+
+

वीरगञ्जमा ६ करोडको लागतमा अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना

६ करोड २२ लाख रुपैयाँमा तयार पारिएको ग्रिनहाउस हस्पिटल वेष्ट म्यानेजमेन्ट सेन्टरमा वीरगञ्जमा सन्चालित अस्पताल, क्लिनिक र ल्याबबाट निस्किने फोहोर व्यवस्थापन गरिन्छ ।

सुरेश बिडारी सुरेश बिडारी
२०७८ मंसिर २९ गते १०:२२

२९ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ६ करोडभन्दा बढी रकम खर्च गरेर अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र तयार पारेको छ । ६ करोड २२ लाख रुपैयाँमा तयार पारिएको ग्रिनहाउस हस्पिटल वेष्ट म्यानेजमेन्ट सेन्टरमा वीरगञ्जमा सन्चालित अस्पताल, क्लिनिक र ल्याबबाट निस्किने फोहोर व्यवस्थापन गरिन्छ ।

सेन्टरको उद्घाटन गर्दै वीरगञ्ज नगरपालिकाका प्रमुख विजय सरावगीले अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि सेन्टर स्थापना गरेर महानगरले ठूलो उपलब्धि हासिल गरेको दाबी गरे ।

नगवामा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्न अमृत जलुकेनी जेभी बालाजु काठमाडौंसँग ठेक्का सम्झौता भएको थियो । महानगरपालिका योजना शाखाका इन्जिनियर प्रकाश अधिकारीका अनुसार अस्पतालजन्य फोहोरलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्ने उद्देश्यले सेन्टर तयार गरिएको छ । ‘अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि हामीले प्रयोग गरेको प्रविधि भनेको ग्रिन टेक्नोलोजी हो । इन्सिलेटर प्रविधिमा धुवाँ आउँछ, त्यसले वायु प्रदूषण गर्छ । ग्रिन टेक्नोलोजीमा वायु प्रदूषण पनि हुँदैन, इनर्जी पनि कम खान्छ,’ इन्जिनियर अधिकारीले भने ।

सेन्टरमा टक्सिक (अतिसंक्रामक) फोहोरलाई डिसइन्फेक्सन गरेर ननटक्सिक बनाइन्छ । त्यसका लागि ३ सय ५० लिटर क्षमताका द्ुईवटा ‘अटो क्लेभ’मेसिन राखिएको छ । अटो क्लेभ मेसिनले संक्रामक फोहोरलाई डिसइन्फेक्सन गर्छ ।

तत्कालका लागि ल्याण्ड फिल्ड साइट हेर्ने पृथ्वी तारा एनके इन्टरनेशनलाई नै यसको व्यवस्थापन गर्ने जिम्मा दिइएको छ । पछि सार्वजनिक निजी साझेदारी अवधारणामा ठेक्का लगाउने तयारी महानगरले गरेको छ ।

फोहोरबाट मोहोर कमाउने नगर प्रमुख सरावगीको दाबी

सेन्टरको उद्घाटन गर्दै नगरप्रमुख सरावगीले वीरगञ्ज विस्तारै मेडिकल हब बन्दै गइरहेको अवस्थामा अस्पतालजन्य फोहोर व्यवस्थापन परियोजना लाभदायक हुने विश्वास व्यक्त गरे ।

कुहिने फोहोरबाट अर्गानिक मल बनाउने गरी महानगरले तयारी गरेको बताउँदै उनले फोहोरबाट मोहर कमाउनेतर्फ महानगर अघि बढेको दावी गरे । ‘अहिले फोहोरमैला व्यवस्थापनमा मात्रै वाषिर्क २० करोडभन्दा बढी खर्च गरिरहेका छौं । अब फोहोरबाट मोहोर कमाउने हो । त्यसका लागि महानगर अघि बढीसकेको छ,’ नगर प्रमुख सरावगीले भने, ‘१२ टन क्षमताका साढे ३ करोडको मेसिन ल्याउँदैछौं । त्यो मेसिनले नाला सफा गर्ने मात्रै हैन जाम भएको खण्डमा कटिङ गरेर निकाल्छ पनि ।’

अस्पतालजन्य फोहोरले सरसफाइकर्मी, नगरवासी र वातावरणमा पार्ने प्रभावलाई मध्यनजर गरेर वीरगञ्ज महानगरले अस्पताल (स्वास्थ्य संस्था)जन्य फोहोर व्यवस्थापनका लागि छुट्टै व्यवस्था गरेको हो ।

महानगरको नवौं नगरसभाबाट पारित आर्थिक वर्ष ०७८/८९ को नीति, कार्यक्रम तथा बजेटमा अस्पतालबाट निस्किने संक्रमणजन्य फोहोर व्यवस्थापनको लागि यसै वर्ष महानगरपालिकाले नगवामा रहेको ल्याण्डफिल्ड साइटमा ग्रीन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने उल्लेख थियो । सोही योजना अनुसार गत असार १५ मा ग्रीन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर निर्माण कार्य सम्पन्न भएको हो । त्यसको उदघाटन मेयर सरावगीले यही मंसिर २७ गते गरेका हुन् ।

यसरी गरिन्छ फोहोर व्यवस्थापन

वीरगञ्ज महानगरमा दर्ता भएका अस्पताल, पोलिक्लिनिक, डायग्नोष्टिक सेन्टर, एक्स रे, अल्ट्रासाउन्ड र फिजियोथेरापी गर्ने स्वास्थ्य संस्थाको संख्या १ सय ७४ वटा छ । त्यसबाहेक वीरगञ्जमा ३ सय ५० को हाराहारीमा स्वास्थ्य संस्था सञ्चालनमा रहेको अनुमान गरिएको छ । ती अस्पताल, पोलिक्लिनिकलगायत स्वास्थ्य संस्थाबाट दैनिक ४ दशमलव ७ मेटि्रक टन अस्पतालजन्य फोहोर निस्कने गरेको छ । त्यसमा १ दशमलव ७ मेट्रिक टक्सिक (अति संक्रामक)फोहोर निस्किने गरेको अध्ययनले देखाएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

स्वास्थ्य संस्थाबाट निष्कने फोहोरलाई संक्रमित र असंक्रमित गरी दुई भागमा छुट्याउने गरिन्छ । संक्रमित फोहोर अटोक्लेभ मेसिनमा राखेर निर्मलीकरण गरी किटाणुरहित भएपछि अरु फोहरमा मिसाइ ल्याण्डफिल साइटमा पठाउने दायित्व स्वास्थ्य संस्थाहरूको हुन्छ । तर वीरगञ्जका स्वास्थ्य संस्थाले त्यसो नगरिदिंदा समस्या हुने गरेको वीरगञ्जको फोहोर संकलन तथा प्रशोधनको काम गर्दै आएको पृथ्वी तारा/एनके इन्टरनेशनल जेभीका निर्देशक शिवजी गुप्ता बताउँछन् ।

‘अस्पतालजन्य फोहोर ट्याक्टरबाट छुट्टै संकलन गर्छौं । दुई टनको हाराहारीमा संकलन हुन्छ,’ उनले भने, ‘तर संक्रामक र सामान्य फोहोर भनी छुट्टाइएको हुँदैन । सबै मिसिएर आउने गरेको छ ।’ त्यसरी फोहोर पठाउँदा व्यवस्थापन गर्न निकै कठिनाइ हुने गरेको उनले बताए ।

‘रेडियसनयुक्त सामान व्यवस्थापनमा समस्या’

नगर प्रमुख सरावगीका अनुसार सबैभन्दा समस्या रेडियोलोजीमा प्रयोग गरिएको रेडियसन भएका सामानलाई के गर्ने भन्ने छ । त्यसका लागि नेपाल सरकारले कानुन नबनाइदिंदा समस्या भएको उनको भनाइ छ ।

चिकित्साजन्य फोहोर संकलनका लागि महानगरले दुईवटा मिनी ट्रक खरिद गरेको छ । वेष्ट म्यानेजमेन्ट सेन्टरमा प्रशासनिक भवन, चेन्जिङ, लकर, वासिङ रुम, अटो क्लेभ रुम, साइको टक्सिक रुम, सेगि्रगेसन कम्पाटमेन्ट, स्टोरेज ट्यांक, चार थान सवारी साधन र मोटरसाइकल पनि खरिद गरिएको छ । प्लाष्टिक दाना बनाउने मेसिनर वायो डाइजेष्टर छ । वायो डाइजेष्टर गोबरग्यास प्लान्ट जस्तै हुन्छ ।

अस्पतालबाट दैनिक रुपमा फोहोर संकलन गर्ने र त्यसको अनुगमन पनि हुने महानगरले बताएको छ । अनुगमन टोलीका लागि स्कार्पियो गाडी खरिद गरिएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?