Comments Add Comment

चिनी उद्योगी खोजी गरिदिन गृहलाई उद्योग मन्त्रालयको पत्राचार

किसानले अझै पाएनन् ५८ करोड भुक्तानी

१९, कात्तिक, काठमाडौं । उखु किसानको बक्यौता नतिर्ने उद्योगी खोजी गरिदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

गत वर्ष माघ १८ मा उखु किसानसंग भएको सम्झौता बमोजिम किसानलाई रकम भुक्तानी गरेको विवरण नबुझाउने उद्योगी खोजिदिन उद्योगले गृहसँग सहयोग मागेको हो ।

मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले भनिन् ‘ केही उद्योगीले किसानलाई पैसा दिएको र केहीले पैसा दिन बाँकी रहेको बुझिएको छ । किसानलाई भएको भुक्तानीको सबै विवरण पनि हामीलाई प्राप्त भएको छैन, त्यसैले उद्योगीलाई बोलाइएको हो ।’

मन्त्रालयका अनुसार अन्नपूर्ण, इन्दिरा, महालक्ष्मी र श्रीराम सुगर मिलका सञ्चालकलाई सम्पर्कमा ल्याइदिन उद्योग मन्त्रालयले पत्राचार गरेको हो ।

कति छ उखु किसानले भुक्तानी पाउन ?

किसानले गत वर्ष पुसमा काठमाडौंमा गरेको लामो आन्दोलनपछि उद्योगीबाट किसानले लिन बाँकी रकम उठाइदिने सहमति उद्योग मन्त्रालयले गरेको थियो । पुस १८ गते उद्योगीले मन्त्रालयमा गरेको प्रतिबद्धताअनुसार माघ ७ गतेसम्म उद्योगीले सबै बक्यौता रकम किसानलाई तिर्नुपर्ने थियो ।

मन्त्रालयले किसानसंग गरेको सहमतिअनुसार माघ ६ गतेसम्म महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख, अन्नपूर्णले ३ करोड ९० लाख र इन्दिरा सुगर मिलले ७४ लाख रुपैयाँ भुक्तानी गरेको विवरण मन्त्रालयसंग छ ।

इन्दिरा र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल हुन् भने महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनोडिया हुन् । उक्त भुक्तानीपछि इन्दिरा र अन्नपूर्णले किसानलाई २१ करोड ३८ लाख तथा महालक्ष्मी सुगर मिलले १० करोड ९० लाख रुपैयाँ र गोल्छा समूहले सञ्चालन गरेको श्रीराम सुगर मिलले २७ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

के भन्छन् उद्योगी ?

सरकारसंग भएको सहमतिपछि लकडाउन अवधिमा पनि १७ करोड रुपैयाँ किसानलाई भुक्तानी गरिएको अन्नपूर्ण र इन्दिरा सुगर मिलको दाबी छ । ‘सरकारले बैंक खाता रोकिदिएको, मिलमा रहेको चिनी तथा मौलासिस बिक्री गर्न नपाएको भएपनि सकेजति भुक्तानी गरिरहेको छु,’ मिल सञ्चालक राकेश अग्रवालले भने ।

लकडाउनले सबै व्यवसायमा असर पर्दा पनि दसैँअघि एक करोड रुपैयाँ किसानलाई भुक्तानी गरेको, तिहारअघि दुई करोड रुपैयाँ भुक्तानी पठाउने तयारी गरिरहेको अग्रवालले बताए । आफू उद्योग मन्त्रालय र मातहतका मन्त्रीसंग सम्पर्कमै रहेको भन्दै उनले गृहलाई पत्र लेख्ने काम गलत भएको धारणा राखे ।

यता महालक्ष्मी सुगर मिलले पनि किसानको सबै बक्यौता तिरेको जनाएको छ । किसानको बाँकी ११ करोड रुपैयाँ बक्यौता तिरेर मिल पुनः सञ्चालनका लागि मर्मत गरिरहेको उद्योगले जनाएको छ । जग्गा बिक्री गरेर किसानको भुक्तानी तिर्छु भनेको श्रीराम सुगर मिलको वक्यौता भने जस्ताको त्यस्तै छ । किसानलाई तिर्न बाँकी २७ करोड रुपैयाँ बक्यौतामा कुनै घटबढ भएको छैन ।

सरकारले ढाँट्यो

किसानको आन्दोलनपछि सुरुआती दिनमा केही उद्योगीले तालिका बनाएर बक्यौता रकम तिरेपनि विस्तारै उद्योगीहरु किसानको सम्पर्कबाट टाढिएका उखु उत्पादक महासंघ नेपालले जनाएको छ । ‘उद्योगीहरु किसानको सम्पर्कमा छैनन्, बक्यौता जस्ताको त्यस्तै छ जस्तो लाग्छ’ अध्यक्ष कपिलमुनि मैनालीले भने ।

महालक्ष्मी र अन्नपूर्ण चिनी मिल यस सिजनमा सञ्चालनका लागि मर्मत भइरहेको जानकारी किसानले पाएको पनि उनले बताए । किसानले सबै भन्दा धेरै रकम पाउन श्रीराम सुगर मिलबाट रहेको र उसको बक्यौतामा खासै प्रगति नभएको मैनालीले बताए । पुसको चिसोमा काठमाडौंमा आन्दोलन गरेका किसानलाई जसरी पनि पैसा दिलाई दिन्छु भनी गरेको बाचा सरकारले पूरा नगरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment