Comments Add Comment

बलात्कार आरोपी गाउँपालिका अध्यक्षको बन्दी प्रत्यक्षीकरण रिट खारेज

३० वैशाख, विराटनगर । उच्च अदालत विराटनगरले किशोरी बलात्कारको आरोप लागेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले दिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।

उनलाई रिहा गर्न माग गर्दै पीडित किशोरीकी आमाले नै उच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दयर गरेकी थिइन् । १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा गत वैशाख ८ गते इलाका प्रहरी कार्यालय धरानले गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गरेको थियो ।

धरानको डुकु होटलबाट पक्राउ परेका यादवलाई किशोरीकी आमाले दर्ता गरेको जाहेरीका आधारमा प्रहरीले बलात्कार मुद्दामा अनुसन्धान गरिरहेको थियो । तर पछि पीडित किशोरीकै आमाले आरोपीलाई छुटाउन माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दिएकी हुन् ।

बिहीबार उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश मिलनकुमार राईको इजलासले प्रतिवादी प्रहरीको न्यायिक हिरासतमा रहेकाले रिट खारेज गरिदिएको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।

गत वैशाख ८ गते इटहरी उपमहानगरपालिका– ४ कि किशोरीलाई जागिर दिने आशमा अध्यक्ष यादवले धरानको होटलमा पुर्‍याएर बलात्कार गरेका पीडित पक्षको आरोप छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले अनुसन्धान पूरा गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको बताए ।

बिहीबार उच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटमा बहस हुँदा आरोपी यादवको तर्फबाट अधिवक्ता रमेश प्रसाईं र विपक्षमा उच्च सरकारी वकिलको कार्यालयको तर्फबाट उपन्यायाधिवक्ता पुरुषोतम खतिवडाले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment