+
+
Shares

अन्तरजातीय प्रेम स्वीकार्ने आँट तपाईंसँग छ ?

डा. अच्युत शाली घिमिरे डा. अच्युत शाली घिमिरे
२०७७ जेठ १६ गते १८:१६

गत शनिबार घटेको एउटा कहालीलाग्दो घटनाले नेपाली समाज फेरि एकोचोटि तरङ्गित भएको छ। जाजरकोट भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विकले रुकुम पश्चिमको चौरजहारी नगरपालीरा-८, सोतीकी मल्ल थरकी युवतीसँग प्रेम गर्दा आज समाजले मृत्यु उपहार दिएको छ।

त्यतिमात्र होइन गाउँलेले लखेटेपछि घाइते भएर ज्यान बचाउन जाजरकोट र रुकुम पश्चिमको सीमामा पर्ने ठूलो भेरी नदीमा हाम फालेका छ जनामध्ये ५ जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन्।

दुलही ल्याउन साथीहरूसहित रुकुम पुग्दा लखेटीलखेटी निर्घात कुटपिट र नदीमा हाम फाल्न बाध्य बनाइएको उक्त घटना सुन्दै पनि आङ सिरिङ्ग हुन्छ। किन अझै पनि जातीयताको नाममा विभेद कायमै छ हाम्रो समाजमा ? के यस्ता घटनाले लामो संघर्ष र त्यागपछि स्थापित गरिएको भनिएको लोकतन्त्र र राज्य व्यवस्थालाई गिज्याउँदैन ?

अहिले नेपालको राज्य संरचनागत ढंगले व्याख्या गर्ने हो भने आरक्षण र हक अधिकार सुनिश्चितताको ग्यारेन्टी संविधानले गरेको छ।आयोगहरु विभेद अन्त्य गर्ने तात्पर्यद्वारा नै खोलिएका छन्। तर पनि समाजमा घरीघरी देखिने यस्ता घटनाले सामाजिक र मनोवैज्ञानिक दृष्टिकोणले जातीय भेदभाव हट्न नसकेको पुष्टि गर्छ।

समाजको अभिन्न अङ्ग बनेर जोडिएका हुन्छन् मानिसले गर्ने संस्कारहरू। विवाह एउटा संस्कार हो र प्रेम त्यसअघिको एक चरण हो । तर, समाजले कस्तो प्रश्न उठाउला भन्ने डर र त्रासकै कारण परापूर्वकालदेखि चली आएको सीमारेखा नाघेर निर्णय गर्ने क्षमता हामी कसैमा रहँदैन । त्यसैले जातीय भेदभाव उन्मूलनमा समाजका नेताहरू सधै‌ं आशावादी भइदिन्छन् । तर, जब आफूले जीवनमा कार्यान्वयन गर्नुपर्छ, अनि उनीहरू अनभिज्ञ हुन्छन्। यो भेदभावको युद्धमा शब्दहरू मात्र खर्चिन्छन्, व्यावहारिक पक्ष जहाँको त्यही हुन्छ । यो रोग हो समाजको । आज किटाणुले समाजको एउटा अङ्ग मात्र दूषित पारेको छ भनेर हामी चोखो बस्नु कदाचित मुनासिव देखिँदैन । भोलि आफैँलाई नष्ट बनाउँछ अनि समाजको बन्धुत्व खुम्चिन्छ।त्यसैले दलितहरू हेपिँदा गैरदलितहरूले आवाज उठाउनु नै आजको युगको वैज्ञानिक समाजवादको परिकल्पना हो।

पाण्डित्य दर्शनका ठेली बुन्दैमा दुनियाँ बद्लिँदैन। न त सदियौंदेखि जरा गाडदै आएको जातीय छुवाछुतले हार मान्छ। हाम्रो समाजमा विवेकशील भनिएका मानिसहरू छन् । तर, उनीहरू मार्गप्रदर्शक नभई आफैँ भुलभुलैयाको विशालतामा फसिरहेछन्। मानिसले नयाँ चिज सिक्ने संस्थाहरूमा विभेदरहित विकासशील सौन्दर्य पस्किन सक्दैनन्।

प्रेम निश्छल हुन्छ, सोझो हुन्छ। कुन जात, धर्म देश र परिस्थिति यसले बुझ्दैन । प्रेमको धर्म नै आफ्नो हृदयभित्र लुकेको भावलाई धारण गर्नु हो। यसलाई अन्तरजातीय भनेर व्याख्या गर्नु-गरिनु निरर्थक छ। आखिर यो जातिभन्दा पनि माथि छ। एउटा फूल फुलाउने ध्येयका साथ प्रेम गरिनु तर जातीयताको विभेद सिर्जना गरेर त्यही प्रेमको बीजलाई नै हिंसा र नाशको कारक तत्व बनाइनु अति नै निन्दनीय छ। प्रेममा सहानुभूति बोल्छ, कुनै प्रभावमा पर्दैन, अनि स-सानो कुरामा वियोगिन्छ। सायद प्रेमको स्वभाव नै यस्तै हुन्छ। यस्ले आपसमा लड्ने भिड्ने कुनै देश हेर्दैन, उचो-निचो कुनै जात हेर्दैन। कुन भगवान मान्ने नमान्ने धर्म हेर्दैन,धनी गरिब पैसाको थुप्रो हेर्दैन। लागिरहन्छ एउटा माया गर्ने मुटुले अर्को मुटुको दुरी घटाउन।

प्रेम निश्छल हुन्छ सोझो हुन्छ। कुन जात, धर्म देश र परिस्थिति यस्ले बुझ्दैन । प्रेमको धर्म नै आफ्नो हृदयभित्र लुकेको भावलाई धारण गर्नु हो। यसलाई अन्तरजातीय भनेर व्याख्या गर्नु -गरिनु निरर्थक छ, आखिर यो जातिभन्दा पनि माथि छ।

सायद यही प्रयास न थियो नवराज विकको। जो लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेर सदाका लागि एक हुन चाहन्थेँ । तर, समाजको तँगारोले सबै सपना तहसनहस पारिदियो । अनि मृत्यु स्वीकार गर्न विवश पारिदियो । संसारका हरेक क्रूर चिजहरूलाई मुस्कानले जित्ने दावाका साथ जातीय विभेदविरुद्ध प्रेमको हतियारले युद्ध लड्ने नवराजको आँट र अठोटलाई पनि तहसनहस पारिदियो। खै कसले रोक्छ अब यो घृणाहरूलाई,जोडिन नसक्ने नाताहरूलाई, क्षणक्षणमा धर्म बिर्साउने विभेदहरूलाई ? को आउँछ अर्को नवराज बनेर यो धर्तीमा ? कतिको बलिदानी पछि अन्त्य हुन्छ यो विभेद ?

रुकुम घटना सदियौंदेखि जातीय आधारमा दलितमाथि हुँदै आएको भेदभावको प्रतिनिधि घटना मात्र हो। यहाँ हरेक वर्ष दलितका आवाजहरु निमिट्यान्न पार्न पुरै राज्य संयन्त्र नै अप्रत्यक्ष रुपमा संलग्न भएको देख्न सकिन्छ। छुवाछुत र जातीय भेदभावका मुद्दाहरु गाँउघरका पधेंरोदेखि शहरका बन्द कोठाहरुसम्म ब्याप्त छन्।

कथित उपल्लो जातका भनिएकाहरुले दलित समुदायकी किशोरीलाई बलात्कार गर्दा समाजका भलाद्मीहरूले आममाफी दिने र घटनालाई सामसुम पार्नेदेखि बोक्सीको आरोपमा मलमूत्र खुवाएर असहाय अबोध दलित महिलालाई गाउँ निकाला गर्नेसम्मका घटनाहरू जीवितै छन् समाजमा।

अन्तरजातीय प्रेम गर्दा समाजले स्वीकार गर्न नसक्नु त सामान्य भएको छ । तर, आफ्नो कुल कथित उपल्लो जातको हुँदा अनेक लाञ्छना लाएर प्रेमको बन्धन तोड्न खोज्नु र सामाजिक हेयभावका साथ अमानवीय दण्ड दिनु समाजको नियति नै भएको छ।

मन्दिर पस्न नपाएका, दलित भएकै कारण सहरमा कोठा नपाएका, निजी तथा सरकारी कार्यालयमा दलितप्रति नकारात्मक दृष्टिकोण राखिएका,चुलोचौका र इनारमा भेदभाव गरिएका,अन्तरजातीय विवाहपश्चात पनि घरका सासु-ससुराले मानसिक एवं शारीरिक रुपमा तनाव दिएका, पारिवारिक भेटघाट एवं रीतिरिवाजहरूमा छुट्टै राखिएका, मानवीय संवेदना ख्याल नगरी अनेकौं अपशब्द प्रयोग गरिएका, समाजका सभाभेला बैठकहरूमा दलित समुदायको अवमूल्यन गरिएका, बाटोमा दलित समुदायहरू हिँड्दा, देख्दा, भेट्दा छुँदा अनेकौं कुतर्क एवं गालीगलौज सहनु परेका आदि समस्याहरू उदाहरण मात्र हुन्।

