Comments Add Comment

प्रयोगशालाको लापरवाहीले कोरोना बिमा भुक्तानीमा समस्या : स्वास्थ्य मन्त्रालय

११ फागुन, काठमाडौं । सरकारले कोभिड-१९ परीक्षण गर्ने प्रयोगशालाको लापरबाहीले कोरोना बिमा गरेका संक्रमितले रकम पाउन नसकेको दावी गरेको छ ।

प्रयोगशालाहरुले कोरोना परीक्षणको नतिजा नेशनल टेस्टिङ गाइडलाइनले तोकेको ढाँचामा २४ घण्टाभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा पठाउनुपर्नेमा नपठाएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विवरण सही ढंगले नपठाउँदा बिमा दावी प्रमाणीकरणमा समस्या भएको मन्त्रालयका सहायक प्रवक्ता डा. समीरमणि अधिकारीले बताएका छन् ।

कोरोना बिमा रकम दावी गर्ने व्यक्ति संक्रमित भएका हुन् कि होइनन् भनी प्रमाणीकरण गर्न बिमा समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि सम्मिलित एक टोली गठन गरिएको छ । उक्त टोलीले कोरोना बिमा दावी गरेका विमितहरुको विवरण र मन्त्रालयसँग रहेको कोरोना संक्रमितको अभिलेख रुजु गर्ने काम गरिरहेको छ ।

रुजु गर्ने क्रममा पीसीआर परीक्षण गरिएको मिति भन्दा अगाडिकै मितिमा व्यक्ति संक्रमित भएको भनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इडीसीडीमा रिपोर्टिङ भएको पाइएको मन्त्रालयले जनाएको छ । सहप्रवक्ता अधिकारीले त्यस्तो विवरण भएका संक्रमितले बिमावापतको रकम नपाउने भनी मन्त्रालयको सचिवस्तरको बैठकले निर्णय गरेको बताएका छन् ।

मन्त्रालयले फागुन १० देखि अघि परीक्षण गरिएको तर तोकिएअनुसार पठाउन छुट भएका कोरोना संक्रमितको विवरण तोकिएकै ढाँचामा अनिवार्य रुपमा पठाउन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।

‘यसरी तोकिएबमोजिमको समयभित्र र ढाँचामा ती विवरणहरु उपलब्ध नभएमा कोरोना बिमा दावी प्रमाणीकरणका लागि अयोग्य ठहरिनेछन्’ सहप्रवक्ता डा. समीरमणि अधिकारीले जारी गरेको सूचनामा भनिएको छ ‘यसबाट विमित व्यक्तिहरुलाई पर्न जाने कठिनाइप्रति सम्बन्धित प्रयोगशालाहरु नै जिम्मेवार हुनुपर्नेछ ।’

मन्त्रालयले अबदेखि नियमित रुपमा तोकिएको ढाँचामा विवरण नपठाउने प्रयोगशालाको सम्बन्धन खारेज र नियमअनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

मन्त्रालयले कोरोना बिमा दावीका लागि प्रक्रियामा रहेका तथा प्रमाणीकरणका भएका विमितको विवरण स्पष्ट र बुझिने गरी नियमित रुपमा जानकारीका लागि सार्वजनिक गर्न पनि आग्रह गरेको छ ।

कोरोना बिमा दावी रकमको प्रमाणीकरण गर्ने टोलीले १८ हजार विवरण प्रमाणीकरणका लागि प्राप्त भएकामा १५ हजार जनाको प्रमाणीकरण गरिसकेको छ । तर कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको र कतिपयको परीक्षण मिति नमिलेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् मन्त्रालयको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment