
२६ असार, काठमाडौं । दक्षिण कोरियाको राजधानी सहर सोलका मेयर पार्क वोन सून मृत अवस्थामा फेला परेका छन् । बिहीबारदेखि नै उनी बेपत्ता थिए । उनकी छोरीका अनुसार घर छाड्नुभन्दा पहिला उनले एक सन्देश छाडेका थिए । यो सन्देशले एक सन्देह उत्पन्न भएको थियो ।
पार्क सूनको शव उत्तरी सोलको माउन्ट बुगाकमा फेला परेको थियो । यो क्षेत्रमा नै उनको फोनको अन्तिम सिग्नल देखिएको थियो । अहिलेसम्म मृत्युको विषयमा केही पनि बताइएको छैन । समाचार एजेन्सी योन्हापका अनुसार अहिले उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।
पार्क सूनले अन्तिममा एक नोट पनि लेखेका थिए । यो नोटमा लेखिएको छ – म सबैसँग माफी माग्न चाहन्छु । मेरो जीवनमा जसले मेरो साथ दिए सबैलाई धन्यवाद दिन चाहन्छु ।
उनी बेपत्ता हुनुभन्दा पहिला एक महिला कर्मचारीले उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दायर गरेकी थिइन् । तर, उनको मृत्युको घटनासँग यसको सम्बन्ध रहेको वा नरहेको भन्ने पुष्टि भने भएको छैन ।
प्रहरीका अनुसार बिहीबार अन्तिमपटक उनलाई एक जंगली क्षेत्रमा प्रवेश गर्दै गरेको सेक्युरिटी क्यामेरामा देखिएको छ । करिब ६ सय प्रहरीले उनको खोजी गरेका थिए । उनको खोजीको लागि ड्रोन र कुकुरहरुको प्रयोग गरिएको थियो ।
सन् २०११ मा सोलको मेयर निर्वाचित भएका पार्क सोल गत वर्ष आफ्नो तेस्रो र अन्तिम कार्यकालका लागि चुनिएका थिए । उनलाई सन् २०२२ को राष्ट्रपत निर्वाचनको लागि सम्भावित उम्मेदवार मानिएको थियो ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4