यस्ता भईपरी आउने घटनाहरूमा सहरमा विभेदको व्यापार गर्ने संघ संस्थाहरू, उपल्लो जाति भनिएकाहरूको भोटको भारी बोकेका पार्टीहरू ‘यो त अपराधिक एवं जातीय विभेदको पराकाष्ठा नै हो’ भन्दै विज्ञप्तिबाजी गर्न तछाडमछाड गर्छन् । तर घटनाको निष्पक्ष छानबिन र अनुसन्धानमा सहयोग गर्न सक्दैनन् । यहाँ पीडकहरू संरक्षणमा बाँचिरहन्छन्। तर, पीडित पक्ष एकोहोरो बोल्न बाध्य हुन्छ। यो मुद्दा दर्ता गर्न यसलाई सही छिनोफानोमा टुङ्ग्याउन हाम्रो राज्य संयन्त्र कति संवेदनशील छ भन्नेमा पनि भर पर्छ। उचित राहत तथा क्षतिपूर्तिले क्षणिकताका लागि त्यो पीडितको जीवनयापनलाई सजिलो बनाउला तर हामीले कल्पना गर्दै आएको समाजवाद उन्मुख समतामूलक राष्ट्र निर्माणका लागि यो रोगलाई जरैबाट निर्मूल पार्नुपर्छ।

देशको कानुनहरू विवेक सम्पन्न छन् । संविधानका कतिपय धाराहरूले भेदभाव उन्मूलनको नीतिगत गणितीय व्याख्या गर्छन् । तर, समाजको अँध्यारो भित्रभित्रै झाङ्गिँदैछ। मलाई  छुवाछुत कसुर ऐनहरू, समानताका हकहरू  मात्र कोरा कागजका झारा टार्ने बहाना हुन् जस्तो मात्र लाग्छ। यहाँ पीडित पक्षको सामाजिक उत्थान र व्यावहारिक उत्तरदायित्वमा न सरकारको भूमिका देखिन्छ, न कानुनको। सायद विभेदरहित यस्तो समाजको चित्र कोर्ने कलाकार नै जन्मिएको छैन । जहाँ दुई अन्तरजातीय प्रेमील जोडी अँगालो मार्दा पूर्वबाट घाम झुल्किएको होस्।

समाजका अणुअणुमा विभेदलाई आश्रय दिने यन्त्रहरू जीवित छन् । यस्तै विभेदको ऐठन परेको हाम्रो स्कुले शिक्षा लिने कक्षा कोठामा एउटै बेन्चमा बस्न तल्लो जात भनिएको साथी अझै पनि डर मान्छ। प्रेम पलाउँछ र हुर्किन्छ भन्नु त एउटा अपवाद हो तर हुर्किए कै रहेछन् भने पनि नवराज विकका कारुणिक कथाहरूले मनमनै तुहाउन बाध्य बनाउँछन् । हामी लाचार छौं र लाचार रहन्छौं । घरघरबाट विभेद अन्त्य गर्ने अभिरुचि हाम्रो छैन अनि हाम्रा नेताहरूलाई यस्तै अन्धविश्वास र नाटीकुटीका मुद्दाहरूमा राज गर्दैमा फुर्सद छैन।

हाम्रो समाजले जबर्जस्ती खान्दानी कुल घरानको केटा-केटीसँग प्रेम वा विवाह गर्नुपर्ने सीमाहरू कोरिदिएका छन्। उपल्लो भनिएको ब्राह्मण समुदायभित्रै पनि उपाध्याय र जैसीको खोल रचिएका छन्। विभेद पढाउनलाई घरघरमा विश्वविद्यालय खडा गरिएका छन्।

कुल, गोत्र र सामाजिक प्रतिष्ठा नै मानवताभन्दा ठूलो हो भन्ने कुरा घोकाउन घरमै शिक्षकहरू खडा गरिएका छन्। आखिर जति नै मुक्तिमोर्चा, आन्दोलनहरू रचे पनि के नै हुने रहेछ र ? दुई चारजना अग्रपङ्क्तिका सांसद होलान् । मन्त्री होलान् देश विदेश घुम्लान् ,सेमिनार र र्‍याली गर्लान् तर तात्त्विक फरक केही पनि देखिँदैन । जति नै आरक्षण लगाइए पनि दलितभित्रकै धनी वर्ग पहुँचमा पुग्ने तर गरिब वर्ग सधैं निमुखो भइराख्ने हाम्रो परिपाटी बनिसकेको छ । अब  संकुचित मनोवृत्तिमा नै सकारात्मक परिवर्तन आएर व्यवहारमा देखिनु पर्ने जरुरी छ। फेसबुकमा चिल्ला कुरा गरेर मात्र पुग्दैन ।

छोरोछोरीको अन्तरजातीय प्रेम छ भने सहजै स्वीकार गर्ने आँट पनि अभिभावकमा चाहिन्छ। हाम्रा दोषी चस्माहरू बदलिऊन् अनि संस्कारहरू जञ्जीर नबनून्। प्राकृत रुपमा खुल्ला आकाशमा विचरण गर्न दिऔं सबैले प्रेमील जोडीहरूलाई । प्रेम गर्न पाउने त आखिर जन्मसिद्ध अधिकार होइन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?