Comments Add Comment

लिदीवासीलाई स्थानान्तरण गर्न समिति गठन

५ भदौ, काठमाडौं । गत हप्ताको पहिरोमा परेर ठूलो जनधनको क्षति भएको सिन्धुपाल्चोकको लिदीवासीलाई स्थानान्तरण गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन भएको छ ।

समितिमा सम्बन्धित स्थानीय तहको प्रमुख वा अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सेना, प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख, पुनर्निर्माण प्राधिकरणका जिल्ला प्रमुख र जिल्लास्थित वन, भू तथा जलाधार, भवन, नापी कार्यालयका प्रमुख सदस्य रहने गरी समिति गठन भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

गत शुक्रबार आएको पहिरोमा परेर जुगल गाउँपालिकाको लिदीका ३८ जना बेपत्ता भएका थिए । उनीहरू मध्ये अधिकांशको शव फेला परिसकेको छ । लिदीसँगै जोखिममा रहेका जुगलकै थोल्दे र नाम्फाको वस्ती पनि पालिकाकै सुरक्षित स्थानमा सार्न पहल र पैरवी गर्ने जिम्मेवारी समितिले पाएको छ ।

बाह्रविसे नगरपालिकाको युगाङवस्तीका ६५ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सिफारिस र समन्वय गर्ने जिम्मा पनि यही समितिलाई दिइएको छ ।

सिन्धुपाल्चोक भित्रका पालिकाहरूलाई जोखिमयुक्त वस्तीहरूको यथार्थ विवरण तीन दिनभित्र जिल्ला विपद् व्यवस्थापन समितिमा बुझाउन निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment