+
+
Shares

इजलासमा भानुभक्त

भानु केहीथोक होइन र भानु नै सबैथोक भन्ने तर्कको बाहुल्य

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ असार २६ गते १९:०९

२६ असार, काठमाडौं । प्रत्येक वर्ष असार–२९ को सेरोफेरोमा नेपाली भाषा–साहित्यका कवि भानुभक्त आचार्यको पक्ष विपक्षमा बहस हुने गरेको छ । एक पक्ष उनको भाषिक एकता र सिर्जनाशीलताको पैरवी गर्छन् भने अर्को पक्ष भानुभक्तलाई एकल राष्ट्रवादी नीतिले मात्रै केन्द्रमा उठाएको पैरवी गर्छन् ।

गणतन्त्र स्थापनासँगै मुलुक बहुजाति, बहुभाषा, बहुसंस्कृतिको संगम भएको अवस्थामा भानुभक्तलाई मात्र आदिकवि तथा भाषाको मानक मान्न नहुने बहस अहिले टड्कारो छ ।

यसरी भानु नै सबैथोक हुन् र भानु केही होइन भन्ने दुवैथरि मान्यता अर्थहीन रहेको बताउँछन् समालोचक अभि सुवेदी । उनका अनुसार भानुभक्तले पथ्वीनारायणले झैं देश एक बनाए, भाषिक एकता गरे भन्ने कुराहरूसमेत तपशील हुन् ।

‘हामीले भानुभक्तलाई कवि र कवित्वकै आधारमा हेर्नुपर्छ’ भानुमाथिको आफ्नो अनुसन्धानमूलक लेखको निचोड बताउँदै सुवेदी भन्छन्, ‘उनी अत्यन्तै सशक्त अनुवादक हुन् भन्ने कुरा रामायणको जनप्रियताबाटै पुष्टी हुन्छ । यसैले उनलाई इजलासमा पस्किने कुराको कुनै सार्थकता छैन ।’

सुवेदीको धारणासँग निकट रहेर कवि तुलसी दिवस ‘भानु नै सबै चिज भएको तथा भानु केही पनि होइन’ भन्नु अत्यन्त चरममा पुग्नुसरह रहेको धारणा राख्छन् ।

दिवस थप्छन्, ‘रामायणको अनुवादमा नेपालीपन दिन गरेको भानुको योगदानको हामीले कदर गर्नुपर्छ । किनभने उनले आफ्नो कवित्वमार्फत् रामायणलाई नेपाली जनजीवनमा प्रिय बनाए ।’

यता नेपालमा मात्र नभई विश्वभरि नै भानुभक्तले दुई सय वर्ष अगाडि प्रस्तुत गरेको सृजनाशक्ति फैलिँदै मत राख्छन् समालोचक डा. गोविन्दराज भट्टराई । उनका अनुसार माइकल हट (नेपाली भाषामा विद्यावारिधि गरेका बेलायती प्राध्यापक) ले समेत भानुभक्तको रामायणलाई अंग्रेजीमा अनूदित गर्नु चानचुने कुरा होइन ।

‘नेपाली साहित्य छ, नेपाली भाषा छ भन्ने चिनाउनका लागि त हामीले भानुलाई नै अगाडि सानुपर्छ’ प्राध्यापक भट्टराई भन्छन्, ‘आज नेपालमा मात्र नभएर भारतेली नेपाली, भुटानका नेपाली र विश्वभरका नेपालीले भानुलाई सर्वोच्च मानिसकेका छन् ।’

प्रा. भट्टराई पनि भानुलाई राजनीतिकरण गरी हेर्न नमिल्ने मत राख्छन् ।

यता कवि श्रवण मुकारुङ भने भानुलाई योगदान अनुसारको सम्मान गर्दै फराकिलो दृष्टिले हेर्नुपर्ने बताउँछन् ।

भानुसँगै शंखधर साख्वा, विद्यापति, श्रीजङ्घाहरूलाई पनि सम्मान गर्नपर्ने मत राख्दै मुकारुङ भन्छन्, ‘लोकतन्त्रमा सबै पक्षका स्रष्टालाई सम्मान गर्नुपर्छ । विशेषत ः मातृभाषी स्रष्टा, लोपोन्मुख भाषाका स्रष्टाहरूलाई अगाडि ल्याउने काम गर्नुपर्छ । भानुलाई दिएजस्तो इज्जत उनीहरूलाई पनि दिनुपर्छ ।’

मोतीराम भट्टले प्रकाशित गरेको भानुको जीवनचरित्र पुस्तिकाको पहिलो पाना

युवा समीक्षक गुरुङ सुशान्त भने भानुभक्तमा भन्दा धेरै समस्या नेपाली साहित्यका समालोचकहरूमा देखिएको बताउँछन् । अर्थात् भानुमाथि आलोचकीय दृष्टि नराखी स्तुतिगान मात्र गर्ने समालोचकका कारण भानु आदर्शका पुञ्ज देखिन पुगेका हुन् ।

‘भानुभक्त निःसन्देह हिन्दू संस्कारले ग्रस्त पुरुषवादी अन्धविश्वासी कवि हुन्’ समीक्षक सुशान्त आफ्नो लेख ‘भानुभक्तः खोस्टे प्रशंसाको हाइडोज’मा लेख्छन्, ‘असल कविले भविष्यको दर्शन गर्छन् भन्ने उक्ति भानुभक्तमा कहीँकतै लागू हुँदैन । भानुभक्तका काव्यमा समस्याको डंगुर नै रहेको कुरा अलिकति मात्र आलोचनात्मक हुनेबित्तिकै थाहा लागिहाल्छ ।’

गुरुङ सुशान्तको धारणासँग मिल्दोजुल्दो धारणा राख्दै कवि एवं समीक्षक सोझो गाउँले पनि भानुभक्त नै नेपाली राष्ट्रिय एकताका प्रतीक हुन् र उनले नेपालको भाषिक एकीकरण गरे भन्ने भनाइ अतिरञ्जित भएको टिप्पणी गर्छन् ।

गाउँले भन्छन्, ‘राज्यको एक भाषिक नीतिले विगतमा नेपालका अन्य भाषाहरुलाई पाखा पारेकै हो । यसैले भानुभक्तलाई नेपाली भाषाको साहित्यका आदिकवि मानिएको हो, नेपालकै आदिकवि भनिएको होइन ।’

भानुको पक्षमा राज्यसंयन्त्र

यता पञ्चायतकालमा सरकारी स्तरबाट नै राष्ट्रिय विभूति भानुभक्तको जन्मजयन्ती मनाउन बजेट जाने तथ्यांक रहेको छ । ‘पञ्चायतका पच्चीस वर्ष’ ग्रन्थमा भानु जयन्तीको नाममा बजेट विनियोजन भएको देखिएको छ । यसो त अन्य राष्ट्रिय जयन्तीको नाम पनि बजेट नगएको होइन तर साहित्यतर्फ भानुलाई मात्र केन्द्रमा राखिएको देखिन्छ ।

अहिले नेपाल प्रज्ञा प्रतिष्ठान तथा भानु प्रतिष्ठानले हरेक वर्ष बृहत् कार्यक्रमका साथ भानु जयन्ती मनाउँदै आएका छन् । ‘भानु प्रतिष्ठान’ भानुभक्त आचार्यको जीवन तथा कर्ममाथि अनुसन्धान गर्ने संस्था हो । डा. व्रतराज आचार्य अध्यक्ष रहेको उक्त संस्थाले भानुभक्तकै पोशाक एवं टोपी लगाएर प्रत्येक वर्ष राष्ट्रिय स्तरमा भानुजयन्ती समारोह गर्छ ।

डा. आचार्यका अनुसार भानुभक्तको द्विशतवार्षिकी मनाउँदामात्र प्रतिष्ठानले सरकारबाट बजेट लिएको थियो । अन्य समय संस्थाकै निजी खर्चबाट कार्यक्रम गर्ने उनले बताए ।

‘द्विशतवार्षिकी मनाउन दिएको बजेट समेत संस्कृति मन्त्रालयभित्रैबाट रोक्न खोजियो’ व्रतराज भन्छन्, ‘तत्कालीन अर्थमन्त्रीसँग कुरा गरेपछि भने द्विशतवार्षिकीका लागि एक करोड पाएका थियौं ।’

नेपाल प्रज्ञा प्रतिष्ठानले पनि स्थापनाकालदेखि नै भानु जयन्तीलाई निकै प्राथमिकतामा राखेको छ । प्रत्येक वर्षको असारमा आफ्नो वार्षिकोत्सव र राष्ट्रिय कविता महोत्सवसँगै भानु जयन्ती पनि प्रधानमन्त्रीको आतिथ्यतामा प्रज्ञाले आयोजना गर्छ ।

अघिल्लो वर्ष अनलाइनखबरसँगको कुराकानीमा प्रज्ञा प्रतिष्ठानका कुलपछि गंगाप्रसाद उप्रेतीले ‘हामी राष्ट्रिय विभूतिलाई गाली गर्दैनौं’ भन्दै भानुजयन्ती र पृथ्वी जयन्तीलाई विशेष प्राथमिकता दिएको संकेत गरेका थिए ।

‘सरकारमा जो आए पनि हामीले राष्ट्रिय चेत दिने हो’ कुलपति उप्रेतीले भनेका थिए, ‘पृथ्वीनारायण, भानुभक्त भन्ने नाम नेपाल निर्माणको क्रममा आएका हुन्, यसैले उनीहरूलाई हामी सम्झन्छौं ।’

यता नेपालका अधिकांश विद्यालय तथा क्याम्पसहरुले भने स्वतःस्फूर्त रुपमा साहित्यिक कार्यक्रम तथा माल्यार्पण गरी भानु जयन्ती मानाउने गरेको पाइन्छ ।

कसरी चिनिए सर्वत्र भानु ?

वि.सं. १९७१ मा तनहुँमा जन्मिएका भानुभक्त आचार्यको निधन १९२५ असोज ५ मा भएको थियो । जंगबहादुर राणा प्रधानमन्त्री भएको उक्त समयमा उनले नेपालीमा लेखेका श्लोकलाई राजगुरु तथा संस्कृतका विद्वानबाट उपेक्षा गरिएको थियो ।

भानुको निधन भएको २३ वर्षपछि १९४८ मा ‘कवि भानुभक्तको जीवन चरित्र’ नामक पुस्तिका प्रकाशित गरेर मोतीराम भट्टले जनतामाझ चिनाउने काम गरे । मोतीरामले भानुभक्तको रामायण प्रकाशन गर्ने प्रबन्धसमेत गरेका थिए । त्यसबेलासम्म भानुका श्लोकहरू नेपाली भाषामा पाठक गर्ने सामान्य जनताको संख्या बढिरहेको थियो ।

यद्यपि मोतीरामको निधनपछि यो काम सुस्ताएको देखिन्छ । यसपछि दार्जिलिङबाट सूर्यविक्रम ज्ञवालीले सम्पादन गरेको ‘भानुभक्त स्मारक ग्रन्थ’ मा मात्र उनलाई सर्वप्रथम ‘आदिकवि’ सम्बोधन गरिएको पाइन्छ ।

२०१३ सालमा तत्कालीन राजा महेन्द्रले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान गठन गरेपछि सरकारी तवरबाटै भानुभक्तमाथि खोज अनुसन्धान शुरु भयो । यो क्रम प्रतिष्ठानले अझै जारी राखेको छ ।

२०५६ मा (सन् १९९९) मा ‘द करिअर अफ भानुभक्त एज अ हिस्ट्री अफ नेपाली नेसनल कल्चर, १९४०–१९९९’ शीर्षकको लामो लेख लेखेका मार्टिन चौतारीका प्रत्यूष वन्तले भानुभक्त कसरी राष्ट्रिय ‘आइकन’ बने भन्ने कुराको चर्चा गरेका छन् ।

उनको लेखेमा उल्लेख भएअनुसार सन् १९४० पछि भानुभक्तको जन्मस्थल, जीवनबारे थुप्रै कुरा आउन थाल्यो । यता पञ्चायती शासनको बेला पाठ्यक्रम, पत्रिका, रेडियो र आर्थिक सहयोगमार्फत भानुलाई बलियो बनाउँदै लग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?