Comments Add Comment

ट्राफिक प्रमुखको दिनचर्या : कहिले सार्वजनिक गाडीमा, कहिले चेक प्वाइन्टमा

घडीको काटा जस्तै एकनासले गतिशिल छ, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको दैनिकी । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेदेखि उनले आफ्नो शब्दकोशबाट आरम र विश्राम त्यागेका छन् । र, अठार घण्टा आफ्नो कामको पहरेदारी गरिरहेका छन् ।

बिहान सबेरै उठ्नु, नित्य कर्म सक्नु, कार्यथलोमा हाजिर हुनु, आफु मातहातका सहकर्मीसँग कामको समीक्षा गर्नु, आवश्यक योजना तय गर्नु, कार्यक्षेत्रमा खटिनु, कार्यथलो फर्किएर दिनभरको कामको विवरण हेर्नु, सवारी जाम एवं दुर्घटनाबारे अपडेट रहनु उनका दिनचर्याभित्र समेटिने कुरा हुन् । बिहान सूर्योदयअघि सुरु हुने दैनिकी राती १०–११ बजेसम्म थाँती रहन्छ ।

बिहान साढे ४ बजे ओछ्यान छाड्छन् । फ्रेस हुन्छन् । काठमाडौंमा मिर्मिरे उज्यालो हुन नपाउँदै प्रातकालिन भ्रमणमा निस्कन्छन् । बिगतमा ब्याडमिन्टन खेल्थे । अहिले त्यस्तो अनुकुलता छैन । योग–ध्यान गर्ने बानी पनि छुटेको छ । एक–डेढ घण्टा मस्त हिँडेपछि समग्र शरीरको समूचित व्यायाम हुन्छ । त्यसपछि कार्यथलोमा आएर नास्ता गर्छन् । नास्तामा सातु वा यस्तै हल्का र सुपाच्य खानेकुरा हुन्छ । सकेसम्म रैथाने र अग्र्यानिक खानेकुरा रुचाउँछन् ।

नास्तापछि कार्यथलोमा हाजिर हुन्छन् । अघिल्लो दिनका कामका समीक्षा गर्छन् । आफु मातहातका अधिकारीहरुसँग नयाँ कार्ययोजना तय गर्छन् । र, सबैलाई आ–आफ्नो काममा खटाउँछन् । बाँकी रणनीतिक योजना तय गर्ने, भेटघाट गर्ने कामसँगै दिउसोको खाना खान्छन् । दिउसोको खाना सामान्य दालभात नै हो । उनलाई मासु वा मसलेदार खानाप्रति उस्तो आशक्ति छैन । सामान्य दाल, भात, तरकारी भए मनग्ये हुन्छ ।

साँझ उनी विभिन्न चेक प्वाइन्ट पुगेर त्यहाको वस्तुस्थिती अवलोकन गर्छन् । आवश्यक काम–कारवाहीका लागि अह«ाई–खटाइ गर्छन् ।

साँझको खानामा रोटी हुन्छ । दाल, भात खाँदैनन् । हल्का र सुपाच्य खानेकुरा खाएपछि उनी केही क्षण आफ्नै काममा तल्लिन हुन्छन् । राती ११–१२ बजेसम्म यो क्रम निरन्तर जारी रहन्छ । त्यसपछि मात्र उनी सुत्छन् । यद्यपि सुत्न पनि ढुक्कले पाइन्न । राती कहाँ, के हुने हो ? चनाखो हुनुपर्छ । दुर्घटना वा सडकमा आइपर्ने यस्तै समस्याहरुले उनलाई आरमसाथ सुत्न दिदैन ।

‘तर, आफ्नो ड्युटीको कारण मलाई कहिल्यै झर्को लाग्ने वा तनाव हुने भएको छैन’ उनी भन्छन्, ‘काममै रमाउने बानी परेछ ।’

यति धपेडीपूर्ण दैनिकीबाट उम्किएर उनी कहिले काहीँ घर पुग्छन् । परिवारसँग भलाकुसारी गर्छन् । अझ फुर्सद मिलेमा परिवारलाई लिएर बेपर्वाह यात्रा गर्छन् । खासगरी पुरातात्विक महत्व भएका, ऐतिहासिक स्थानहरुले उनलाई आकर्षित गर्छ । ‘मलाई यात्रा गर्न औधी रुची लाग्छ’ ढकाल भन्छन्, ‘लामो यात्रामा निस्कदा बेग्लै किसिमको ताजापन महसुष गर्छु ।’

मनोरञ्जनमा अरु खास दिलचस्पी छैन । बिगतमा सिनेमा हेर्थे, अहिले त्यो बानी पनि छुट्यो । त्यसैले अहिले रमाइलो भनेकै काममा हो, त्यसपछि पारिवारिक भेटघाटमा, त्यसपछि यात्रामा ।

यद्यपि पछिल्लो समय भने रमाइलो गर्ने फुर्सद दुर्लभ बन्दैछ । जिम्मेवारी थपिएसँगै उनले आफु र परिवारको समय कटौती गरेका छन् ।

जब यात्रु बनेर सर्वजनिक यातायतमा चढे

बेलामौकामा यात्रु वा सेवाग्रहीले फोन गर्छन् र दुखेसो पोख्छन् । फलानो गाडीको सिटमा किला थियो, फलानो गाडी बढी फोहोर र दुर्गन्धित भयो । यस्तै गुनासो आइरहेपछि उनी एकदिन यात्रु बनेर सार्वजनिक यातायातमा चढे । त्यहाँको भद्रगोल स्थिति देखेपछि लाग्यो, खास समस्य त सर्वसाधरणले भोगिरहेका रहेछन् ।

गाडीको सिट फोहोर र दुर्गन्धित छ, च्यातिएको छ, साँघुरो छ, झ्यालको शिशा फुटेको छ, यात्रु खचाखच कोचेको छ, आफुखुसी भाडा असुलेको छ । आफु स्वयम्ले भोगेपछि उनले यातायात व्यवसायीहरुलाई बोलाएर आवश्यक सुधारका लागि पहल गरे । ‘सार्वजनिक यातायातमा यात्रुले सहज रुपमा, सौहाद्र्धपूर्ण ढंगले यात्रा गर्न पाउनुपर्छ’ उनी भन्छन्, ‘आरक्षित सीटमा सम्बन्धित यात्रुलाई मात्र राख्ने, गाडी सफा र सहज बनाउने, सहचालकको व्यवहार यात्रुमैत्री हुनुपर्छ ।’

त्यसो त यात्रुहरु पनि आफै सचेत हुनुपर्ने र सडक अनुशासन पालाना गर्नुपर्ने उनको धारणा छ । त्यसैले त बेलाबखत उनी सडकमा निस्किएर यात्रुलाई सही ढंगले बाटो कट्न, जेब्रा क्रस वा आकासे पुलको प्रयोग गर्न प्रेरित गरिरहेका हुन्छन् ।

ट्राफिक व्यवस्थापनलाई डिजिटलाइज्ड

सार्वजनिक यातायातलाई यात्रुमैत्री बनाउने, सडक जाम व्यवस्थापन गर्ने, सवारी दुर्घटना न्युनिकरण गर्ने, सडक नियम कडाईसाथ पालना गराउने पूर्ववत् कामहरु एकातिर छँदैछ, त्यससँगै ट्राफिक व्यवस्थापनलाई समय सापेक्ष बनाउँदै कम जनशक्ति र श्रममा वैज्ञानिक ढंगले काम गर्न विशेष कार्ययोजना तय गरेका छन्, उनले । यस अन्र्तगत शहरका ठाउँ–ठाउँमा रहेका ट्राफिक बत्ती पुर्नप्रयोगमा ल्याइएको छ । अनलाइनबाटै सडक अनुशासनको निगरानी गर्ने र आवश्यक कारबाही गर्ने क्रम पनि सुरु भएको छ ।

कुनैपनि गाडीले सडक अनुशासन उल्लंघन गरेको अवस्थामा सो सिसिटिभीमार्फत कैद गरेर कारबारी गर्ने प्रणाली प्रयोगमा आइसकेको छ । ‘अब सडकमा उभिएर ट्राफिक प्रहरीले कारबाही गर्ने क्रम विस्तारै घटाइनेछ’ ढकाल सुनाउँछन् ।

