+
+

गण्डकी प्रदेशका कानुनमन्त्रीले गरे पर्खाल शिलान्यास !

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १८:०५
पर्खाल शिलान्यास गर्दै मन्त्री विन्दुकुमार थापा ।

२३ फागुन, पोखरा । मन्त्रीहरु शिलान्यास, उद्घाटनका कति भोका छन् त्यसको उदाहरण गण्डकीमा हेरे पुग्छ । सुन्दा अचम्म लाग्न सक्छ । तर, गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापाले सोमबार पोखरामा पर्खाल शिलान्यास गरेका छन् ।

मन्त्री थापाले पोखरा महानगरपालिका–१८, जामुनबोटमा बन्न लागेको पोखरा सूचना, प्रविधि (आईटी) पार्कको पर्खालको शिलान्यास गरेका हुन् । उक्त पर्खाल आगामी जेठ १५ गतेसम्म सक्ने गरी शेपा÷आशिष एन्ड अनिष जेभीले बनाउन लागेको हो ।

यो पर्खाल निर्माणको लागत ९४ लाख रुपैयाँ रहेको मन्त्रालयका सूचना अधिकारी खुबीराम पौडेलले जानकारी दिए । ‘अहिले पार्कको बाउन्ड्री पर्खालको मात्रै शिलान्यास भएको हो,’ उनले भने ।

पर्खालको शिलान्यास भए पनि ९६ रोपनी क्षेत्रफलमा बन्ने आईटी पार्कको भने अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छैन । सूचना अधिकारी पौडेलले डीपीआरको तयारी भइरहेको बताए । पार्कको पर्खाल बनाउन प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

पर्खाल शिलान्यास गरेपछि मन्त्री थापाले आईटी पार्क गण्डकी प्रदेशको गौरवको आयोजना भन्दै त्यसलाई सफल बनाउन पहिलो चरणको काम अघि बढेको दाबी गरे ।

‘प्रोजेक्टलाई सफल बनाउन पहिलो चरणमा कम्पाउन्ड वालले घेरेर जग्गालाई सुरक्षित गराउँछौं,’ उनले भने । दोस्रो चरणका लागि पार्कको डीपीआर प्रक्रिया अघि बढिसकेको उनको भनाइ थियो ।

पार्कका लागि तत्कालिन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ मा ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो । असोज २०७६ मा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संघीय सरकारसँग पार्कका लागि जग्गा माग गरेको थियो ।

पुस २०७७ मा संघीय सरकारले प्रदेश सरकारलाई भोगाधिकारसहित ९६ रोपनी १३ आना २ दाम जग्गा दिने निर्णय गरेको थियो ।

मन्त्री थापाले पर्खाल शिलान्यास भएसँगै पार्कको कामसमेत चाँडै सुरु हुने बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत राखेर रकम विनियोजन गरिने योजना सुनाए ।

‘डीपीआरको प्रक्रिया पनि अगाडि बढिसकेको छ । डीपीआरअनुसार संरचना बढाउन आगामी बजेटबाट रकम विनियोजन गरेर अगाडि बढ्ने छौं,’ उनले भने, ‘अबको बजेटमा बहुवर्षीय बनाउने र नयाँ बजेटमा राखिने छ ।’

गण्डकी प्रदेशलाई डिजिटाइजेन गर्ने र प्रदेशलाई अन्तर्राष्ट्रियस्तरसँग जोड्ने गरी आईटी पार्कको परिकल्पना गरिएको मन्त्रालयका सचिव धर्मराज कुइँकेल बताउँछन् ।

‘पार्क भन्नेवित्तिकै हल्लिने टहलिने भन्न्ने सोचाइ छ । सूचना प्रविधि पार्क त्यसो हुँदैन । सूचना प्रविधिका ठूलाठूला कार्यक्रम गर्न, गण्डकी विश्वविद्यालयको आईटी गढ यहाँ हुन्छ भन्ने हिसाबले बनाउन लागिएको हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?