+
+

जब रेशम चौधरीले भने – मेरो रिहाइको लागि शासकसँग सम्झौता नगर्नुहोला

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ भदौ ८ गते १९:०९

८ भदौ, काठमाडौं । मंगलबार थारूवान/थरूहट राष्ट्रिय मोर्चा तथा बृहत् नागरिक आन्दोलनले टीकापुर घटना ६ वर्ष पुगेको सन्दर्भमा गरेको विरोध सभालाई सांसद रेशम चोधरीले कारागारबाटै एक सन्देश पठाए ।

मोर्चामा सल्लाहकार एवं अभियन्ता सुरेन्द्र चौधरीका अनुसार रेशमले बिहानै फोन गरेर जनतालाई आफ्नो कुरा बताउन आग्रह गरेका थिए । सोहीअनुसार सभामा बोल्दै सुरेन्द्रले सांसद रेशमको सन्देश सुनाए ।

‘बरू म पचास वर्ष जेल बस्न तयार छु । तर मेरो रिहाइको लागि कसैले पनि सत्ता र शासकसँग सम्झौता नगर्नुहोला’, सन्देशमा रेशमले भनेका थिए ।

साथै रेशमले आफ्नो जेलजीवन मुक्तिको लागि भएकाले सबै उत्पीडित शोषितको मुक्तिको लागि आफू सधैं जेल बस्न तयार भएको कुरा बारम्बार गरेको अभियन्ता सुरेन्द्रले बताए ।

सुरेन्द्रले थपे, ‘थारूहरू मान्छे मार्ने जात हुँदै होइनन् तर उनीहरूलाई आतंककारीजस्तो बनाइयो तर यो कुरा कोही कसैले पत्याउँदैन किनभने आज रेशम चौधरीको साथमा सबै न्यायप्रेमी जनता जोडिएका छन् ।’

यता ‘भदौ ८’ गतेलाई थारूहरूले ‘कालो दिन’का रुपमा मनाउँदै आएका छन् । कैलाली टीकापुरमा २०७२ भदौ ७ गते सातजना प्रहरी र दुई वर्षीय बालकको हत्या भएको थियो । त्यसको भोलिपल्ट त्यहाँका थारू बस्ती जलाइएको तथा कुटपिट गरिएकाले ८ भदौलाई कालो दिनको रुपमा मनाइँदै आएको छ ।

विरोध सभामा अभियन्ताहरूको मन्तव्यका साथै कविता वाचन र नाटकसमेत देखाइयो । शिल्पी थिएटरका कलाकारहरुले थारु जातिमाथि भएको शोषणलाई नाटकको रुप दिँदै गरेको अभिनय हेर्न वसन्तपुर दरबार वरपरका वटुवाहरूसमेत डबलीमा जम्मा भएका थिए ।

वसन्तपुर डबलीमा भएको सभामा टीकापुर घटनामा थारूहरूलाई लगाइएका सम्पूर्ण मुद्दा खारेज गर्नुपर्ने कुरालाई मुख्य विषय बनाइएको थियो । साथै टीकापुरलगायत मधेश आन्दोलनका घटनामा भएको बलप्रयोगबारे अध्ययन गर्न गठित गिरिशचन्द्र लाल नेतृत्वको आयोगले दिएको प्रतिवेदन लागू गर्नुपर्ने कुरा पनि विरोध सभामा उठाइयो ।

सभामा बोल्दै थारु अभियन्ता मीनराज थारुले देशको संविधान नै अपुरो भएकाले पहिलो लडाइँ त्यहीँबाट शुरु भएको बताए । ‘थारु विद्रोह यो देशको असमान कानुन र राज्य व्यवस्थाको उपज हो’ उनले भने, ‘टीकापुर विद्रोह यही राज्यसत्ताको असमान सोचको विरुद्धमा गरिएको जनविद्रोह हो । जसलाई राज्यले आतंककारीको संज्ञा दियो ।’

उनले थारुहरू कुनै पनि कोणबाट आतंकवादी नभएको बरु सयौं वर्षदेखि कृषिकर्म गर्दै आएका कर्मठ भूमिपुत्र रहेको उद्घोष गरे ।

यता सभामा ऐक्येबद्धता जनाउन आएका ‘उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति’का संयोजक सुमन सायमीले टीकापुर घटनामा राज्यले चरम दमन गरेको भन्दै उक्त घठनाका सबै बन्दीलाई तत्काल रिहा गर्न माग राखे ।

‘टीकापुरमा जस्तै राजधानीकै खोकनामा पनि आदिवासीमाथि अत्याचार भएको छ । यो सबै काम गर्ने नश्लीय राज्यसत्ताको विरुद्ध हामी लड्नेछौं, सायमीले भने ।

यस्तै अर्का अभियन्ता जीवनभक्त श्रेष्ठले आदिवासी भनेको आदिकालदेखि त्यो भूमिमा बस्ने नागरिक भएको भन्दै थारूहरू असली भूमिपुत्र रहेको बताए । आदिबासीको जग्गा मास्ने, घर जलाउने अधिकार राज्यलाई नभएको भन्दै उनले तत्काल सबै थारू नेताहरूलाई कारागारबाट रिहा गर्न माग राखे ।

नागरिक अभियन्ता कैलाश राईले भने टीकापुर घटनालगायत अन्य विद्रोह हुँदा महिला तथा बालबालिका नै बढी मारमा पर्ने कुरा उठाइन् । राईका अनुसार हरेक आन्दोलन र द्वन्द्वमा महिला, बालबालिका र वृद्धवृद्धा नै मारमा पर्ने हुँदा उनीहरूको विषयमा संवेदनशील हुन आवश्यक छ ।

राईले भनिन्, ‘टीकापुरमा विद्रोह भएपछि पुरुषहरू जेल परे । त्यसबेला महिलाहरूले मात्र घरव्यवहार चलाए । फेरि राज्यबाट पनि उनीहरूले नै पीडा खेपे । यो कुरा हामीले भुल्न हुँदैन ।’

विरोध सभामा अभियन्ताहरूको मन्तव्यका साथै कविता वाचन र नाटकसमेत देखाइयो । शिल्पी थिएटरका कलाकारहरुले थारु जातिमाथि भएको शोषणलाई नाटकको रुप दिँदै गरेको अभिनय हेर्न वसन्तपुर दरबार वरपरका वटुवाहरूसमेत डबलीमा जम्मा भएका थिए ।

यसपछि कवि भूमिका थारु, केशव सिलवाल र भूपाल राईले कविता सुनाए । तीनैजना कविहरूको कविताले राज्य–सत्ताको चरित्रमाथि तीक्ष्ण व्यंग्य गरेको पाइन्थ्यो । गीतकार समेत रहेका कवि भूपाल राईले टीकापुर घटनाकै सन्दर्भमा लेखिएको कविता सुनाए ।

‘कैलालीको इकोसिस्टम’ शीर्षकको उक्त कविता यहाँ प्रस्तुत गरिएको छ ः

अनिवार्य शेरले खरायो मार्नैपर्छ
मरेर पनि खरायोहरूले
जंगलको इकोसिस्टम जोगाइदिनैपर्छ

बिना खरायो न शेरको अनुवंश चल्छ
विना शेर न जंगल, जंगलजस्तो रहन्छ
ठीक यही यो जंगली इकोसिस्टमको अनिवार्यता
र ठीक यही तरिकाले चलिरहेको छ
कैलालीको इकोसिस्टम !

हेर्नुहोस् तस्वीरहरु

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?