Comments Add Comment

वैंशालु मौसम र बकुल्लाको स्वच्छन्द मधुमास

वसन्त ऋतुको यो मोहक मौसम । अरुबेला जस्तो काठमाडौंको आकास धुलो र धुँवाका कणहरुले उकुसमुकुस हुँदो हो त यहाँ विचरण गर्ने चराचुरुङ्गीको यौवना यसरी फक्रने थिएन होला ।

तर, ३० लाख हाराहारी जनसंख्यालाई थेगेको यो शहर अहिले आफ्नै लयमा सुस्ताउन पाएको छ । यहाँको माटो अन्नबाली र रंगबिरंगी फूलहरुले हराभरा छ । खोलानाला गतिशील छ । वायुमण्डलमा स्वच्छ हावा वहकिएको छ । त्यसैले त यहाँ आश्रय लिइरहेका चराचुरुंगीको खुसी फर्किएको छ ।

यो वैंशालु मौसममा चराचुरुंगीहरु मधुमासको मुडमा देखिन्छन् ।

चराचुरुंगीको निम्ति मैथुनिक समय हो, वसन्त ऋतु । कतै मिलीजुली गुड बनाउन व्यस्त, कतै प्रेमलापमा मग्न, कतै उन्मुक्त संसर्गमा मस्त । मान्छेले जस्तो प्रकृतिको नियमलाई उल्लंघन गर्दैनन् यिनीहरु । मौसमी चक्र अनुसार नै आफ्नो जीवनको लय मिलाउँछन् ।

रुख–बुट्यानले कलिलो पाउलो फेर्दै गरेको, पानीको कणहरुसँगै बत्तिने हावामा फूलहरु बयेली खेलिरहेको यो मादक मौसम चराचुरुंगीका लागि निकै रोमाञ्चक हुनेगर्छ । यिनीहरु एकअर्कालाई आकर्षित गर्न अनेक हाउभाउ गर्छन् । पखेंटा फिँजाएर नाच्छन्, बेग्लै स्वर निकालेर गाउँछन् । प्रेमलापमा रमाउँछन् ।

भनिन्छ, कुनै बखत काठमडौं चराचुरुंगीको सुरक्षित र न्यानो आश्रयस्थल थियो । खेती–किसानीमै जीवन खोज्ने यहाँका बासिन्दासँग चराचुरुंगीको अनौठो मित्रता पनि थियो । घर बनाउँदा चराचुरुंगीका लागि गुँड बनाउने ठाउँ राखिदिने, खेत–आँगनमा चारो छरिदिने गर्थे । भँगेरा, गौथली, परेवालाई सहकाल ल्याउने चराचुरंगीको रुपमा स्नेह गर्थे र आश्रय दिन्थे ।
समयक्रमसँगै काठमाडौंलाई मान्छेले यान्त्रिक शहर बनाइदिए । कलकारखाना, उद्योग, गाडी एवं भौतिक गतिविधीले यहाँको आकास कोलाहाल, दुर्गन्ध र प्रदूषणले भरियो । त्यसपछि यहाँका चराचुरुंगी संकटमा परे । धेरै भएको छैन, ३०–३५ वर्षको अवधीमा यो शहरबाट अनगिन्ती चराचुरुंगी अलप भए ।

लकडाउनको कारण यतिबेला भने काठमाडौंले भौतिक गतिविधिबाट विश्राम पाएको छ । यहाँको आकास खुलेको छ । प्रकृति हराभरा छ । त्यसैले त यहाँ चराचुरुंगी उन्मुक्त रमाइरहेका छन् । लाग्छ, वर्षौं–वर्षपछि यिनीहरुको खुसी फर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment