
८ पुस, काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायपालिकाको समस्यामा चाँडै निकास दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
बिहीबार महान्यायाधिवक्ता कार्यालयको ७१ औं स्थापना दिवसको कार्यक्रममा महान्यायाधिवक्ता खातीले न्यायालयमा देखिएको अन्योलमा चाँडो भन्दा चाँडो निकास दिन आग्रह गरेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दैै नेपाल बार एशोसिएसनले दुई महिना भन्दा अघिदेखि आन्दोलन गरिरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशले तोकेको पेशी बहिस्कार गर्दै आएका थिए र मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्न थालिएको छ । न्याय क्षेत्रका विभिन्न संस्था र व्यक्तिहरुले प्रधानन्यायाधीशलाई निकास दिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवा उपस्थित कार्यक्रममा महान्यायाधिवक्ता खातीले स्वतन्त्र र सक्षम न्यायपालिका, न्यायाधीशको कामकारबाही र अदालतको विकृति विसंगतिबारे कुरा उठिरहेको भन्दै विपक्षी दल र सर्वदलीय छलफलबाट यो विषय टुंगो लगाउन आग्रह गरेका हुन् ।
उनले भने, ‘यस विषयमा सम्माननीयज्यूलाई मेरो सादर अनुरोध छ, यो सन्दर्भमा अपोजिसन पार्टीसँग बसेर कुरा गरेर सबैसँग सर्वदलीय मिटिङ गरेर भए पनि एउटा निकास दिनुपर्छ ।’
प्रतिक्रिया 4