+
+

‘भैंसी पालेर’ हिट भएको १५ बर्षपछि अर्जुनको ‘धुलो खाएर’

सुशील नेपाल सुशील नेपाल
२०७८ असोज ६ गते १६:००

‘गर्नु गर्यौं बलराम भैंसी पालेर

दुनियाँलाई ढाँटेर खाँटी दुधमा पानी हालेर’

वि.सं २०६३ सालमा सार्वजनिक गीत ‘भैंसी पालेर’ले सांगीतिक बजारमा निकै चर्चा पायो । राजु परियार र विष्णु माझीको स्वर रहेको गीतलाई स्रोताहरुले रुचाए । यस गीतलाई रचना गरेका हुन् अर्जुन गैह्रेले । गीतमा उनकै लय छ । गीतलाई मात्र होइन, प्रकाश भट्टको निर्देशनमा कमल गाउँले र पल्पसा डंगोलको अभिनय रहेको यसको भिडियोलाई समेत दर्शकले उत्तिकै रुचाए । दुर्गा रायमाझीको फेवा डिजिटलले गीतलाई प्रस्तुत गरेको थियो । गीतको लोकप्रियताकै कारण यसको अडियो क्यासेट डेढ लाख प्रति बिक्री भएको थियो ।

तर, त्यसयता भने गीतका रचनाकार गैह्रैले नयाँ गीत ल्याएनन् । यो बिचमा उनलाई धेरैले भन्थे, ‘नयाँ गीत कहिले ल्याउनुहुन्छ ?’, ‘छिट्टै ल्याउनुपर्यो ।’ तर, उनले आफ्नै गृहजिल्ला स्याङ्जामा रहेर शिक्षण पेशालाई अगाडि बढाइरहेका थिए । गीत सार्वजनिक हुने वर्ष नै उनी शिक्षण पेशामा स्थायी जागिरे भएका थिए ।

गीतबारे सोध्नेहरुलाई उनले भन्थे,– ल्याउने हो । यसैगरी बित्यो उनको १५ वर्ष । नयाँ गीत नल्याएपनि उनी सांगीतिक क्षेत्रसँग भने सधै नजिक रहे । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जामा दुई कार्यकाल अध्यक्ष भए । अहिले प्रतिष्ठानको आजिवन सदस्य छन् । जिल्लास्तरमा हुने सांगीतिक कार्यक्रममा पनि उनी व्यस्त हुन्थे ।

उनै अर्जुन डेढ दशकपछि सांगीतिक क्षेत्रमा फर्किएका छन् । उनले केही दिनअगाडि मात्रै ‘धुलो खाएर’बोलको गीत ल्याएका छन् ।

मोफसलमै रहे
स्याङ्जा वालिङको वायाटारीका उनले ‘भैसी पालेर’ गीत सार्वजनिक गर्नु अगाडि पनि विभिन्न गीतको रचना गर्थे । ती गीतमा स्वर पनि दिन्थे । २०५७ सालमा उनले गायक एवं संगीतकार नारायण रायमाझीको रीमा रेकर्डिङ स्टुडियोबाट आफ्नो पहिलो गीत ‘आधिँखोले नानी’ सार्वजनिक गरे । २०५८ सालमा ‘जिन्दगीको चाल’ बोलको गीत ल्याए । त्यसपछि ‘भैसी पालेर’ ल्याएका थिए । अर्जुनले भने–‘जिल्लाको हकमा सांगीतिक कार्यक्रममा जानेमात्र नभएर आयोजक भएर समेत सक्रिय रहेँ । तर, शिक्षण पेशामा भएको हुनाले सांगीतिक क्षेत्रमा व्यवसायिक हिसावले लागिनँ । यो मेरो लागि व्यवसायिकता भन्दा पनि रुचि र सोखजस्तो भयो ।’

अब हरेक वर्ष गीत ल्याउँछु
शुभचिन्तक, साथीभाईबाट त नयाँ गीतबारे चासो आईरहेकै हुन्थ्यो । उनले पनि पहिल्यैदेखि त्यसबारे नसोचेका भने होइनन् । तर, कोरोना महामारीको समयमा उनले नयाँ गीत ल्याउने निर्णय गरे । तर, डेढ दशक अगाडि गीत ल्याउँदा र अहिलेको माहोल परिवर्तन भईसकेको छ । लोकदोहोरी पहिलेको जस्तो नभएको र यसमा विकृती बढेको वुझाई उनको छ ।

त्यसमाथि अहिले गीतमा भिडियो अनिवार्य बनेको छ । भिडियोमा लगानी गरेपनि त्यसले फाइदा नदिने उनले वुझेका छन् । उनले न अहिलेको लोकदोहोरीको ‘ट्रेन्ड’लाई पछ्याए न लगानी ‘रिटन्र्स’को अपेक्षा नै गरे । लोकदोहोरीप्रतिको मायाका कारण ‘धुलो खाएर’ बोलको गीतमा लगानी गरेको उनी बताउँछन् ।

गैह्रेले सुनाए–‘लोकदोहोरीलाई हामीले सही ट्रयाकमा हिडाल्नुपर्छ । मेरो तर्फबाट जति सक्छु गर्छु भन्ने सोचले गीतमा लगानी गरेँ ।’ ‘भैसी पालेर’ उनको ब्यङ्गात्मक रमाईलो खालको गीत थियो । गीतमा उनले माया पनि दूधमा पानी मिसाएजस्तो भयो, चोखो भएन भन्ने आशय व्यक्त गर्दै ब्यङ्ग्य गर्न खोजेको बताए । हालै सार्वजनिक ‘धुलो खाएर’गीतबारे उनी भन्छन्–‘नेपाली युवाहरु सहर पस्ने, सहर पसेपछि विदेशको सपना देख्ने, विदेश गएपछि उतै पलायन हुने प्रचलन बढ्दो छ । देशमा गरिबी, धूलो–धुँवा, सिस्टम लगायतको विभिन्न समस्या होला, तर आफ्नो आमा भनेको आमा हो भन्ने सन्देश दिन खोजेको छु ।’

अर्जुनको शब्द तथा संगीतमा उनी र सुनिता बुढा क्षेत्रीले ‘धुलो खाएर’बोलको गीत गाएका हुन् । ‘भैसी पालेर’कै निर्देशक प्रकाश भट्टको निर्देशनमा बनेको यसको भिडियोमा अञ्जली अधिकारी र लोमश शर्माको अभिनय गरेका छन् । उनले पूर्वानुमान गरेजस्तै गीतले धेरै भ्यूज पाएको छैन । तर, हेर्ने दर्शकको प्रतिक्रियाले भने उनी खुशी छन् ।

अब हरेक बर्ष गीत सार्वजनिक गर्ने सोचाईका साथ अगाडि बढेका अर्जुन भन्छन्–‘मौलिकतामा रहेर हरेक वर्ष एउटा भएपनि गीत ल्याउने योजना छ । त्यसमा मैले आम्दानीको अपेक्षा गरेको छैन । थोरै लगानी गरेर भएपनि सांगीतिक क्षेत्रलाई निरन्तरता दिनेछु ।’

 

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?