामा थुनिएको उनले बताए । लकडाउन लम्बियो भने नेपालीहरुको स्थिति भयावह हुनसक्ने अधिकारीले चिन्ता व्यक्त गरे । उनका अनुसार, दैनिक ज्यालादारी कामबाट गुजारा चलाइरहेका नेपालीहरु यसबाट बढी समस्यामा पर्ने देखिएको छ ।

प्रवासी नेपाली संघ, कर्नाटक राज्य समितिले अप्ठ्यारोमा परेकाहरुलाई राहत वितरण गरिरहेको छ । तर, सबै ठाउँ पुग्न कठिन भइरहेको अध्यक्ष रामचन्द्र भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment