
६ असोज, बुटवल । पहिरो र नदी कटानका कारण विस्थापित हुन पुगेका अति विपन्न परिवारलाई बुटवल उपमहानगरपालिकाले तत्कालका लागि घरभाडा तिरिदिने निर्णय गरेको छ ।
बुटवल–३ ज्योतिनगर क्षेत्रमा पहिरोबाट र वडा नम्बर ११ बुद्धनगरमा नदी कटानबाट विस्थापित भएका परिवारलाई वडा कार्यालयको सिफारिसका आधारमा घर भाडा रकम दिने निर्णय भएको हो ।
हालैको अविरल वर्षापछि आएको पहिरो र बाढीले घर भत्किएका र उच्च जोखिमले घरमा बस्नै नमिल्ने अवस्था उत्पन्न भएपछि तीन दर्जन बढी परिवार विद्यालय भवनमा बस्दै आएका छन् । असोज ४ गतेबाट विद्यालय सञ्चालनमा आएपछि उनीहरु डेरा खोजेर बस्न थालेका छन् ।
उपमहानगरले पहिरो पीडितलाई बेवास्ता गरेको भन्दै रुष्ट स्थानीयमध्ये एमालेकै कार्यकर्ताले बुटवलका मेयर शिवराज सुवेदीमाथि असोज ४ गते पहिरो क्षेत्रमै मुक्का प्रहार गरेका थिए ।
विपन्न परिवारका पहिरो र बाढी पीडितहरुलाई वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा राहतस्वरुप रकम उपलब्ध गराउने भएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । ‘पहिरो र नदी कटानबाट विस्थापित अति विपन्न परिवारका हकमा केही महिनाका लागि वडा कार्यालयले गरेको सिफारिसका आधारमा घरभाडा रकम दिने निर्णय गरेका छौं,’ प्रवक्ता रेग्मीले भने, ‘विस्थापितहरुलाई पुनस्र्थापना गर्न सम्बन्धित वडाबाट पीडितको माग निवेदन सहित विवरण संकलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रक्रिया पनि अगाडि बढाउँछौं ।’
बुटवल उपमहानगरपालिका तिनाउ र दानव नदीमा ठूलो बाढी आएर कटान गरेको र चुरे क्षेत्रमा रहेका वडा नम्बर १, २, ३, ४, ५, ६, ११, १२, १३, १७ र १८ मा क्षतिको विवरण सहित जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा संरक्षण र तटबन्धका लागि सहयोग गर्न उपमहानगरले अनुरोध गरेको प्रवक्ता रेग्मीले बताए ।
बुटवल–३ र ४ को ज्योतिनगर, लक्ष्मीनगर चुरे क्षेत्रमा गत भदौ १३ र १४ गते तथा असोज ३ गते राति पहिरो जाँदा झण्डै दुई दर्जन परिवार विस्थापित हुन पुगेका छन् ।
प्रतिक्रिया 4