Comments Add Comment

प्रदेश २ मा विपक्षी दलद्वारा संसद बैठक अवरुद्ध

२५ जेठ, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलले अवरुद्ध गरेका छन् । प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक मंगलबार विपक्षी दलले अवरुद्ध गरेका हुन् ।

विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले छनौट गरेको भन्दै बैठक अवरुद्व गरेका हुन् ।

बैठक प्रारम्भ हुनासाथ नेकपा एमालेका सांसद सुन्दरबहादुर विकले सांसदको सिफारिस र परामर्शमा सशर्त अनुदान स्थानीय तहमा पठाउनुपर्नेमा मनोमानी तरिकाले पठाइएको बताए । उनले यो निर्णय नसच्याएसम्म बैठक अवरुद्ध रहने बताए ।

कांग्रेस सांसद वीरेन्द्रकुमार सिंहले मनोमानी तरिकाले सशर्त अनुदानको योजना छनौट गरेको भन्दै नसच्याएसम्म बैठक अवरुद्व गरिरहने बताए । नेकपा माओवादी केन्द्रका सांसद रामकुमार यादवले पनि यसलाई सच्याउनुपर्ने बताए ।

बैठक सुचारु राख्न सभामुख सरोजकुमार यादवले आग्रह गरे पनि नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले कम्तीमा यसको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने बताए ।

विपक्षी दल नमानेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् । प्रदेशमा पछिल्लो पटक कांग्रेस र माओवादीलाई पनि सरकारमा ल्याउने तयारी गरिएको छ । तर सशर्त अनुदानको योजनालाई लिएर विवाद देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment