Comments Add Comment

माधव नेपाल भन्छन् : सरकारका मान्छेले मसँग कुरै गर्‍या छैनन्

२६ फागुन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको सरकारका विषयमा आफूसँग कसैले कुरा नगरेको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारले उनलाई केपी ओली नेतृत्वको सरकार गिराउन एमालेभित्रैबाट लाग्नुभएको छ भन्ने आरोप छ नि ? भनी सोधेका थिए ।

जवाफमा उनले भने, ‘खै मलाई थाहा छैन । कसैले मलाई भन्न आएको पनि छैन ।’

वर्तमान सरकारको निरन्तरताको पक्षमा हुनुहुन्छ कि हुनुहुन्न ? भन्ने अर्को प्रश्नमा नेता नेपालले भने, ‘सरकारका मान्छेले म संग कुरै गर्‍या छैनन् ।’

तपाईंहरुकै सरकार होइन र ? भन्ने अर्को प्रश्नमा नेपालले जवाफ दिए, ‘खोइ त्यही भन्छन् ।’

बुधबार नै संसद भवन नयाँ वानेश्वरमा वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले ओली नेतृत्वको सरकार जोगाउन लाग्ने बताएका थिए ।

पत्रकारहरुले खनालको अभिव्यक्ति सुनाउँदै वरिष्ठ नेता नेपाललाई सोधे, ‘झलनाथ खनालले यही सरकार टिकाउन लाग्छौं भन्नुभएको छ नि ?

जवाफमा नेपालले भने, ‘अहिले म संग कसैले कुरै गरेको छैन, टिकाउने नटिकाउने भन्ने बारेमा ।’

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले प्रस्ताव आएपछि कुरा गर्ने जवाफ फर्काए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment