Comments Add Comment

फर्केला असन, इन्द्रचोक र महावौद्धको व्यापार ?

व्यापारी भन्छन् : अब पहिलेजस्तो व्यापार कहिल्यै नहुन सक्छ

२५ असोज, काठमाडौं । धादिङका बैकुण्ठ दाहालले काठमाडौंको इन्द्रचोकमा होलसेल पसल चलाएको १५ वर्ष भयो । उनको पसलमा मुख्यतः पुरुष फेसनका सामग्री पाइन्छ ।

कोभिड– १९ ले ग्राहक नभएका कारण यो वर्ष दसैँको मुखमा असन–इन्द्रचोक र महाबौद्ध क्षेत्रका अरु व्यापारी जस्तै दाहाल पनि ‘फुर्सदमा’ देखिन्छन् ।

‘पहिलो त, कोभिडले गर्दा ग्राहक बजार आएनन्’, उनी भन्छन्, ‘त्यसमाथि असन, इन्द्रचोक र महाबौद्धको विकल्प बजार पनि तयार भइसक्यो ।’ पछिल्ला वर्षहरुको दसैँ हेर्दा किनमेलका लागि काठमाडौंमा अनशन, इन्द्रचोकमा जस्तै सामान पाइने अरु बजार तयार भएको उनको भनाइ छ ।

३५ वर्षदेखि असनमा खाद्य किरानाको होलसेल पसल चलाइरहेकी सीता श्रेष्ठ पनि असन–इन्द्रचोकमा चहल पहल घटेको अनुभव सुनाउँछिन् । अन्यत्र होलसेल खुलेपछि मानिसहरु बढी भिडभाड हुने भित्री सहर नपसेको हुनसक्ने उनको आंकलन छ । उनी भन्छिन्, ‘पछिल्लो तीन–चार वर्षयता हामीकहाँ ग्राहक घट्दै गएका छन् ।’
असन–इन्द्रचोकको चहलपहल घटेको अर्का होलसेल व्यवसायी सागर घिमिरेको पनि अनुभव छ ।

मुलुकको संघीय संरचनासंगै व्यापार पनि विकेन्द्रित भएको उनी बताउँछन् । ‘कुनै बेला असन, इन्द्रचोक र महाबौद्ध निर्विकल्प बजार थियो, तर अहिले देशका सबै ठूला सहरमा यहाँका जस्ता होलसेल पसलहरु खुलेका छन्’, उनी भन्छन्, ‘उतैका व्यापारीले चिनियाँ बजारसम्म पहुँच बनाएका छन् ।’

इन्द्रचोक र महाबौद्ध छाड्यौँ

पुरुष लत्ता कपडाको होलसेल व्यवसायी तथा आयातकर्ता शिव शर्माले यसपालि रञ्जना सपिङ सेन्टरसँग आफ्नो पसल सम्झौता नवीकरण गरेनन् । २७ वर्षदेखि काठमाडौंमा फेन्सी व्यवसाय गरिरहेका उनी जन्मथलोमै व्यापार गर्नेगरी यो साल पोखरा फर्किए ।

शर्माको तारा इन्टरनेसनलले अब चीनलगायत मुलुकबाट तयारी लत्ताकपडा आयात गरेर पोखरामै व्यापार जमाउनेछ । कम्पनीको पहिलो बजार कास्की, स्याङ्जा, बागलुङ, पर्वत लगायत जिल्ला हुनेछ ।

कंलकी खसीबजारमा बनेको नयाँ ब्यापारिक मलमा जमुना भण्डारीले किङ्स फेन्सी नामको नयाँ होलसेल पसल भर्खरै खोलिन् । महाबौद्ध, इन्द्रचोक र न्युरोडको अस्तव्यस्तता भन्दा कंलकी ठीक लागेको उनी बताउँछिन् ।

पार्किङको झमेलाबाट जोगिन पनि उनका लागि कलंकी सही ठाउँ बन्न पुग्यो । ‘काठमाडौं बाहिरबाट आउने ग्राहकका लागि यही एउटा कारणले पनि कलंकी बढी सुविधाजनक भयो’, भण्डारी भन्छिन्, ‘फेरि सबै खालका होलसेल पसलहरु नारायणगढ, बिर्तामोड, बुटवल, पोखरा, इटहरी, धनगढी जस्ता बजारमा पुगिसके ।’

देशभर विकल्प

साँघुरो इन्द्रचोक र महाबौद्धका होलसेल पसलहरुमा पट्यार लाग्दो पार्किङ र अस्तव्यस्त भिड प्रमुख समस्या भएको नेपालगञ्जका व्यापारी पदम श्रेष्ठ बताउँछन् ।

‘आधा घण्टा टाढा गाडी पार्किङ गरेर हिँडेर बजार पस्नुपर्छ, त्यो पनि एउटा होइन सिंगो असन, महाबौद्ध र इन्द्रचोक,’ उनी भन्छन्, ‘अन्य ठाउँमा सहज विकल्प पाए कोही त्यस्तो भिडमा पस्दैन ।’

महाबौद्धमा महिला फेन्सीको होलसेल पसल चलाएका स्वरुप खड्का होलसेल व्यापार बढी जनघनत्व भएका जिल्ला सदरमुकामहरुमा पुगिसकेको बताउँछन् । ‘जिल्लाका खुद्रा व्यापारीहरु काठमाडौं आउन छाडिसके भन्दा हुन्छ’, उनी भन्छन्, ‘यहाँ त महँगो भाडाको सटर रुँगेर बस्न पर्ने दिन आइसक्यो ।’

असन, इन्द्रचोक र महाबौद्धका होलसेल पसलहरु अब उपत्यका वरपरका खुद्रा व्यापारीहरुका लागि मात्र हुने उनले बताए ।

भूकम्पपछि बजार सार्ने चलखेल

कुनै जमानामा खाजाका लागि चर्चित महाबौद्ध क्षेत्र चिनियाँ सामान नेपालमा खुल्ला भएपछि फस्टाएको काठमाडौं महानगरपालिकाका वडा नम्बर २७ का अध्यक्ष चिनियाँमान बज्राचार्य बताउँछन् ।

२०७२ को महाभूकम्पपछि यहाँको बजार उठाउन केही गिरोह सक्रिय भएको महाबौद्धका यी रैथानेको आरोप छ । ‘मोफसलमा व्यवसाय फस्टाउनु राम्रो हो तर असन, इन्द्रचोक र महाबौद्धको साखः खोस्छु भन्दै यहाँको बजार बिगार्न छुट कसैलाई छैन,’ उनी भन्छन् ।

यद्यपी, बजार बढ्ने वा सुक्ने कुरा उपभोक्तामा भर पर्ने उनी स्वीकार गर्छन् । वडा अध्यक्ष बज्राचार्य भन्छन्, ‘उपभोक्ताको सुविधाका लागि पार्किङ र सार्वजनिक ट्वाइलेटको समस्या हटाउन हामी काम गरिरहेका छौं ।’

राष्ट्रिय व्यापार संघका अध्यक्ष कमल अग्रवाल भने कोभिडका कारण मात्र बजार सुस्ताएको बताउँछन् । ‘बजार देशभर फैलिए पनि यहाँको सन्नाटा अल्पकालीन हो’, उनी भन्छन्, ‘कोभिड सकिएपछि असन, इन्द्रचोक र महाबौद्ध पुरानो माहोलमा फर्किन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment