+
+

‘गाउँ आएको बाटो’ बनाउँदै नवीन सुब्बा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १९:२५

७ मंसिर, काठमाडौं । नेपाली सिनेमाका अग्ला निर्देशक हुन्, नवीन सुब्बा । उनले धेरै चलचित्र निर्देशन गरेका छैनन्, तर जति गरेका छन् ती अब्बल दर्जाका छन् । नवीनको ‘नुमाफुङ’ नै यस्तो पहिलो नेपाली चलचित्र हो, जसले अन्तर्राष्ट्रिय बजारमा प्रवेश पायो ।

नुमाफुङले नेपाली सिनेमामा नयाँ बहस शुरु गर्‍यो । यो नै त्यस्तो चलचित्र थियो, जसमाथि सबैभन्दा बढी बौद्धिक बहस भए । नुमाफुङ प्रदर्शनमा आएको लामो समयपछि मात्र नवीन सुब्बाले दोस्रो सिनेमा बनाए, ‘गुडबाई काठमाडौं’ ।

‘गुडबाई काठमाडौं’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन गरियो र कतिपय अवार्ड पनि जित्न सफल भयो । तर, सिनेमा हलमा भने यसको सार्वजनिक प्रदर्शन गरिएको छैन । ‘गुडबाई काठमाडौं’ निर्माण भएको एक दशकपछि सुब्बाले अर्को चलचित्रको घोषणा गरेका छन्, ‘गाउँ आएको बाटो’ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।

यो चलचित्रलाई सुब्बाले निर्देशन गर्न लागेका हुन् । महेश राई र नवीन सुब्बाको कथा रहने चलचित्र राई समुदायको कथामा निर्माण हुनेछ । चलचित्रको निर्मातामा आमोद राई छन् । उनी २० वर्षदेखि हङकङमा शिक्षण पेशामा छन् । उनले विभिन्न देशमा रहेका विशेषगरी राई समुदायका व्यक्तिहरुको सामुदायिक लगानीमा चलचित्र निर्माण गर्न लागिएको जानकारी दिए ।

चलचित्रमा दयाहाङ राई र पशुपति राई शीर्ष भूमिकामा रहनेछन् । साथमा पर्सन राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्र केही दिनपछि छायाँकनका लागि भोजपुरको ग्रामीण क्षेत्रमा जाने निर्देशक सुब्बाले जानकारी दिए ।

निर्माण घोषणा कार्यक्रममा बोल्दै निर्देशक सुब्बाले ‘गाउँ आएको बाटो’लाई राम्रो बनाउन प्रयास रहने बताए । उनले कोरोनापछि नेपाली चलचित्रमा झन् चुनौती थपिएको बताउँदै नेपाली चलचित्रलाई विश्व बजारसम्म पुर्‍याउनुपर्ने र त्यसका लागि मौलिक, प्रतिस्पर्धी र गुणात्मक चलचित्र बनाउन आवश्यक रहेको धारणा राखे ।

मौलिक र गुणस्तरीय चलचित्र बनाउन नसके नेपाली चलचित्रको पहिचान नरहने बताए । उनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्र निर्माण नभए नेपाली बजारमै पनि नेपाली चलचित्र टिक्न सक्ने अवस्था नरहने बताए । ‘हिजोजस्तो चलचित्र बनाएर चलाउँछौं भनेर सोच्न थाल्यौं भने दर्शकले हामीलाई साथ दिनेवाला छैनन्,’ सुब्बाले भने ।

अभिनेता दयाहाङ राईले निर्देशक सुब्बासँग काम गर्न पाउनु आफ्नो लागि अवसर र चुनौती दुवै रहेको बताए । उनले करिअरको शुरुवातमा सुब्बाको निर्देशनमा बनेको टेलिचलचित्र ‘दलन’मा काम गरेको स्मरण गर्दै धेरैपछि गाउँ आएको बाटोमा काम गर्न पाउँदा एकदमै खुशी लागेको बताए । अभिनेत्री पशुपति राईले पनि निर्देशक सुब्बासँग काम गर्न पाउनु अवसर र चुनौती दुवै रहेको प्रतिक्रिया दिइन् । उनले आफूले राम्रो काम गर्ने प्रयास रहने बताइन् ।

घोषणा कार्यक्रममा निर्माता तथा निर्देशक छिरिङरितार शेर्पाले निर्माण टिमलाई शुभकामना दिएका थिए । ‘गाउँ आएको बाटो’लाई मार्किन कापरोनले छायाँकन गर्नेछन् । उनलाई निर्माण टिमले यूएसबाट ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?