त्यसो त कोभिडको कारण भिडभाड गर्न नहुने भएकाले महानगरिय ट्राफिक प्रहरी कार्यलयबाट हुने कतिपय काम–कारबाही अनलाइनबाटै हुने व्यवस्था गरिदैछ । चाहे जरिवाना शुल्क भुक्तान गर्न होस् वा अन्य कुनै सेवा लिनका लागि कार्यलय धाइरहनुपर्दैन, सबै काम अनलाइनबाटै फत्ते गर्न सकिनेछ ।

खासगरी काठमाडौंको सडकमा गुडने गाडीको अनुपातमा त्यसलाई नियन्त्रण÷निगरानी गर्ने ट्राफिक प्रहरीको संख्या न्युन छ । त्यसैले ट्राफिक व्यवस्थापनमा प्रविधिको साहारा लिनुपर्ने अपरिहार्य भइसकेको छ । ढकाल अहिले यही काममा केन्द्रित छन् ।

त्यसो त उनको कार्यकालयता धेरै सुधारका प्रयास भएका छन् ।

अग्रपंक्तिमा ट्राफिक प्रहरी

कोभिड यता सडकमा गाडीको चाप पातलिएको छ । तर, संवेदनशिलता र भूमिका बढेको छ । वैश्विक व्यधिले गाँजिरहेको यो घडीमा ट्राफिक प्रहरी फ्रन्टलाइनमा खटिएका छन् । त्यसैले यतिबेला सडक जाम हटाउन र दुर्घटनाको जोखिम कम गर्न मात्र होइन, यात्रुहरुको व्यक्तिगत सुरक्षामा समेत निगरानी गर्नुपर्ने हुन्छ । अग्रपंक्तिमा उभिएर आफु सुरक्षित रहँदै सुरक्षित यात्राको बन्दोबस्ती मिलाउन सोचेजस्तो सजिलो छैन ।

यसरी बढेको भूमिकासँगै ट्राफिक प्रमुख भीमप्रसाद ढकालले आफ्नो गतिलाई अरु तिब्रता दिनुपर्ने अवस्था छ । विगतमा थाँती रहेका समस्याहरुलाई सल्टाउनुपर्ने जिम्मेवारी एकातिर छ, अर्कोतिर वर्तमान प्रतिकुलतालाई छिचोल्नुपर्ने चुनौती पनि छ ।

चाडपर्वको बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने र कोरोना संक्रमणको जोखिम अरु भयावह हुने कुरामा पनि ट्राफिक प्रहरी चनाखो रहनुपर्ने बेला छ । उनी भन्छन्, ‘हामीले आफ्नो रणनीति र कार्यशैली केही बदल्नुपरेको छ । विगतमा जस्तो मापसे जाँच गर्न, कक्षा सञ्चालन गर्न वा सेवाग्राहीको यहाँ भिड गराउन संभव छैन । यस्तो अवस्थामा कसरी हाम्रो सेवा प्रभावकारी, छरितो र सुरक्षित बनाउने भन्ने कुरा अहिलेको खास आवश्यक्ता हो ।’

जनचेतनाका लागि

जाम, अस्तव्यस्त पार्किङ, दुर्घटना आदिमा सवारी चालकदेखि सडकमा आउजाउ गर्ने पैदल यात्रीसम्म जिम्मेवार हुन्छन् । यदि सबैले सडक अनुशासन मात्र पालन गरिदिने हो भने पनि सडक यति भद्रगोल हुँदैन । सडक अनुशासन पालना गर्नु भनेको प्रथमत आफैमा यसको व्यवहारिक ज्ञान हुनुपनि हो ।

ढकाल यस्तै कार्ययोजना बनाएर अहिले अगाडि बढेका छन्, जसले जनचेतना अभिवृद्धि गरोस् । यसैका लागि ठाउँ–ठाउँमा डमी ट्राफिक प्रहरी राख्नेदेखि चर्चित कलाकारहरुको स्वरमा सन्देशमुलक गीत सुनाउने व्यवस्था गरिएको छ । ‘सडकमा हिँड्ने सबैलाई सडक अनुशासनबारे जानकारी हुनुपर्छ’ ढकाल भन्छन्, ‘त्यसैले उनीहरुसम्म यस सम्बन्धी जनचेतना जगाउने विभिन्न उपाय खोजिदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment