+
+

रचनाको जीवनशैली : आफैँ खाना पकाउँछु, मेकअप गरेर हिँड्दिनँ

सुशील नेपाल सुशील नेपाल
२०७८ कात्तिक ५ गते १३:५३

रचना रिमाल पछिल्लो पुस्ताकी लोकप्रिय गायिका हुन् । ‘नेपाल आइडल सिजन–३’ मा सहभागी भएपछि चर्चामा आएकी रचनाले दुई वर्षको अवधि नपुग्दै झण्डै ९ सय गीतमा स्वर दिइसकेकी छन् । उनले स्वर भरेका ‘फोटो फिरिममा’, ‘उनको प्रीति’, ‘मिनिरल वाटर’, ‘आयौं चेली’, ‘भन साइँला’ जस्ता दर्जनौं गीत लोकप्रिय छन् । एकैदिन ५ वटासम्म गीत रेकर्डिङ गर्ने यी गायिकाको दैनिकी कसरी बित्छ ? उनको जीवनशैली कस्तो छ ? अनलाइनखबरले कुराकानी गरेको छ ।

बिहान कतिबजे उठ्नुहुन्छ ?

अहिले ६ देखि ७ बजेभित्र उठछु । प्रायः उठ्ने समय त्यही हो ।

उठेपछि शारीरिक व्यायाम, ध्यान केही गर्नुहुन्छ ?

उठेपछि फ्रेस हुन्छु । फ्रेस भएपछि तातोपानी पिउँछु । त्यसपछि झण्डै एक घण्टा रियाज गर्छु । शारीरिक व्यायाम, ध्यान चाहिँ गर्ने गरेकी छैन ।

बिहान खाजा कतिबेला खानुहुन्छ ?

बिहानमा खाजा खाँदिनँ । पानीमात्र पिउँछु । बिहानमा खाजा खाएपछि खाना नै रुच्दैन, त्यसैले एकैचोटि खाना खाने गरेकी छु । पहिलेपहिले घरमा हुँदा भने चियासँग चिउरा खान्थेँ ।

बिहानको खाना कतिबजे खानुहुन्छ ? कसले बनाउनुहुन्छ ?

९ बजेदेखि १० बजेभित्र खान्छु । बिहानमा प्रायः म आफैँ बनाउँछुु । मलाई एक्लै भएपनि खाना पकाउन जाँगर चल्छ ।

खाना मीठो बनाउनुहुन्छ ? खानामा के–के हुन्छ ?

आफूले पकाएको मीठो लाग्छ । मीठो नै पकाउँछु जस्तो लाग्छ । खानामा त भात, दाल, तरकारी हो । अचार सधैं हुन्छ । मासु भने म एकदमै कम खान्छु ।

घरबाहिर निस्कने समय कतिबजे हो ?

११ बजेतिर निस्कन्छु । मेरो प्रायः रेकर्डिङहरू नै ११ बजेबाट सुरु हुन्छ । कहिलेकाँही बिहान रेकर्डिङ गर्नुपर्ने भयो भने चाँडै पनि निस्कन्छु ।

घरबाट बाहिर निस्कनुअघि तयार हुन वा मेकअपमा कति समय लाग्छ ?

म प्रायः मेकअप गरेर हिँड्दिनँ । रेकर्डिङदेखि अन्यत्र कतै जाँदा मेकअप गर्ने गरेकी छैन । मेकअप गरेर हिँड्ने बानी छैन । मेकअप गर्दा कस्तो अप्ठ्यारो लागेजस्तो हुन्छ । भिडियोमा लिप्सिन छ भने सुटिङस्थलमै गएर अरूले मेकअप गरिदिनुहुन्छ । स्टेज कार्यक्रम छ भने सामान्य मेकअप गर्छु । नत्र, मेकअपमा रूचि लाग्दैन । म झापा (घर)सम्म जाँदा नि मेकअपबिना गइरहेकी हुन्छु ।

कस्तो कपडा सहज लाग्छ ?

म पाइन्ट र टिसर्ट बढी लगाउँछु । त्यो सहज लाग्छ । कुर्ता–सुरुवाल पनि लगाउँछु । वान पिस पनि मनपर्छ ।

कपडामा चाहिँ कत्तिको सौखिन हुनुहुन्छ ?

कतै देख्दा मनप¥यो भने गएर किनिहाल्छु । आफूलाई मन परेको लुगा किनिहाल्ने बानी छ । सपिङ नै गर्छु भनेर चाहिँ खासै जाँदिनँ ।

कति खर्च गर्नुहुन्छ कपडामा ?

मेरो धेरै खर्च कपडामै हुन्छ । ठ्याक्कै यति भन्ने त हुँदैन ।

कपडामा कस्तो रंग मन पराउनुहुन्छ ?

मलाई कालो रंग खासै मन पर्दैन । कालो रंगका कपडाहरू खासै लगाउँदिनँ । त्यसबाहेक अरू सबै रंगका कपडा मनपर्छ ।

बाहिर हिँडडुल गर्दा केमा यात्रा गर्नुहुन्छ ?

प्रायः पठाओमा यात्रा गर्छु । यसैमा सहज लाग्छ ।

दिनभर कसरी बित्छ ?

काठमाडौंमा हुँदा प्रायः रेकर्डिङमै दिन बितिरहेको हुन्छ । कहिले लिप्सिन पर्छ । कहिलेकाहीँ गीत सार्वजनिकको प्रेसमिट हुन्छ । त्यसरी नै बितिरहेको हुन्छ ।

रेकर्डिङ पनि छैन, कार्यक्रम पनि छैन भने कसरी दिन बिताउनुहुन्छ ?

प्रायः गीतसंगीतको काममै व्यस्त भइरहेकी हुन्छु । जहिले हिँडिराख्ने बानी भएर होला कहिलेकाँही खाली भए भने मलाई दिन काट्न एकदमै गाह्रो हुन्छ । खाली भए भने चाहिँ दिनभर सुतेर बिताउँछु ।

चलचित्रहरु म कमै हेर्छु । बेलाबेला नयाँ गीतहरू हेरिरहेकी हुन्छु । खाली समयमा फेसबुक चलाउने, टिकटक बनाउने, टिकटकमा लाइभ पनि बस्ने गरेकी छु । तर, टिकटक लाइभ प्रायः साँझ ८ बजेतिर बस्ने गरेकी हुन्छु । काठमाडौंमा हँुदा घुम्न जान भने खासै मन लाग्दैन । दिउँसोमा खाली भएँ भने प्रायः चाहिँ सुतेरै बित्छ ।

एकदिनमा कतिवटासम्म गीत रेकर्डिङ गर्नुभएको छ ?

पहिले वढीमा चारवटा गरेकी थिए । केहीदिन पहिले एकैदिन पाँच वटा गीत रेकर्डिङ गरेँ । त्योदिन गाह्रो पनि भएको थियो । प्रायः २–३ वटा रेकर्डिङ परिरहेको हुन्छ ।

कोसँग आफ्नो आवाज फिट भएजस्तो लाग्छ ?

धेरै स्रोताहरूले मन पराउनुभएको प्रविन बेडवाल दादासँग हो । तर, मलाई सबैसँग गाउँदा राम्रै लाग्छ ।

दिनमा कति रुपैयाँसम्म खर्च हुन्छ ?

ठ्याक्कै यति भन्ने त हुँदैन । बढी पठाओ, ट्याक्सी भाडामा खर्च हुन्छ । त्यसबाहेक खाजामा पनि खर्च हुन्छ । बाहिर हिँडिरहनुपर्दा प्रायः २–३ हजार रुपैयाँ खर्च भइरहेको हुन्छ ।

बाहिर खाजा कत्तिको खानुहुन्छ ? कुन खानेकुरा मनपर्छ ?

खान्छु । बाहिर जाँदा म बढी पकाएको चाउचाउ खान्छु । चाउमिन, ममः मलाई खासै मीठो लाग्दैन ।

सांगीतिक क्षेत्रका साथीहरू कति हुनुहुन्छ ?

धेरै नै हुनुहुन्छ । सबैसँग नजिक नै छु । सबैभन्दा नजिकको सांगीतिक क्षेत्रको साथी मेलिना मैनाली हो । ऊ र म एउटै गाउँका हौं ।

तपाईंलाई आफ्नो मनपर्ने स्वभाव के लाग्छ ?

म कसैलाई नाइँ भन्न सक्दिनँ । मनपर्ने बानी पनि त्यही लाग्छ, नराम्रो बानी पनि त्यही लाग्छ । सबैलाई हुन्छ–हुन्छ भनिदिन्छु, त्यसले अरूलाई राम्रो लाग्छ । त्यही बानीले मलाई कतिपय ठाउँमा गाह्रो परिरहेको हुन्छ ।

साथीहरू तपाईंको के कुरा बढी मन पराउँछन् ? तपाईंको राम्रो कुराबारे केही भन्छन् होला नि ?

अरूले भन्दा चाहिँ तिमी बोलेको एकदमै मनपर्छ, जे हो त्यही बोल्छौ भन्नुहुन्छ । धेरै जनाले त्यही भन्नुहुन्छ, होला जस्तो पनि लाग्छ ।

गायनबाहेक अरू रूचिहरू के–के छन् ?

मलाई नाच्न एकदमै मनपर्छ । अभिनय गर्न पनि मनपर्छ । त्यसको अर्थ म्युजिक भिडियोमा मोडलिङ चाहिँ भन्न खोजेको होइन ।

साँझ कति बजे घर फर्कनुहुन्छ ?

७ बजेभित्र फर्किन्छु । कहिलेकाहीँ लिप्सिन, रेकर्डिङले ११–१२ पनि बज्छ ।

रातिको खाना कसले बनाउनुहुन्छ ? कतिबजे खानुहुन्छ ?

यहाँ दिदी पनि (घर छेउको दिदी) हुनुहुन्छ । जसले भ्याउँछ उसले बनाउँछौं । खाना त्यही ९–१० बजे खान्छु ।

फेसबुक, युट्युब, टिकटकमा कत्तिको समय बिताउनुहुन्छ ?

युट्युबमा त्यति धेरै समय बिताउँदिन । अरूका गीतहरू, रमाइला भिडियोहरु हेर्छु । फेसबुक म बढी चलाउँछु । फेसबुकमा टाइमलाइन हेर्ने, आफ्ना फोटोहरु पोष्ट गर्ने गर्छु । म्यासेजहरू आइरहेको हुन्छ, त्यसको रिप्लाई गर्ने गर्छु । टिकटक अलि पहिले अझ बढी चलाउथँे । लकडाउनको समयमा टिकटकमा धेरै समय बिताएँ । लकडाउनमा दिउँसो, साँझमा टिकटकमा लाइभ आउथँे । अहिले काममा व्यस्त भएको हुनाले टिकटक लाइभ अलि कम बस्छु ।

कति बजे सुत्नुहुन्छ ?

प्रायः ११ बज्छ ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?