+
+
रुस–युक्रेन युद्ध असर :

इन्धनको मूल्य फेरि बढ्ने संकेत, १५ दिनमा निगमलाई थप ३ अर्ब घाटा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १३:१९

१७ फागुन, काठमाडौं । रुस–युक्रेन युद्धका कारण इन्धनको मूल्य बढ्दा त्यसको प्रभाव आफूहरुले पनि भोग्नु परेको नेपाल आयल निगमले जनाएको छ ।

बढेको कच्चा तेलको मूल्यका कारण मंगलबार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट ग्याँस, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेर प्राप्त भएको निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए ।

डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर चार/चार रुपैयाँ र खाना पाकाउने ग्याँसमा प्रति सिलिण्डर एक सय रुपैयाँले बढेर नयाँ मूल्य आएको उनले बताए ।

‘बढेको मूल्यका कारण निगम १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा जाने देखियो, हामी मूल्य बढाउनु पर्ने दबाबमा पर्‍यौं,’ भट्टराईले भने, ‘नयाँ मूल्य नबढाए र आईओसीलाई इन्धनको पैसा तिर्न निगम एक्लैले नसक्ने अवस्था बन्यो ।’

१५ दिन अगाडिको मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा निगमलाई प्रतिलिटर क्रमशः १६ रुपैयाँ ५९ पैसा र १२ रुपैयाँ ५८ पैसा घाटा रहेकोमा अब त्यस्तो घाटा बढेर क्रमशः लिटरमा २० रुपैयाँ ५२ पैसा र १६ रुपैयाँ ८ पैसा पुगेको भट्टराईको भनाइ छ ।

यस्तै खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर घाटा ५६५ रुपैयाँबाट बढेर ६६५ रुपैयाँ पुगेको पनि उनले दाबी गरे ।

मंगलबार प्राप्त नयाँ मूल्यपछि निगमको नियमित बिक्रीबाट आईसीको रकम भुक्तानी हुन नसक्ने अवस्था आएको निगमको भनाइ छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘मार्च महिनामा निगमले दुई वटा किस्ता आईओसीलाई भुक्तानी गर्नुपर्छ । सो किस्ता तिर्न हामीसँग मूल्य नबढाए वा सरकारले पैसा नदिए सकिन्न ।’ आगामी ८ र २३ तारिखमा उक्त किस्ता तिर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?