Comments Add Comment

एकैदिन २८८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २००० नाघ्यो

२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार सबैभन्दा धेरै संक्रमित रौतहटमा ७४ जना थपिएका छन् ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । परोहा, गौर, राजदेवी नगरपालिका र यमुनामाई गाउँपालिका उनीहरु ८ वर्षीया बालिकासहित १३ देखि ६० वर्षका पुरुष छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा रौतहट ३६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु परोहा, राजदेवी नगरपालिका र दुर्गाभगवती गाउँपालिकाको क्वारेन्टिनमा छन् र १२ देखि ४८ वर्षका पुरुष हुन् ।

यसैगरी सर्लाहीका २१ मा संक्रमण पुष्टि भएको छ । बलरा नगरपालिका र ब्रम्हपुरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका उनीहरु १३ देखि ४० वर्षका पुरुष हुन् ।

सिराहाका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका उनीहरु १६ देखि ४२ वर्षका छन् ।

धनुषामा ६ जना र महोत्तरीमा दुई जना संक्रमित थपिएका छन् । यस्तै सप्तरी रामघटका २० वर्षीय पुरुष र बारा देवतालका १८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

केएमसीका स्वास्थ्यकर्मी पनि संक्रमित

काठमाडौंमा चार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित कोभिड अस्तालमा कार्यरत दुई महिला र एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरकी नर्समा पनि संक्रमित भएका छन् ।

यस्तै भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको छ । उनी चाँगुनारायण नगरपालिका–३ का ३० वर्षीय महिला हुन् । परोपकार प्रसुती अस्पतालमा उपचाररत धादिङ घर भएकी २३ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नुवाकोटमा पनि दुई संक्रामित थपिएका छन् । म्यागङका उनीहरु १७ र ३२ वर्षका पुरुष हुन् ।

बाँके र दाङमा १७, कपिलवस्तुमा १६ थपिए

बाँकेमा १७ जना कोरोना संक्रमित थपिएका छन् । खजुरा, नरैनापुर, राप्ती सोनारी गाउँपालिकाका उनीहरु १७ देखि ४५ वर्षका पुरुष हुन् । बर्दियामा ३ जनामा संक्रमित थपिएका हुन् ।

बर्दियामा तीन जना संक्रमित थपिएका छन् । उनीहरु गुलरियामा उनीहरु २० देखि ३४ वर्षका पुरुष हुन् ।

यस्तै कपिलवस्तुमा १६ जना संक्रमित थपिएका छन् । उनीहरु सबै चन्द्रौटाका हुन् । संक्रमित हुनेमा १९ देखि २८ वर्षका ३ महिला र १७ देखि ४१ पुरुष छन् ।

रुपन्देहीमा १० जना संक्रमित थपिएका छन् । सैनामैनाका उनीहरु १५ देखि ५१ वर्षका छन् ।

दाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु घोराही उपमहानगरपालिका, बगलाचुरी र राप्ती, गाउँपालिकाका हुन् । संक्रमित हुनेमा १८ देखि ४५ तीन महिला छन् भने बाँकी ५५ वर्षसम्मका पुरुष छन् ।

प्युठानमा एक जना संक्रमित भेटिएका छन् । उनी स्वर्गद्वारी नगरपालिका ६५ वर्षीय पुरुष पुरुष हुन् । यसैगरी नवलपरासी पूर्व, बुलिङटारका १६ वर्षीय, नवलपरासी पश्चिम, रामग्रामका २२ वर्षीय परुषमा पनि संक्रमण पुष्टि भएको छ ।

स्याङ्जा ५ जनामा संक्रमण पुष्टि भएको छ । चापाकोटको क्वारेन्टिनमा रहेका उनीहरु १० देखि ४० वर्ष उमेरका हुन् । पर्वतको फलेवासस्थित क्वारेन्टिनमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १९ देखि ४० वर्षका छन् ।

सुर्खेतमा २७ संक्रमित थपिए

सुर्खेतमा थप २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु वीरेन्द्रनगर, लेकवेशी, पञ्चपुरी र भेरी गंगाका हुन् । संक्रमित हुनेमा ८ वर्षीया बालिकासहित ३ महिला छन् भने ४ वर्षीय बालकसहित ६१ वर्षका २४ पुरुष छन् ।

यस्तै दैलेख ९ जना संक्रमित थपिएका छन् । नारायण नगरपालिका, चामुण्डा नगरपालिका र नौमुले गाउँपालिकाका उनीहरु १७ देखि ३१ वर्ष उमेरका पुरुष हुन् ।

यसैगरी सल्यानमा थप १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । वनगाड कुपिण्डे नगरपालिका र दार्मा गाउँपालिकाका उनीहरु १७ देखि ५० वर्ष पुरुष हुन् ।

कैलालीमा १० जना थपिए

कैलालीका १० जनाको रिपोर्ट पोजेटिभ आएको छ । टीकापुर नगरपालिका र गौरीगंगा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका उनीहरु १६ देखि ६३ वर्षका छन् । यस्तै कञ्चनपुरमा ८ जना संक्रमित थपिएका छन् । कञ्चनपुर नगरपालिका, पुनर्वासको क्वारेन्टाइनमा रहेका उनीहरु २८ देखि ५० वर्षका छन् ।

अछाम १० जना संक्रमित थपिएका छन् । उनीहरु मंगलसेन नगरपालिका र चौरपाटीका संक्रमितहरु हुन् ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ९९ पुगेको छ । उनीहरु मध्ये ८ जनाको मृत्यु भएको छ भने २६६ जना कोरोना निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment