
२६ चैत, वीरगञ्ज । कोरोना भाइरस संक्रमितको उपचारका लागि पर्साका निजी अस्पतालले आइसोलेसन सञ्चालन गर्ने भने पनि त्यो घोषणाामै सीमित भएको छ ।
नेसनल मेडिकल कलेजले ५० बेड तथा बयोधा अस्पतालले ४ बेडको आइसोलेसन वार्ड स्थापना गर्ने प्रतिबद्धता यसअघि व्यक्त गरेका थिए । तर दुवै अस्पतालले आइसोलेसन वार्ड सञ्चालनमा ल्याउन सकेका छैनन् ।
स्वास्थ्यकर्मीहरूका लागि पीपीईलगायत सुरक्षा सामग्री नभएको बहाना बनाउँदै पूर्वप्रतिबद्धताबाट पछि हटेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
निजी अस्पतालले आइसोलेसन वार्ड सञ्चालनमा नल्याएपछि नारायणी अस्पतालकै आइसोलेसन विस्तार गरिएको छ । नारायणी अस्पतालमा शुरुमा ५ बेडको आइसोलेशन वार्ड स्थापना गरिएकोमा अहिले बेड विस्तार गरी २५ बेडको बनाइएको छ ।
आइसोलेशन वार्ड तथा क्वारेन्टाइनमा रहेकामध्ये कोभिड १९ संक्रमणकोे आशंकामा ५० जना व्यक्तिहरुको थ्रोट स्वाब परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको नारायणी अस्पतालले जनाएको छ ।
अस्पतालमा हाल पीपीई ४० सेट मौज्दात रहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले २५० थान पीपीई खरिद गरेको सहायक प्रजिअ बस्नेतले बताए ।
सेनिटाइजर, मास्क, साबुनलगायतका अन्य सामग्रीहरु आवश्यकतानुसार खरिद गरी व्यवस्थापन गर्ने समितिले जनाएको छ ।
तर नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अन्सारी अस्पतालको एउटा विल्डिङ नै खाली गरिएको बताउँछन् । आवश्यक पर्दा जस्तोसुकै सहयोग गर्ने उनको वचन छ ।
एम्बुलेन्स तयार
कोरोना त्रासपछि एम्बुलेन्सहरूले बिरामी नबोकेका घटना सार्वजनिक भइरहेका छन् । पर्साकै ठोरी गाउँपालिकाले संक्रमणको आशंकामा एक व्यक्तिलाई टिपरमा राखेर वीरगञ्ज पठाएको थियो ।
यहीबीच, यहाँका नारायणी अस्पताल र आशाराम हस्पिटलले एक/एक वटा एम्बुलेन्सलाई कोरोना संक्रमित बिरामीका लागि उपयुक्त हुने एम्बुलेन्स तयारी अवस्थामा राखिएको सहायक प्रजिअ बस्नेतले बताए । त्यसबाहेक प्रशासनले आफ्नो क्षेत्रमा सञ्चालित २८ एम्बुलेन्सको विवरण तयार गरी बेवसाइटमार्फत सार्वजनिक गरेको छ ।
प्रतिक्रिया 4