+
+

नाबालक नै किन मुछिन्छन् बलात्कार घटनामा ?

विवश कुलुङ विवश कुलुङ
२०७८ माघ ७ गते १९:१७

७ माघ, काठमाडौं । आवेग, आक्रोस र उत्तेजनाको उमेरमै नपुगेका नाबालक जबरजस्ती करणी अपराध ठहर भएर सुधार गृहमा पुगेको देख्दा जो कोहीको मनमा प्रश्न उठ्छ- १० वर्ष नुपगेको बालकले बलात्कारजस्तो अपराध गर्न सक्छ र ?

मुलुकी फौजदारी संहिता २०७४ ले १० वर्षमुनिका बालबालिकालाई अपराधको लागि सजाययोग्य मान्दैन। ११–१४ वर्ष उमेर समूहका बालबालिकालाई बढीमा ६ महिना सुधार गृहमा राख्न अदालती आदेश हुन सक्छ । १५ वर्षभन्दा माथिका किशोरकिशोरीलाई भने वयश्कसरह कानुन लाग्ने व्यवस्था छ ।

हाल नेपालका आठवटा सुधार गृहमा १००१ बालबालिका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सूचना अधिकारी दिवस आचार्यका अनुसार भक्तपुरमा २३४, कास्कीमा २०३, बाँकेमा १६४, रुपन्देहीमा १०९, पर्सामा ९६, मोरङमा ९५, मकवानपुरमा ५८ र डोटीमा ४२ जना बालबालिका सुधार गृहमा छन् ।

मुलुकी फौजदारी संहिता २०७४ ले १८ वर्षमुनिका बालबालिकाबाट हुने फौजदारी अपराधलाई बालबिज्याइँ भनेको छ । बालबिज्याइँ प्रमाणित भएर सुधार गृहमा रहेका १००१ मध्ये दुई बालिका र ४४२ बालक गरी ४४४ जनाा बलात्कार सम्बन्धी कसुरमा सुधार गृहमा रहेका हुन् ।

बाल बलात्कारका घटना सबैभन्दा बढी प्रदेश–१ मा भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा देखिन्छ । प्रहरी तथ्यांकअनुसार आव ०७६-७७ मा देशभर एक हजार ३९३ बालिका बलात्कृत भए । यीमध्ये ३१९ घटना (२३ प्रतिशत) प्रदेश–१ मा भएको तथ्यांक छ । सो अवधिमा १० वर्षमुनिका ५, १६ वर्षमुनिका १५५ र १८ वर्षमुनिका १४५ गरी ३०५ जना बालक बलात्कार मुद्दामा मुछिएका छन् ।

आर्थिक वर्ष २०७७-०७८ मा भएका एक हजार ६६६ बलात्कारका घटनामध्ये प्रदेश–१ मा ४०४ घट्ना भएका छन् । ती घटनामा १० वर्षमुनिका चारजना, १६ वर्षमुनिका २०० बालक र दुई बालिका तथा १८ वर्षमुनिका १४४ बालक र २ बालिका गरी ३४८ बालबालिका बलात्कार मुद्दामा मुछिएका छन् ।

चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्यांकअनुसार देशभर ६५५ बाल बलात्कारका घटना हुँदा प्रदेश–१ मा १३३ घटना प्रहरीमा उजुरी परे । यीमध्ये १० वर्षमुनिका १, १६ वर्षमुनिका ६७ र १८ वर्ष मुनिका ५३ जना गरी १२१ बालक पीडकको रुपमा मुछिएका छन् ।

नेपालमा बालबालिकामाथि हुने र बालबालिका मुछिने दुवै किसिमका बलात्कारका घटना बढ्दो रहेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाउँछ । बलात्कार घटनामा आफन्त र चिनजानका मानिसहरूको संलग्नता पनि उच्च छ ।

गैरसरकारी संस्था अपराध शास्त्रीय अनुसन्धान केन्द्रका अध्यक्ष सूर्यराज दाहाल अभिभावकको लापरबाहीपूर्ण क्रियाकलाप र सामाजिक सञ्जाल (इन्टरनेट)को दुरुपयोगलाई बलात्कार अपराधमा बालकालिका मुछिनुको मुख्य कारण मान्छन्।

उनका अनुसार, १० वर्ष पार गरेपछि मात्र मानिसमा नकारात्मक मानसिकता विकासित हुने विभिन्न अध्ययनले देखाएका छन् । ‘भनेपछि, १० वर्ष पुगेपछि मात्र बलात्कार, आत्महत्याजस्ता घट्नामा जोडिन सक्ने सम्भावना हुन पर्ने हो’, उनी भन्छन्, ‘नाबालकहरु नै बलात्कारका घटनामा मुछिनुको प्रमुख कारण घर र विद्यालयको लापरबाहीपूर्ण वातावरणसँगै इन्टरनेटको दुरूप्रयोग हो ।’

मनोविज्ञ गंगा पाठक बालबालिकाले अपराध नै गर्छु भनेर त्यस्ता कार्य नगर्ने बताउँछिन् । उनका अनुसार अरुले गरेको वा इन्टरनेटमा देखेर कस्तो हुँदो रहेछ भनेर जान्न खोज्दा बालबिज्याइँ हुने गर्छ । ‘जस्तो वातावरण पाउँछ, त्यस्तै व्यवहार देखाउने बालमनोविज्ञान हुने भएकोले बालबालिका हुर्किने वातावरण बालबिज्याइँमा जिम्मेवार हुन्छ’, उनी भन्छिन्, ‘वातावरण र बालमनोविज्ञानबारे अभिभावकलाई पनि अभिमुखीकरण आवश्यक छ ।’

नेपालमा बालबिज्याइँ न्यूनीकरणका लागि आफूले विद्यालय स्तरमा यौन शिक्षा दिनुपर्छ भनेर २० वर्षदेखि आवाज उठाउँदै आएको मनोविज्ञ पाठक बताउँछिन् । तर, सरकारी तवरबाट नीतिगत प्रयाससमेत नभएको उनको भनाइ छ ।

अर्का मनोविज्ञ गोपाल दाहाल नेपालमा बालबालिका बालबिज्याइँमा फस्नुको प्रमुख कारण ‘बन्देज’लाई मान्छन् । ‘नेपालमा यौन शिक्षाको कुरा गर्नु हुँदैन, यहाँसम्म कि महिनावारीबारे समेत जानकारी लिन, दिनु हुदैन’, उनी भन्छन्, ‘सामाजिक संस्कार र लाजको विषय बनाएर बन्देज गरिने प्रवृतिले गर्दा उचित ज्ञानको अभावमा जान्न खोज्ने उमेरमा फस्ने गर्छन् ।’

उनका अनुसार देखासिकी गर्ने जिज्ञासु उमेरमा अभिभावकले विचार नपुर्‍याउँदा बालबालिकाहरू थाहा नपाउँदै कुलत वा अपराधिक कार्यमा फसिसकेका हुन्छन् । ‘यौनलाई बर्जित विषयमा नखुम्च्याई जिज्ञासु बालबालिकालाई उमेर अनुसार परिवर्तन हुने शरीरका विशेषता र यसको उपयोगिताबारे राम्ररी बुझाउनसके यस्ता घटना न्यूनीकरणमा टेवा पुग्थ्यो’, दाहाल भन्छन् ।

अर्का मनोविज्ञ करुणा कुँवर हुर्कदो बालबालिकाले जे देख्छ त्यही व्यवहार आफ्नै नजिककालाई गर्ने भएकोले उचित दिशानिर्देश नहुँदा कुनै समय अन्जानमै पीडक बन्न पुग्ने बताउँछिन् । उनी भन्छिन्, ‘अपराधको आँकडा हेरेर डराउने तर, त्यसको भित्रि कारणको खोजी गरी त्यसअनुसार शिक्षा दिने व्यवस्था नहुनु दुखद छ ।’

उनका अनुसार बालबालिकाले जान्न खोज्ने तर त्यसको नतिजा थाहा नहुने भएकोले जान्न खोजेको बेला उचित ‘गाइड’ गर्न सक्नुपर्छ । साथै, घरभित्र यौनजन्य क्रियाकलाप अत्यन्तै सुरक्षित हुनुपर्छ ।

नेपाल प्रहरीले बालबिज्याइँसँगै अपराधिक कार्य न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । प्रहरी प्रधान कार्यालयले विद्यालय, क्याम्पसलगायत शैक्षिक वातावरणमा हुन सक्ने सम्भावित अभद्र व्यवहार र हैरानीका घटना रोकथामका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत सबै स्थानीय तहमा २०७६ को सुरुदेखि ‘एन्टी बुलिङ, एन्टी र्‍यागिङ’ कार्यक्रम चलाइरहेको छ ।

२०७६ देखि नै अनलाइन अपराध न्यूनीकरण तथा रोकथामका लागि साईबर ब्यूरोको नेतृत्वमा ७ वटै प्रदेशमा भर्चुअल माध्यमबाट महिला तथा बालबालिका साइबर अपराधसम्बन्धी अभिमुखीकरण सञ्चालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?