Comments Add Comment

वीरगञ्जमा कोरोना विशेष अस्पताल नबन्ने संकेत

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल । यहाँ एउटामात्र भेन्टिलेटर सुविधा छ ।

१ बैशाख, वीरगञ्ज । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोभिड–१९ को संक्रमण देखिएपछि वीरगञ्जमा कोरोना अस्पतालको आवश्यकता झन् खड्किएको छ । तर, वीरगञ्जमा कोरोना संक्रमितको उपचार गर्ने विशेष अस्पताल तत्काल बन्ने संकेत देखिएको छैन ।

देशको मुख्य प्रवेशद्वार वीरगञ्जमा कोरोना विशेष अस्पतालको माग पहिलेदेखि नै हुँदै आएको हो । तर प्रदेश २ सरकारले बाराको कलैयास्थित जिल्ला अस्पताल र महोत्तरीको जलेश्वर स्थित जिल्ला अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।

वीरगञ्जमा कोरोना अस्पताल बनाउन पहल गर्दै आएकाहरु प्रदेश सरकारले सहयोग नगरेको गुनासो गर्दछन् । वीरगञ्ज महानगरपालिकाका सल्लाहकार गोविन्द देवकोटा गण्डकस्थित वीरगञ्ज हेल्थ केयर अस्पताललाई भाडामा लिएर कोरोना अस्पताल बनाउने विषय करिब–करिब टुंगोमा पुगे पनि प्रदेश सरकारले सहयोग नगरेकाले पछि हट्नुपरेको बताउँछन् ।

वीरगञ्जमा एक मात्र सरकारी नारायणी उपक्षेत्रीय अस्पताल हो । यहाँ एउटा मात्रै भेन्टिलेटर सुविधा छ भने कोरानाका सम्भावित विरामीलाई राख्न भनेर २५ वटा आइसोलेसन वार्ड बनाइएको छ । तर यतिले मात्र नपुग्ने वीरगञ्जबासीको भनाइ छ ।

मेयर विजय सरावगी भन्छन्– वीरगञ्ज जोखिममा छ, यहाँ कोभिड अस्पताल आवश्यक छ भनेर कराइरहेको छु, तर केन्द्र र प्रदेश सरकार कसैले पनि सुनिरहेको छैन ।

त्यसैले वीरगञ्जको नारायणी अस्पतालका चिकित्सकले नै आकस्मिक बैठक बसेर कोभिड अस्पतालको माग राखेका थिए । जनस्तरबाट पनि वीरगञ्जमा कोरोना अस्पताल आवश्यक देखिएको आवाज उठेको थियो । त्यसपछि वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले कोरोना विशेष अस्पताल सञ्चालनको विषयमा वीरगञ्ज हेल्थ केयर अस्पतालका पदाधिकारी र सरोकारवाला पक्षसँग छलफल चलाएका थिए । सो छलफलमा तीन महिनाका लागि हेल्थ केयरलाई भाडामा लिएर कोरोना विशेष अस्पताल सन्चालन गर्ने किसिमले छलफल भएको थियो ।

तर प्रदेश सरकारले तत्काल निजी अस्पताल भाडामा लिएर कोरोना अस्पताल सन्चालन गर्न नसक्ने जानकारी गराएको छ । प्रदेश सरकारको यो कदमले वीरगञ्जमा तत्काल कोरोना अस्पताल सञ्चालन नहुने संकेत गरेको छ ।

‘मुलुक लकडाउनमा गएपछि सबैभन्दा जोखिमयुक्त क्षेत्र भएका कारण कोरोना विशेष अस्पताल, आईसोलेसन, क्वारेन्टिनको समेत ब्यवस्था मिलाउनु पर्ने थियो । तीन जनामा कोरोना संक्रमित भेटिएको अवस्थामा समेत कोरोना विशेष अस्पताल संचालन नगर्नुले स्वास्थ्यकर्मी अप्ठ्यारोमा पर्न थालेका छन्,’ वीरगञ्ज महानगरपालिकाका सल्लाहकार देवकोटाले भने, ‘प्रमुख जिल्ला अधिकारी, नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायसहित सुरक्षा निकायका प्रमुखको उपस्थितिमा वीरगञ्ज हेल्थ केयर भाडामा लिएरै भए पनि कोरोना अस्पताल सञ्चालन गर्ने तयारी भएको थियो । तर प्रदेश सरकारको मौखिक आदेशपछि कार्यान्वयन नहुने भएको छ ।’

शुरुमा प्रमुख जिल्ला अधिकारी र महानगरपालिकाका नगर प्रमुखलाई आपसी समन्वयमा कोरोना विशेष अस्पतालका लागि तयारी गर्न प्रदेश २ का मुख्यमन्त्रीले नै आग्रह गरेको देवकोटा बताउँछन् ।

वीरगञ्ज हेल्थ केयर अस्पतालका अध्यक्ष डा अबुलहैस अन्सारीले कोरोना विशेष अस्पताल बनाउनेबारे छलफल भएको, तर कसले स्वीकृति दिने भन्ने बारेमा अलमल भएको महसुस आफूले गरेको बताए ।

‘नारायणी अस्पताललाई नै कोरोना विशेष अस्पताल बनाएर त्यहाँका अन्य विरामीको उपचार र अन्य स्वास्थ्य सेवा हेल्थ केयरबाट सरकारी दरमै उपचार गराउन सकिन्छ वा अस्पताललाई नै कोरोना अस्पताल पनि बनाउन सकिन्छ कि ? भन्ने बारेमा छलफल भएको हो,’ अन्सारीले भने, ‘कोरोना विशेष सेवाका लागि अस्पताल दिँदा १ सय ९५ जना कर्मचारीको उचित व्यवस्थापन र मेशिन उपकरणको सञ्चालन खर्च मागेको हुँ । प्रदेश सरकारले कलैयालाई कोभिड अस्पताल बनाउने निर्णय गरिसकेको, केन्द्रले कुनै सहयोग नगरेको र वीरगञ्ज एक्लैले गर्न नसक्ने हुँदा निर्णयमा पुग्न नसकेको आभास मैले गरेको छु ।’

उनले आवश्यक परेको खण्डमा अस्पतालले भेन्टिलेटर लगायत आवश्यक उपकरण उपलब्ध गराउन सक्ने समेत बताए ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वीरगञ्जमा कोभिड अस्पताल र पिसिआर मेशिन उपलब्ध गराइदिनू भनी निर्णय गरेर पठाएको जानकारी दिए ।

‘वीरगञ्ज जोखिममा छ, यहाँ कोभिड अस्पताल आवश्यक छ भनेर कराइरहेको छु । तर केन्द्र र प्रदेश सरकार कसैले पनि सुनिरहेको छैन,’ मेयर सरावगीले भने, ‘कोभिड अस्पताल स्थापना र पिसिआर मेशिन उपलब्ध गराइदिनू भनी निर्णय गरेर पठाएका छौं ।’

प्रदेश सरकारले बाराको कलैया अस्पताल र महोत्तरीको जलेश्वर अस्पताल दुई ठाउँमा कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । उनले कलैयामा सबै सुविधा रहेको भन्दै वीरगञ्जमा कोरोना विशेष अस्पताल नबन्ने संकेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment