+
+

महामारीका बीच एक वर्षमै साना उद्योगमा दुई खर्ब लगानी

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ मंसिर १३ गते ११:५७

१३ मंसिर, काठमाडौं । मुलुकले कोरोना महामारी भोगेको पछिल्लो डेढ वर्षमा साना तथा घरेलु उद्योग क्षेत्रमा हुने लगानीमा भने उछाल आएको छ । वार्षिक औसत ३ देखि ४ हजारको संख्यामा थपिने साना तथा घरेलु उद्योग कोभिडकालको १८ महिनामा झण्डै ३५ हजारले बढेको उद्योग विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ (गत असार)  सम्म देशभर कुल यस्ता उद्योग संख्या ५ लाख २२ हजार ७३३ पुगेको छ । एक आर्थिक वर्षमा मात्रै नेपालमा ८३ हजार ३८६ यस्ता नयाँ उद्योग विभाग स्थापना भएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा दर्ता हुन आएका लघु, घरेलु र साना उद्योगहरुको संख्या हालसम्मै धेरै हो । गत आर्थिक वर्षको मात्रै तथ्याङ्क हेर्ने हो भन झण्डै ९० हजार नयाँ उद्यमीले यस्तो क्षेत्रमा एक वर्षमा करिब दुई खर्ब लगानी गरेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा ७७ जिल्लाका ८९ हजार ९२४ नयाँ उद्यामीहरु यस्तो उद्योगमा लागेका छन् । कुल पूँजी १ खर्ब ८५ अर्व २० करोड भन्दा बढी लगानीमा उनीहरुले आफ्नो उद्यम सुरु गरेका छन् ।

झापा, काठमाडौं, कास्की र कैलााली यस्तो उद्यमी संख्या तीन हजार हाराहारी छन् भने अन्य सबैजासो जिल्लामा दुई सय भन्दा बढीको संख्यामा उद्यम सुरु भएको विभागको विवरणमा देखिन्छ ।

यस्तो उद्यममा ४३ हजार ५६६ महिला उद्यमी सहभागी छन् भने पुरुष संख्या ४६ हजार ३५८ छ । यस्ता लघु, घरेलु तथा सान उद्योगले ३ लाख ११ हजार ६९३ जानालई रोजगारी सिर्जना गर्नेछ । जसमा पुरुषको संख्या १ लाख ९३ हजार ४११ र महिलाको संख्या १ लाख १८ हजार २८२ रहेको छ ।

कोभिड कालमा थपिए साना उद्योग

कोभिडले ठूला उद्योग र अर्थतन्त्रमा असर पारिरहेका बेला उत्पादन, कृषि  तथा वन र सेवा मुलक क्षेत्रमा लगानीकर्ताहरु आर्कषित भएको तथ्याङ्कमा देखिएको छ । आर्थिक वर्षको अन्तिममा देखिएको कोरोनाको पहिलो असरका बाबजुत पनि २०७६/०७७ मा उत्पादन मुलक क्षेत्रमा ५ हजार ६७९ उद्योग दर्ता भए । कृषि र वनजन्यमा २२ हजार ९७ उद्योग दर्ता हुँदा सेवा मुलुक क्षेत्रमा १४ हजार ८७९ उद्योग भित्रिएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा कृषि र वनजन्य उद्योगमा ४८ हजार ८५२ उद्योग दर्ता भएका छन् । वन र कृषिपछि लगानीकर्ताको आकर्षण सेवामूलक क्षेत्रमा छ । सो वर्ष सेवामुलक क्षेत्रमा १८ हजार २१८ उद्योग थपिएका छन् ।

यस्तै उत्पादन मुलक क्षेत्रमा ९ हजार ६७९ र पर्यटनमा ५ हजार ६९३ उद्योग दर्ता भएका छन् । निर्माण र सूचना प्रविधिमा आधारित उद्योग दर्ता संख्या क्रमशः ८८६ र ४८ हुँदा खनिजमा जम्मा ३ उद्योग र उर्जा क्षेत्रामा ७ उद्योग विभागमा दर्ता भएका छन् ।ठूला उद्योगबाट विस्थापितहरु आफ्नै उद्यममा

कोरोनाका कारण नेपाल तयारी पोशाक संघका सहसचिव पशुपति देव पाण्डेको उद्योगबाट धेरै श्रमिकहरु विस्थापित भए । केाभिडका कारण व्यापारमा मन्दी आएर कटौतीमा परेका श्रमिकहरुको जागिर छुटेपनि उनीहरुले आफ्नो पेशा छाडेनन् ।

सिलाई र कटिङ जानेका श्रमिकहरुले जीविकोपार्जनका लागि आफ्नो घर वस्ती र टोलमै ससाना उद्यम सुरु गरेको पाएको पाण्डे बताउँछन् । ‘सानो लगानी, जानेको शीप र राम्रो आम्दानी भएका कारण यस्तो उद्यम बढ्यो,’ पाण्डेले अनलाइनखबरसँग भने ।

कोभिड महामारीका बीच नेपालमा स्वउद्यम फष्टाएको नेपाल कपडा तथा सिलाई व्यबसायी महासंघले जनाएको छ । महिला उद्यमी र परिवार नै मिलेर पनि राम्रै आम्दानी गर्न सकिने भएपछि यो पेशा र व्यवसायमा आर्कषण निकै राम्रो रहेको संघका निर्वतमान अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।

कोभिडले ठूला व्यवसाय र उद्योग धरासायी हुँदा सना सिपमुलक व्यवसायले नयाँ प्राण पाएको उनले बताए । ‘सिप र सानो पूँजी भएका मानिसहरु धेरै बढेका छन् । यस अघि देशभरका साना शहर र गाउँ-गाउँमा यस्तो माहोल बनेको छ,’ श्रेष्ठले भने । एक लाख देखि बढीमा जति पनि लगानी गरेर राम्रो आर्जन गर्न सकिने भएकाले यस्ता उद्यममा आकर्षण बढेको श्रेष्ठको अनुभव छ ।

जीवन पद्धतिका व्यवसायमा साना उद्यमी

साना र घरेलु उद्योगको विकासले महामरीकै समयमा मुलुकको कुल ग्राहस्थ उत्पादनमा झण्डै ४ प्रतिशतको पुगेको नेपाल उद्योग वाणिज्य महासंघको दावी छ । केही नयाँ काम गरौं भन्ने युवा हुटहुटी र कोरोनाका कारण प्राप्त अनुकलता यसको प्रमुख कारण भएको महासंघको उद्योग समिति सभापति भरतराज आचार्य बताउँछन् ।

लकडाउनका कारण प्रभावित भएको ट्रेड र ट्रान्जिट कारण रोकिएको मानिसको आवश्यकताको वस्तु उत्पादनमा लहरै जागेको उनले बताए ।

‘कोरोना र लकडाउने हामीलाई लाइफ लाईन र लाइफ स्टाइलमध्ये एकमा बाँच्न र उद्यम गर्न सिकायो, कोरोनाले लाइफ स्टाइल व्यवसाय ध्वस्त भयो भने लाइफलाईन अर्थात् जीवन पद्धतीको व्यवसाय र उद्यम फष्टायो,’ आचार्य थप्छन, ‘कृषि र सेवा क्षेत्रमा धेरै साना व्यवसाय यो बेला खुल्नुले यसलाई पुष्टि गर्छ । ‘

उद्योग विभागको विवरणअनुसार पनि कोभिडको महामारीका समयमा आर्थिक वर्ष २०७६/०७७ मा कृषि र वनजन्यमा २२ हजार ९७ उद्योग दर्ता हुँदा सेवा मुलुक क्षेत्रमा १४ हजार ८७९ उद्योग खुलेका छन् ।

यस्तै २०७७/०७८ मा कृषि र वनजन्य उद्योगमा ४८ हजार ८५२ उद्योग दर्ता भएका छन् भने सेवामुलक क्षेत्रमा १८ हजार २१८ उद्योग थपिएका छन् ।

टिकाउने चुनौती

कोभिडका कारण रेडिमेड कपडाको आयात प्रभावित हुँदा स्वदेशी उत्पादनले निकै राम्रो बजार पाएको नेपाल नेपाल तयारी पोशाक संघले जनाएको छ । समयअनुसारको कपडा उत्पादन गर्ने झण्डै २ सय नयाँ उद्योग यही बीचमा खुलेको संघका सहसचिव पशुपतिदेव पाण्डे बताउँछन् ।

एउटा काल खण्डमा बजारको मागअनुसार उद्योगहरु खुलेपनि यसलाई टिकाउन भने सरकारीको योगदान महत्वपूर्ण हुने उनी बताउँछन् । नेपालमा रोजगारी सृजना गर्न  र उद्यमशिलता विकास गर्न यो उपयुक्त समय भएको उद्योग, वाणिज्य महासंघको उद्योग समिति सभापति भरत आचार्य बताउँछन् ।

नेपालमा नयाँ उद्यम गर्न युवा लहर जागेको बेला उनीहरुलाई टिकाउन सरकारले नीतिगत र संस्थागत सुरक्षाका काम गर्नु पर्ने उनको भनाइ छ । यस्तै राम्रा काम सुरुआत गर्ने उद्यमीलाई सरकार र समाजले पनि हौसला दिनुपर्ने उनले सुझाए ।

‘एक सय वर्ष अघि खुलेका उद्योग कति छन् भन्दा अहिले हामीसँग लगभग छैनन् , भएका उद्योग र नयाँ खुलेका उद्यम टिकाउन सरकारले नीतिगत हस्तक्षेप गर्नु पर्छ,’ उनले थपे ‘उद्योग प्रतिस्पर्धी बनाउन लागत घट्ने वातावरण बनाइनु पर्छ ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?