+
+

हिकास्टले लिएको प्रवेश परीक्षाको नतिजाप्रति विद्यार्थीको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १३:३०
प्रतीकात्मक तस्वीर

३० भदौ, काठमाडौं । हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेज एण्ड टेक्नोलोजी (हिकास्ट)ले गत फागुनमा लिएको प्रवेश परीक्षाको नतिजामा धाँधली भएको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिकास्टले शैक्षिक सत्र २०७७/७८ का पशु विज्ञान विषयमा ४० जना विद्यार्थी अध्ययन गर्न पाउने कोटा निर्धारण गरी प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको थियो ।

कलेजको वेबसाइटमा फागुन १४ गते परीक्षा फल नतिजा प्रकाशित गर्दै नेपाल भेटेनरी काउन्सिलको स्वीकृति पत्र प्राप्त भएपछि प्रक्रिया शुरु गरिने जनाइएको थियो ।

कलेजले माग गरेको आवश्यक कागजात बुझाएपछि भर्नाको बारेमा बुझ्दा पशु चिकित्सा परिषद्ले स्वीकृति दिनुपर्ने पत्र प्राप्त नभएकाले केही समय लाग्ने र प्राप्त भएपछि कलेजले खबर गर्ने जवाफ दिएको भोजपुरकी युमित्मा राईले बताइन् । हिकास्टले प्रकाशन गरेको योग्य उम्मेदवारको सूचीमा उनको नाम २९ औं नम्बरमा छ । उनले भनिन्, ‘मैले पटक–पटक भर्ना प्रक्रियाको लागि फोन गरें, तर भेटनरी काउन्सिलबाट स्वीकृति नपाएकाले समय लाग्ने । पाएपछि खबर गर्ने भनियो तर अहिले आएर कलेजले अर्को मेरिट लिस्ट निकालेको छ ।’

अहिले कलेजको वेबसाईटमा राखिएको मेरिट लिस्टमा उनको नाम परेको छैन । युमित्माका बुवा सुरेन्द्र राईले कलेजले निकालेको फरक मेरिट लिस्टबारे बुझ्न खोज्दा कलेजले आनाकानी गरेको बताउँछन् । उनी भन्छन् ‘के को आधारमा अर्को नतिजा प्रकाशित गरियो । हामीले बुझ्दा खबर गर्ने भन्नुभएको थियो तर कलेजले जानकारी पनि गर्नुभएन भन्दा कलेजले स्पष्ट जवाफ दिन सकेन । कलेजले धाँधली गरेको हो भन्ने स्पष्ट छ ।’

उक्त नतिजाको योग्य नामावलीको पहिलो नम्बरमा रहेको विद्यार्थीको नाम समेत हटाएर अर्को व्यक्तिको नाम राखिएको छ । उत्तीर्ण सूचीको १६ जनाको नाम हटाई विथ हेल्डमा राखिएको सूचीलाई समावेश गरिएको छ । विश्वविद्यालयले तोकेको समयभित्र फारम नबुझाउने र प्रवेश परीक्षामा सहभागी नै नभएको ९ जना विद्यार्थीको नाम थप गरेर सूचना प्रकाशन गरेको अभिभावकको भनाइ छ ।

हिकास्टले भने अगाडिको परीक्षालाई नेपाल पशु चिकित्सा परिषद्ले मान्यता नदिएकोले भदौ १० गते पुनः परीक्षा लिई सोही आधारमा नतिजा प्रकाशित गरेको जनाएको छ । कलेजका लेखा शाखाका सुदीप पाण्डेले विभिन्न मापदण्डको कारण फागुनमा भएको परीक्षाको आधारमा भर्ना लिन नपाएकोले फेरि भदौमा अर्को प्रवेश परीक्षा लिएको बताए ।

अर्को प्रवेश परीक्षा लिनुअघि फागुनमा प्रवेश परीक्षा दिएका सबै विद्यार्थीलाई फोन गरेर प्रवेश परीक्षाको जानकारी दिएको उनले दाबी गरे । ‘फागुनमा प्रवेश परीक्षा दिएका सबै विद्यार्थीलाई फोन गरेर सोधेर कन्फर्म गरेका थियौं । त्यही परीक्षाको आधारमा मेरिट लिष्ट निकालेर भर्ना प्रक्रिया अगाडि बढाएका हौं,’ उनले भने ।

परिषद् भन्छ : हिकास्टले मापदण्ड पूरा गरेन

नेपाल पशु चिकित्सा परिषद्ले सूचना जारी गर्दै हिकास्ट र नेपाल पोलिटेक्निक इन्स्टिच्युट लिमिटेड चितवनमा सञ्चालन भएका पशु चिकित्सा तथा पशुपालन स्नातक तह (बीभीएससी एण्ड एएच) शैक्षिक कार्यक्रमको चालु शैक्षिक सत्र २०७७/७८ को प्रथम वर्षमा विद्यार्थी भर्ना मापदण्ड विपरीत रहेको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?