+
+

प्रधानमन्त्रीलाई ब्रिफिङ : अर्थतन्त्र दबाबमा छ, आर्थिक वृद्धिको लक्ष्य भेटिन्न

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते २२:३४

२३ फागुन, काठमाडौं । अर्थतन्त्रका सूचकमा देखिएको शिथिलता कारण अर्थमन्त्री जनार्दन शर्मामाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चासो देखाएका छन् । उनले सोमबार बिहान बालुवाटारमा अर्थतन्त्रीलाई समेत राखेर झण्डै २ घण्टा छलफल गरेका छन् ।

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव मधु मरासिनी, वाणिज्य सचिव गणेशप्रसाद पाण्डेलाई पनि बोलाइएको थियो ।

बैठकको सुरुमै अर्थसचिव मरासिनीले अर्थतन्त्रको अवस्था र अर्थमन्त्रालयले गरेका प्रयासहरुबारे ‘ब्रिफिङ’ गरेका थिए । उनले बाह्य क्षेत्रसँगको सन्तुलनको अवस्थाबारे बताउँदै सरकारले लिएको आर्थिक क्षेत्रको वृद्धिदरको लक्ष्यको प्राप्तिको सम्भावना न्युन रहेको बताएका थिए । सचिव मरासिनीले बेमौसमी वषर्ातका बाढीका कारण कृषि बालीमा भएको क्षतिले लक्षित दरमा आर्थिक वृद्धि हासिल गर्न कठीन हुने तर्क पेश गरेका थिए । चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।

अर्थमन्त्री शर्माले साउनदेखि प्रत्येक महिना निरन्तर भुक्तानी सन्तुलनमा समस्या देखिंदै आए पनि सरकारको विभिन्न नीतिले भुक्तानी सन्तुलनमा ठूलो असर पर्न नदिएको बताए । ‘विकास खर्च सोचे अनुसार हुन नसक्दा तरलतामा केही समस्या भएको हो,’ अर्थ मन्त्रीको भनाइबारे भेटमा सहभागी एक अधिकारीले भने,’ विकासे मन्त्रालय र कर्मचारीबीच समन्वय गरी खर्च बढाउनुको विकल्प छैन ।’

विकास खर्च छिटो हुने गरी ऐन, नियम संशोधन हुनु जरुरी रहेको भन्दै मन्त्री शर्माले विदेशी लगानी आकषिर्त गर्ने घोषित नीति नै लागू गर्नुपर्ने बताए । अर्थमन्त्री शर्माले प्रधानमन्त्रीसँग हाइपर फण्ड, डिजिटल नेटवर्किङ र क्रिप्टोकरेन्सी रोक्न गृह, राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभागको सहयोग चाहिएको बताए । ‘अहिलेको समस्या समाधान गर्न अनवरत लागेका छौं, हाम्रो प्रयासले सकारात्मक नतिजा पनि दिएको छ,’ उनले भनेका थिए ।

राष्ट्र बैंकका गर्भनर अधिकारीले बर्तमान तरलताको अवस्था, अहिलेको अवस्था आत्तिने खालको नभएको बताएका थिए । ‘धेरै वर्षदेखि मुलुकले आर्थिक क्षेत्रमा भोगेको प्रमख समस्या भनेकै तरलताको हो,’ उनले भने,’कर्जाको माग र प्रवाह धेरै भएका कारण तरलता समस्या समाधान गर्न सकिएको छैन ।’ कर्जाको माग नै सोचेभन्दा बढी हुँदा समाधान गर्न नसकिरहेको अधिकारीले बताए ।

वाणिज्य सचिव पाण्डेयले अन्तर्राष्ट्रिय व्यापार र व्यापार सन्तुलनका बारेमा बताउँदै प्रमख आयात र निर्यात भएका वस्तुको विवरण पेश गरेका थिए । आयातमा कस्न चाहेमा सुनचाँदी, हिरा, जुत्ताचप्पल, सौन्दर्य सामग्रीमा थप कडाइ गर्न सकिने उनको भनाइ थियो ।

सरकारले सुनको कोटा दैनिक १० तोलामा झारिसकेको भन्दै उनले चाँदी आयातमा नगद मार्जिन र अधिकतम सटही सुविधा तोकिएको बताए ।

योजना आयोग उपाध्यक्ष पौडेलले अर्थतन्त्रमा ‘स्ट्रेस’ (दबाब) देखिएको स्वीकारे । केही सूचक सन्तोषजनक नभएपनि धेरै सूचक आशलाग्दा रहेको भन्दै उनले आर्थिक गतिविधि यति धेरै बढ्दा पनि मूल्यवृद्धिमा खासै चाप नपर्नु राम्रो पक्ष भएको बताए ।

बैंकिङ क्षेत्रमा राम्रो लगानी विस्तार भइरहेको भन्दै पौडेलले बाह्य क्षेत्र र भुक्तानी सन्तुलनमा समस्या देखिए पनि आत्तिनुपर्ने खालको अवस्था नरहेको बताएका थिए । ‘अहिलेको अवस्थालाई सजिलै व्यवस्थापन गरेर सुधार गर्न सकिन्छ,’ उनले भनेका छन् ।

२-३ मिनेट मात्रै सम्बोधन गरी गरेका प्रधानन्त्री देउबाले अर्थतन्त्र सुधार्न छिटो र राम्ररी काम गर्न निर्देशन दिए । उनले पुँजीगत खर्च गर्ने मन्त्रालयसँग पर्सी (बुधबार) छलफल गर्न लागेको जानकारी दिएका थिए । उनले विदेशी लगानी बढाउने नीति ल्याउनुपर्ने अर्थमन्त्रीको प्रस्तावमा सहमति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?