उठ !
उठ ! शान्ति
नउठेमा तिमी, उठेकाहरुले तिमीलाई
कुल्चेर, मिचेर, घायल पारेर
तानशाही कक्षमा कस्ने छन् ।
तिमी शोषित र पीडित हुनेछौं ।
केवल आफ्नै कुरूप विचारहरूबाट ।
शान्तिको कण्टकाकीर्ण मार्गमा
तिम्रो, मेरो अनि हाम्रो
नराम्रो पराजयको कथालाई
उत्कृष्ट कथाको प्लट बनाई
यथार्थवादी कथाकार बन्नेछन् ।

हाम्रो दयनीय वृतान्तद्वारा
मान्छे एक-एक सम्भ्रान्त र प्रख्यात कलाकार बन्नेछन् ।
तिमी कलमद्वारा सञ्चालित पात्र मात्र होइनौं ।
त्यसैले,
भातृत्व र सद्भावको तिलक लगाएर,
आत्माहुति दिने प्रतिज्ञा गर ।
बलिदान होइन, आत्मादान हो शान्ति ।
उदात्त भावनाको मण्डपमा बसी
शान्ति महायज्ञमा आहुति हुनुपर्छ ।
तिम्रो काय केवल कात्रोको प्रदर्शनी हुँदैछ ।
तिम्रो खुट्टा कसैको जुत्ता बेच्ने माध्यम बन्दैछ ।
सार्वभौम, स्वाधीनता र राष्ट्रियता अंकित
एक झण्डाको एक छहारीमा बस ।
चन्द्र र सूर्यको छहारीमा ।
सूर्य र चन्द्रको छहारीमा ।।
हामीलाई विषरहित सर्प, बिच्छी र भ्यागुताको सद्भाव होइन ।
हामीलाई लिलिपुट र गुलिभरको सम्बन्ध होइन ।
शान्ति र सद्भाव पूर्ण रेश्मी, ताप चाहिन्छ ।
मानवता, सद्भाव र एकताको एक महत्व छ ।
सद्भावले आप्लावित मस्तिष्कले भन्छ–
‘शान्ति सिद्धान्त होइन अनुभूति हो ।
सद्भाव कृत्रिम सहज भावना होइन, व्यवहार हो
एकता गुच्छा र मालामात्र होइन, पवित्र उद्यान हो ।’
उद्देश्यहीन स्वरूपको काय नेताको हुइँया र भाषणको ताली
गरिबीलाई सलामी बन्छ ।
भौतिकवाद उडेको मानव तिमी ?
शान्ति इतिहासको श्रृफला हो ।
सपूतको मरणमा आफ्नो जीवन खोज ?
सिञ्चित गरी जन्मभूमिमा मानवता, शान्ति र
सद्भाव फुलाऊ ।
शाकाहारी पशुझैं हरिया डलरका पछि नलाग ।
स्यालझैं ¥याल काढेर समृद्धिका पछि नलाग ।
खुट्टा काटेर स्टिलका वैशाखी टेक्दै छौ तिमी ।
मस्तिष्क बन्दकी राखी दासतामा नाच्दैछौ तिमी ।
चक्षु बेचेर अलिशान महलमा आसन बस्दैछौं तिमी ।
हिमशिरको शान्त ललाट, अदम्य सहासले गिज्याएको
जस्तो लाग्दैन तिमीलाई ?
अञ्जान डाँफेको नाँचले व्युँझाएन तिमीलाई ?
स्वाभिमानी कल्की झुकाएर आफ्नै छाती ढुम्दा झस्काएन
तिमीलाई ?
नाँचिरहेको मयुरमा लेकबाट बाघ गर्जदा झंकार उत्पन्न हुनुपर्छ ।
विविधताको माझमा निःसृत अभिन्तता पूर्ण
शान्ति, सद्भाव र एकता जाग्नुपर्छ ।
शान्ति, सद्भाव एकता जाग्नुपर्छ ।