Comments Add Comment

प्रधानमन्त्रीले चुनाव गराउनका लागि संसद विघटन गरेका होइनन् : चित्रबहादुर केसी

फाइल तस्वीर

१९ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटन मध्यावधि चुनाव गराउनको निम्ति नभएको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाले सोमबार आयोजना गरेको संसद विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मध्यावधि चुनाव गराउनका लागि प्रधानमन्त्रीले संसद विघटन नगरेको जिकिर गरे ।

चुनाव गराउने समय नै नभएको भन्दै उनले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा भएको उनको भनाइ छ । नेपालमा स्थिर सरकार र पार्टीहरु नैतिकवान भएभने विदेशी शक्तिकेन्द्रहरुले हस्तक्षेप गर्न नसक्ने पनि उनको भनाइ छ ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधालाई विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीको प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको बताए । आफूहरुले संविधानको निर्माणकालमै संविधानको विरोधमा संविधान जलाएको भएपनि संविधानको रक्षाको निम्ति उभिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदम अलोकतान्त्रिक, अधिनायकवादी र असंवैधानिक भएको बताए । यसको परीक्षण गर्ने थलो अब अदालत भएकाले अदालतले यसको वैधानिकता, कानुनी पक्ष, औचित्य र सान्दर्भिकता सबै सर्वोच्च अदालतले निरुपण गर्ने उनको भनाइ छ ।

नेकपा प्रचण्ड–माधव समूहका नेता रामनारायण बिडारीले पार्टी सँगको झगडाका कारण प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको बताए । अविश्वासको प्रस्ताव आउने सम्भावनाको कारण विघटन गरिएको तर्क प्रधानमन्त्री ओलीले दिने गरेको भन्दै उनले प्रधानमन्त्री ओलीले फट्याइँ गरेको बताए ।

पूर्वसभामुख दमननाथ ढुंगानाले जनताको बलिदान र संघर्षको अपमान गर्ने राजनीतिक कदम अहिलेको प्रतिनिधि सभा विघटन भन्दा अर्को नभएको जिकिर गरे ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री ओलीलाई बहुमत, अल्पमतको कुनै अर्थ नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment