Comments Add Comment

चालु खाता फेरि घाटामा, अर्थतन्त्रलाई कस्तो असर पर्ला ?

फाइल तस्वीर

५ माघ, काठमाडौं । चालु खाता सधैं जसो घाटामा रहने गरेकोमा कोरोना महामारीपछि अवस्था फरक बन्यो । गत आर्थिक वर्षको अन्त्यसम्म पनि देशमा चालु खाता घाटामै थियो । चालु आर्थिक वर्षको सुरुवाती अवस्थादेखि भने चालु खातामा सुधार भएको देखिएको थियो ।

चालु आवको पहिलो महिना साउनदेखि नै बचतमा गएको चालु खाता आर्थिक वर्षको पहिलो चौमास अर्थात कात्तिक मसान्तसम्ममा पनि बचतमै थियो । मंसिर मसान्त्सम्म आइपुग्दा भने चालु खाता पुनः घाटामा गएको नेपाल राष्ट्र बैंकको आर्थिक नीति तथा अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बताउछन् ।

उनका अनुसार मंसिर मसान्तसम्म चालु खाता २१ अर्ब ३२ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६५ अर्ब १३ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको राष्ट्र बैंकले बताएको छ ।

पछिल्लो ५ महिनाको अवस्था

गत आर्थिक वर्ष २०७६/०७७ मा चालु खाता घाटा ८७.९ प्रतिशतले घटेर ३२ अर्ब ६ करोड रुपैयाँ कायम भएको थियो । अघिल्लो वर्ष यस्तो घाटा २ खर्ब ६५ अर्ब ३६ करोड थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३५ करोड रहेको चालु खाता घाटा समीक्षा वर्षमा ३२ करोड ६० लाख छ । चालु आवको साउनमा चालु खाता २५ अर्ब ४१ करोड रुपैयाँ बचतमा रह्यो । अमेरिकी डलरमा हेर्ने हो भने २१ करोड २१ लाखले बचतमा रहेको राष्ट्र बैंकले बताएको छ ।

दोस्रो महिनामा चालु खाता २६ अर्ब ७ करोडले बचतमा रहेको थियो भने तेस्रो महिना ३४ अर्ब ३६ करोडले बचतमा थियो । चौथो महिना अर्थात कात्तिक मसान्तसम्म चालु खाता २० अर्ब ४६ करोड रुपैयाँ बचतमा थियो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३४ अर्ब १२ करोड रुपैयाँ घाटामा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३० करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ८ लाखले बचतमा छ ।

देशभित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्राबीचको अन्तर चालु खाता हो । विदेशी मुद्रा धेरै भित्रने र कम बाहिरिने भयो भने बचतमा रहन्छ । यस विपरीत कम भित्रने र धेरै बाहिरिए घाटामा जान्छ ।

निश्चित समयावधिभित्र आवासीय र गैर–आवासीय व्यक्ति र संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारहरूको सारांश चालु खाता सन्तुलन हो । चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको बुझिन्छ ।

निर्यात, प्रत्यक्ष वैदेशिक लगानी, रेमिटेन्स आदीका रुपमा विदेशी मुद्रा भित्रिरहेको हुन्छ । त्यस्तै, पेट्रोलियम पदार्थ, यातायातका साधन, औद्योगिक सामग्री आदीको आयातमा विदेशी मुद्रा बाहिरीरहेको हुन्छ ।

चालु खाता घाटाका तीन कारण

अर्थविद डा. चन्द्रमणि अधिकारी चालु खाता अहिले घाटामा जानुको मूख्य तीन कारण रहेको बताउछन् । पहिलो– पर्यटक आवागमन ठप्प हुनु । कोरोना संक्रमण फैलन नदिन सरकारले ११ चैतमा लकडाउन गरेको सिधा असर नेपाल घुम्म आउने पर्यटक संख्यामा पर्यो । त्यसबाट पर्यटन आय पनि ठप्प भयो ।

दोस्रोमा विदेशबाट आउने अनुदान र तेस्रोमा निर्यात पनि घट्यो । यी कारणले पनि चालु खाता घाटामा गयो ।

लामो समयसम्मका लागि आएको पैसा पुँजीगत खातामा जान्छ । रेमिट्यान्स तथा पर्यटनबाट आएको पैसा भने चालु खातामा जान्छ । अर्थविद अधिकारीका अनुसार अहिले चालु खातामा धेरै योगदान रेमिट्यान्स कै छ ।

निर्यातबाट आएको पैसा पनि चालु खातामै जान्छ । प्रोजेक्ट चलाउन अनुदान आएको र बाहिर सेवा दिएर आएको पैसा पनि चालु खातामै जान्छ । आयात गर्ने पैसाको उपयोग चालु खाताबाटै हुन्छ ।

उपभोगका लागि मात्र आयात उच्च छ र चालु खाता घाटा बढेको छ भने चिन्ता लिनु पर्ने हुन्छ । चालु खाता घट्दै गयो भने वस्तु र सेवा आयात गर्ने पैसा घट्दै जाने अर्थविद अधिकारी बताउँछन् ।

आउने पैसा कम र जाने धेरै भयो भने घाटा हुन्छ । ‘विद्यार्थीलाई पठाउने रकम यसमै जान्छ’ अधिकारी भन्छन्, ‘पर्यटक आएनन्, अनुदान आउन सकेको छैन । निर्यात पनि बढ्न सकेको छैन । यसले गर्दा हाम्रो चालु खाता घाटामा गयो ।’

उनका अनुसार चालु खाता घाटा बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाव पर्छ । अहिले विदेशी मुद्रा सञ्चितिको अवस्था भने राम्रै छ । व्यापार व्यवसाय ठप्प हुँदा धेरै वस्तु आयात हुन पाएनन् । यसले गर्दा १४ महिना आयात धान्ने विदेशी विनिमय सञ्चिति छ ।

राष्ट्र बैंकका अनुसार, २०७७ असार मसान्त रहेको १४ खर्ब १ अर्ब ८४ करोड कुल विदेशी विनिमय सञ्चिति ५.२ प्रतिशत बढेर मसान्तमा १४ खर्ब ७४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

एलिजाको सुन्दरता

Advertisment