
४ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकहरुका लागि नेपाल खुला नै रहेको बताएको छ । कोभिड–१९ महामारी कम भएको भन्दै पर्यटनबोर्डले पर्यटकहरुका लागि नेपाल खुला नै रहेको जानकारी दिएको हो ।
भारतको मुम्बईमा आयोजना गरिएको ‘आउट बाउन्ड ट्राभल मार्ट’मा सहभागिता जनाउँदै बोर्डले यस्तो जानकारी गराएको हो ।
कार्यक्रममा नेपालबाट बोर्ड र नेपालका विभिन्न १७ वटा पर्यटनसँग सम्बन्धित निजी कम्पनीका प्रतिनिधि सहभागी थिए । मार्टमा नेपालसहित २० देशबाट ६ सयभन्दाबढी प्रर्दशक एवं भारतको २९ भन्दा बढी राज्य र सात विभिन्न क्षेत्रका पर्यटन व्यवसायीले भाग लिएका थिए ।
कार्यक्रममा माल्दिप्सका पर्यटनमन्त्री अबदुल्लाह मौसुम, तमिलनाडुका पर्यटनमन्त्री डा. एम माथिभेन्थन, माल्दिभ्सको पर्यटन बजार तथा जनसम्पर्क कर्पोरेशनका प्रबन्ध निर्देशक तोयिब मोहम्मदलगायतले नेपाली प्याभिलियनको निरीक्षण गरेको बोर्डले जनाएको छ । सो अवसरमा भ्रमणकर्ताले कोभिड–१९ पछिको नेपालको पर्यटनको अवस्था र गतिविधिबारे जिज्ञासा राखेका थिए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले कोरोना महामारी कम हुँदै गएका कारण पछिल्लो समय नेपाल करिब पूर्ण रुपमा खुला भइसकेका जानकारी सहभागीहरुलाई गराएका थिए । निर्देशक पन्तले नेपाल–भारत एवं अन्य देशहरुबाट समेत नियमित उडानहरू सुरु भइसकेको जानकारी गराएका थिए । उनले नेपाल वेडिङ डेस्टिनेसन, फिल्म छायांकन तथा अन्य माइस पर्यटनका लागि उत्कृष्ट गन्त्तव्य रहेको बताएका थिए ।
३० फागुनदेखि २ चैतसम्म आयोजना भएको कार्यक्रममा पर्यटन बोर्डलाई डिजाइन एन्ड डेकोरेसन अवार्ड पनि प्रदान गरिएको थियो ।
प्रतिक्रिया 4